|

जनकपुरधाम : प्रदेश २ को मुख्यमन्त्रीमा मो. लालबाबु राउत गद्दी नियुक्त भएका छन्। 

संघीय समाजवादी फोरम नेपालको प्रदेशसभा संसदीय दलका नेतासमेत रहेका राउतलाई प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले नियुक्तिपत्र दिएर नियुक्त भएको घोषणा गरेका हुन्। प्रदेश प्रमुखको कार्यालयमा बुधबार आयोजित समारोहमा नियुक्तिपत्र वाचन गरेर सुनाउँदै कायस्थले मुख्यमन्त्रीको रूपमा लालबाबु राउतलाई बधाई तथा कार्यकालको शुभकामना दिएका थिए।

प्रदेश २ मा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले राउतलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख समक्ष मंगलबार दाबी पेस गरेका थिए।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाउन अनुरोधसहित प्रदेश प्रमुख समक्ष पत्र बुझाइएकामा बुधबार नियुक्त गरिएको हो।

प्रदेश २ मा कुल १०७ प्रदेश सदस्यमध्ये संघीय समाजवादी फोरम नेपाल २९, राष्ट्रिय जनता पार्टी नेपाल २५ सदस्य गरी ५४ जनाको बहुमतसहितको हस्ताक्षर बुझाएका थिए। सरकार गठनका लागि १०७ मध्ये ५४ सिट आवश्यक रहेकोमा फोरम र राजपाको ५४ जना प्रदेशसभा सदस्य बहुमत रहेका छन्।

गठबन्धन बनाई चुनाव लडेका दुवै दल सरकार गठनका लागि यसअघि नै सहमति गरिसकेको थियो।

यस्तो छ लालबाबुको पृष्ठभूमि
प्रदेश २ को मुख्यमन्त्रीमा नियुक्त भएका मो. लालबाबु राउतको पूरा नाम मोहम्मद लालबाबु राउत गद्दी हो। पर्सा जिल्लाको क्षेत्र नम्बर १ ‘ख’बाट प्रदेशसभामा निर्वाचित राउतको जन्म वि. सं. २०२३ असार १५ गते भएको हो। 

राउत पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका– ४ का स्थायी निवासी हुन्। उनी हाल वीरगन्ज महानगरपालिका– १३ तेजारथ टोलमा बस्दै आएका छन्।

राउतले अंग्रेजीमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन्। राउतले पढाइपछि अस्थायी रूपमा वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा १० वर्ष अध्यापनसमेत गरेका छन्। उनले तत्कालीन वीरगन्ज नगरपालिकामा १५ वर्ष काम गरेका र २०७० सालको संविधानसभा निर्वाचनमा चुनाव लड्न जागिरबाट राजीनामा दिएका थिए।

वीरगन्जको एक सामान्य किसान परिवारमा जन्मिएका राउत विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय रहेका छन्। प्रारम्भमा नेपाल विद्यार्थी संघ हुँदै कांग्रेसमा प्रवेश गरेका मो. राउत मधेस आन्दोलन अगावै उपेन्द्र यादव नेतृत्वको फोरममा २०५८ सालदेखि सक्रिय रहेका छन्।

२०५७ सालमा गैरसरकारी संस्थाका रूपमा फोरम स्थापना भएदेखि अध्यक्ष उपेन्द्र यादवलाई सक्रिय रूपमा सघाएका राउतले मधेस आन्दोलनमा सक्रिय सहभागिता जनाएका थिए। उनले २०७० सालदेखि फोरममा उपाध्यक्षको पद सम्हाल्दै आएका थिए। 

दोस्रो संविधानसभामा समानुपातिक सभासद बनेका उनी मुख्यमन्त्री बन्ने योजनाका साथ प्रदेशसभामा झरेका थिए। पर्सा १ ‘ख’मा ३ हजार बढी मतले प्रतिद्वन्द्वीलाई पराजित गर्दै उनी विजयी भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.