|

 

माफ गर प्रिया!

‘भ्यालेन्टाइन डे’को अवसरमा

तिम्रो नाममा प्रेम कविता लेख्न सकिनँ।

 

जूनको मुहारमा नदेखिएको

फूलको निधारमा पनि नलेखिएको

तिम्रो सुन्दरता लेख्नु थियो मैले

जब शब्दहरूको अभाव भयो मसँग

बोलएथे मैले शब्दकोशको क्षितिजबाट

अब्बल शब्दहरूको एक हुल।

 

तर अफसोस!

नैतिकता विरुद्ध मुद्दामा अदालतबाट

राष्ट्रसेवक शर्माजीले सफाई पाएपछि

निरन्तर जाम भयो मूल सडक

स्वागतमा लामबद्धहरूको जोसिलो भीडले

र, मकहाँ आइपुग्न सकेनन् यतिबेला

मैले बोलाएका सुनौला शब्दहरू।


प्रिया!
सगरमाथामा उभिएर पनि

तिम्रो बौद्धिकता हेर्न जो कसैले

टाउको उकालै फर्काउनुपर्छ

यसलाई शब्दमा उतार्न मैले

अविरल आफैँ मथिनु छ एकान्तमा।

 

तर यतिबेला

चुनावी परिणामपछि शहरमा

कर्कश ध्वनिसहित निस्किएको

गुण्डा-नाइकेको विजय जुलुस

अध्ययन कोठाको झ्यालबाट

छिरिरहेछ एउटा आत‌ंक बनेर

र, टुक्र्याइरहेछ मेरो एकाग्रता।

 

प्रिया!

तिम्रो शालीनताको समुद्र

यति विशाल छ कि

त्यसलाई व्याख्या गर्ने सामर्थ्य पाउन पनि

गहिरो ध्यानको जरूरी पर्छ ।

 

तर यतिबेला

एअरपोर्टमा झरिरहेछन् दिनहुँ

कफिनमा रहरलाग्दा सपनाहरू

जहाँबाट आइरहेछ दुर्गन्ध

र, बिचलित बनाइरहेछ मलाई।

 

सिमलको भुवामा चढेर उड्ने तिम्रो मन

पूरै रगत मलाई दान दिएर पनि

अविरल ढुक्ढुकिइरहने त्यो मुटु

पत्थरले बनेको तिम्रो विश्वास

चाँदनी रात जन्माउने त्यो शीतलता

र, केही मीठा अपवादहरू

प्रिय मान्छेका यस्तैयस्तै

सबै प्रिय कुराहरू

एकएक गरी लेख्नु थियो डायरीमा

र, प्रकाशित गर्नु थियो दुनियाँसामु।

 

तर यतिबेला

माटोको आँसु बाछिटा बनेर

निथ्रुक्कै भिजाएका छन् पानाहरू

र, लेख्नै नसक्ने गरी

काँपिरहेछन् कठ्याङ्ग्रिएर मेरा औँलाहरू

होइन भने हेर त

माथि डाँडामा चलिरहेछ सिरेटो

आमाको दु:ख सुस्केरा बनेर

र, हल्लाइरहेछ पीपलका पातहरू।

 

त्यसैले माफ गर प्रिया!

‘भ्यालेन्टाइन डे’को अवसरमा

तिम्रो नाममा प्रेम कविता लेख्न सकिनँ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.