नेपालको बलिङ बलियो क्यानडाको ब्याटिङ

|
प्रतियोगितामा धेरै विकेक लिने नेपालका सन्दीप लामिछाने र धेरै रन हान्ने क्यानाडाका कप्तान नीतिश कुमार।

काठमाडौं : आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा बुधबार नेपाल र क्यानडाबीच खेल हुँदैछ।

नामिबियाको विन्डहोकमा रहेको वान्डरर्स क्रिकेट ग्राउन्डमा प्रवेश गर्दा विश्वकपको छनोट चरणमा प्रवेश पाउन नेपाललाई क्यानडालाई पराजित गर्नैपर्ने दबाब हुनेछ। क्यानडाको भने पराजित भएपनि विश्वकप छनोटमा प्रवेश पाउने सम्भावना रहिरहनेछ

खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ।

आयोजक नामिबियाले मंगलबार भएको खेलमा केन्यालाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेर नेट रनरेटको आधारमा अंक तालिकाको दोस्रो नम्बरमा उक्लिएको छ भने नेपाल तेस्रो स्थानमा छ। नेपालले जितेका ३ खेल झिनो अन्तरका भएकोले रनरेटमा पछाडि छ।

अन्तिम चरणको खेल बाँकी हुँदा क्यानडा, नामिबिया र नेपालको समान ६ अंक छ। तर, रनरेटमा पछि रहेकोले नेपाल तेस्रो स्थानमा झरेको छ।

आज हुने खेलले विश्वकप छनोटमा पुग्ने दुई टोलीको टुंगो लाग्नेछ। नेपालले बुधबार शीर्ष स्थानको क्यानडासँग खेल्दैछ भने नामिबियाले चौथो स्थानको युएइसँग खेल्नेछ। अब नेपालले शीर्ष दुईमा स्थान बनाउँदै वान डे वर्ल्डकप क्वालिफायरमा स्थान बनाउन क्यानडालाई हराउनै पर्नेछ। हराउन असफल भएमा नेपालको यात्रा डिभिजन २ मै यथावत रहने सम्भावना बढी हुन्छ।

डिभिजन टू को शीर्ष दुई स्थानमा रहने टोली वर्ल्डकप क्वालिफायरमा छनोट हुनेछन् भने तेस्रो र चौथो स्थानमा रहने टोली डिभिजन २ मै यथावत रहनेछन्। अहिलेसम्म एक खेल पनि जित्न नसकेको केन्या डिभिजन २ बाट ३ मा घटुवा भइसकेको छ।

नेपालले जित्नका लागि ब्याटिङमा सुधार गर्नुपर्ने देखिन्छ। नेपालको ब्याटिङ यसअघिका खेलमा खासै चल्न सकेको छैन। बलिङमा भने नेपालका सन्दीप लामिछाने प्रतियोगिताकै सबैभन्दा बढी विकेट लिने बलर हुन्। उनले प्रतियोगिताभर १४ विकेट लिएका छन्। त्यस्तै, सोमपाल कामीले बलिङ र ब्याटिङ दुबैमा राम्रो प्रदर्शन गरेका छन्। उनले प्रतियोगिताभर ९ विकेट लिएका छन्।

क्यानडाको ब्याटिङ पक्ष बलियो रहेको छ। प्रतियोगितामा सबैभन्दा बढी रन प्रहार गर्ने शीर्ष २ मा क्यानडाका ब्याट्सम्यान छन्। क्यानडाका कप्तान नीतिश कुमार सबैभन्दा बढी रन प्रहार गर्ने सूचीको दोस्रो नम्बरमा छन् भने रुभिन्दु गुणसेकेरा पहिलो नम्बरमा छन्।

हेड टू हेड मा नेपाल र क्यानडा बराबर छन्। सन् २०१५ मा विश्व क्रिकेट लिग डिभिजन २ मा भएको पछिल्लो भेटमा नेपालले क्यानडालाई ३ विकेटले पराजित गरेको थियो। सन् २०१४ मा भएको  विश्वकप क्वालिफायरमा भने नेपाल १३ रनले पराजित भएको थियो।

जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा आयोजक नामिबियालाई पराजित गरेको थियो। दोस्रो खेलमा ओमानसँग हार व्यहोरेको नेपालले तेस्रो खेलमा सोमबार युएईलाई हराएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.