|

नेपाल नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत बुधबार अन्तिम चरणको निर्णायक खेल खेल्दै छ। अन्तिम चरणको खेल अगाडिसम्म पनि कुन टिम डिभिजन २ मा रहने र कुन टिमले विश्वकप छनोटमा स्थान बनाउने भन्ने तय नहुँदा प्रतियोगिता रोेमाञ्चक मोडमा पुगेको छ।

प्रतियोगितामा नेपालसँगै क्यानडा, युएई र नामिबियाको विश्वकप छनोटमा सम्भावना कायमै छ भने ओमान र केन्या डिभिजन ३ मा घटुवा भइसकेका छन्। प्रतियोगितामा नेपाल र क्यानडा भिड्दा अर्को खेलमा नामिबियाले युएईको सामना गर्नेछ। युएईको ४ अंक भए पनि जितेको खण्डमा उसले रनरेटमा नेपाललाई पछि पार्ने पक्का छ, जसका कारण नेपाल हारेमा र युएईले जितेमा युएई शीर्ष २ मा रहनेछ। नामिबियाले जितेमा ८ अंक बनाउँदै शीर्ष २ मा पर्नेछ।

नेपालको खराब रनरेटका कारण क्यानडालाई जिते मात्र विश्वकप छनोटमा स्थान बनाउने भएकाले नेपालका लागि प्रतियोगितामा जीतको विकल्प छैन। पहिलो २ खेलको नतिजाले शीर्ष २ टिमको टुंगो लाग्नेछ। शीर्ष २ टिम एक दिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि छनोट हुनेछन्। प्रतियोगितामा ३ वटै टिमले समान ३–३ खेलमा जीत हात पार्दा १–१ खेलमा हार व्यहोरेका थिए। यसका कारण ३ टिमको ६ अंक रहेको छ भने २ खेलमा जितेर २ खेलमा पराजित युएईको ४ अंक छ।

नेपाल र क्यानडाबीच आज वन्डरर्स मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १ बजेदेखि खेल सुरु हुनेछ, जहाँ नेपालको अपेक्षा टस जितेर फिल्डिङ गर्ने हुनेछ। किनकि नेपालको ब्याटिङ चल्न नसक्दा बलरहरूको भर हुने भएकाले पहिले बलिङको मनस्थितीमा नेपाल रहेको छ।

बलिङतर्फ नेपालका लेग स्पिनर सन्दीप लामिछानेले प्रतियोगिताकै सबैभन्दा बढी विकेट लिँदै विपक्षीमाथि दबाब बढाएकाले पनि नेपाल क्यानडालाई दबाबमा राख्ने ध्याउन्नमा हुनेछ। सन्दीप १४ विकेटका साथ शीर्षमा रहँदा अर्का बलर सोमपाल कामी ९ विकेट लिँदै चौथो नम्बरमा छन्। यसले गर्दा नेपालको बलिङ विपक्षीहरूका लागि टाउको दुखाइ बन्दै आएको छ।

ब्याटिङमा क्यानडा अब्बल

ब्याटिङ लाइनअपमा भने क्यानडाले निकै राम्रो प्रदर्शन गर्दै आएको छ। क्यानडाले हरेक टिमविरुद्ध उच्च स्कोर बनाउँदै आएको छ। बढी रन प्रहार गर्ने ब्याट्सम्यानको शीर्ष २ खेलाडीमा क्यानडाकै खेलाडी भएकाले नेपाली बलरहरूलाई पनि सहज भने हुनेछैन। नेपाल भने कप्तान पारस खड्काको भरमा हुनेछ। अलराउन्डर प्रदर्शन गर्दै आएका खड्काले ४ खेलमा १ सय २९ रन बनाएका छन्। जुन निकै दयनिय स्कोर हो। पारस बाहेक नेपालका अन्य ब्याट्सम्यानले ४ खेलमा सय रन कटाउन सकेका छैनन्।

सन् २०१५ पछि क्यानडा र नेपालबीच प्रतियोगिता भएको छैन। त्यसअघि भएका २ खेलमा दुवै टिमले १-१ जीत हात पारेका छन्। तीन वर्षअघि नामिबियामै भएको डिभिजन २ मा नेपालले क्यानडामाथि ७ विकेटको जीत हात पारेको थियो। त्यसअघि सन् २०१४ को विश्वकप छनोटमा नेपाल १२ रनले पराजित भएको थियो।

समग्रमा नेपालका लागि क्यानडाविरुद्धको खेल प्रतियोगिताकै कठिन खेलका रूपमा रहनेछ।तुलनात्मक रूपमा बलियो क्यानडाले सुरुवातबाटै शीर्ष स्थान कब्जा गरेकाले नेपालविरुद्ध सोही आत्मविश्वास देखाउँदै विश्वकप छनोटमा स्थान बनाउने ध्याउन्नमा रहँदा नेपाल भने हरेक खेलमा भाग्यमानी रहँदै आएकाले झिनै अन्तरको जीत भए पनि नेपालको अपेक्षा रहनेछ। नेपालले हरेक टिमविरुद्ध संघर्षपूर्ण जीत निकाल्दै भाग्यमानी रहँदै आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.