ऋण अनुदान पाए उद्योगले दैनिक १८ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने

|

उदयपुर : उदयपुर सिमेन्ट उद्योगले नेपाल सरकारसँग उत्पादन क्षमता दोब्बर बनाउन २ अर्ब १२ करोड ऋण माग गरेको छ। आगामी चार वर्षभित्र सरकारको ऋण तिर्ने कार्ययोजनासहित क्षमता दोब्बर बनाउन ऋण मागेको हो। उद्योगका लेखा शाखा प्रमुख कमल पौडेलले औद्योगिक क्षेत्रका विभिन्न विज्ञको टोली बोलाएर परामर्श गरी ऋण माग गरेको बताए।

‘उद्योगको उत्पादन क्षमता दोब्बर बनाउन नेपाल सकारलाई ऋणको लागि प्रपोजल पठाएका छौँ,’ पौडेलले भने, ‘यो सरकारी उद्योगले पछिल्लो समयमा आशा जगाएको छ, क्षमता दोब्बर बढाउन आवश्यक छ।’ नेपाल सरकारले २ अर्ब १२ करोड ऋण अनुदान दिए उद्योगको दैनिक उत्पादन क्षमता १ हजार ८०० को हुने उनले बताए। हाल उद्योगले दैनिक ७ सय ७० मेट्रिक टनसम्म उत्पादन गर्दै आएको छ।

उद्योगले कति बाँकी छ तिर्न?

पौडेलका अनुसार उद्योग स्थापना गर्दा नेपाल सरकारलाई उदयपुर सिमेन्टले ६ अर्ब ५५ करोड ६२ लाख तिर्नुपर्ने थियो। ‘उद्योगले सरकारलाई तिर्ने पैसा अब १ अर्ब ७२ करोड मात्र छ,’ उनले भने, ‘४ अर्व ८३ करोड ६२ लाख तिरिसकेको छ।’ उद्योग स्थापना भएको २५ वर्षपछि मात्र तिरिसकेको उद्योग प्रशासनको भनाइ छ। उद्योगका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले २ अर्ब १२ करोड रुपैयाँको लागतमा उत्पादन क्षमता दोब्बर बनाउन लागेको बताए।

यो योजनालाई कार्यान्वयन गर्न सरकारले आर्थिक अनुदान वा ऋण उपलब्ध गराएमा उद्योगमा मौजुदा रहेको प्राविधिक जनशक्ति र यही प्लान्टलाई नै उपयोग गरेर चार महिनाको अवधिमा दैनिक ८ सय मेट्रिक टनबाट बढाएर १८ सय मेट्रिक टनमा बनाउन सकिने पौडेल बताउँछन्। उनले भने, ‘उद्योगले सरकारलाई तिर्नुपर्ने पैसा अब लगभग सकिएको छ,’ उनले भने, ‘उदयपुर सिमेन्ट उद्योगबाट उत्पादन हुने गैँडा छाप सिमेन्टको बजार माग बढिरहेको छ।’

यस्तो छ उद्योगको इतिहास

०४४ मा स्थापना भएको उद्योगले ०४९ साल मंसिर महिनाबाट उत्पादन गर्न सुरु गरेको थियो। ७ करोड ३० लाख मेट्रिक टन चुनढुंगाको खानी भण्डारण रहेको उद्योगले झन्डै २५ वर्षको हाराहारीमा ४० लाख मेट्रिक टन मात्र चुनढुंगा खपत गर्न सकेको नायव महाप्रबन्धक तथा प्लान्ट महाशाखा प्रमुख नवलकिशोर साहले बताए।

‘अन्य सिमेन्टका चुनढुंगाभन्दा उदयपुरको सिमेन्टको चुनढुंगा राम्रो र धेरै छ,’ साहले भने, ‘त्यसलाई खपत गर्नको लागि पनि उत्पादन क्षमता विस्तार गर्न जरुरी रहेको छ, सरकारसँग प्रपोजल पेस गरेका छौँ।’ उनले अझै ६ करोड ९० लाख मेट्रिक टनको चुनढुंगाको ठूलो पहाड बाँकी रहेको बताए।

‘यहाँको चुनढुंगा सदुपयोग गर्न सरकारी तवरबाट सहयोग हुनु पर्दछ,’ नायव महाप्रबन्धक साहले थप्दै भने, ‘क्षमता विस्तारको योजना सफल हुनासाथ मुलुकको ६५ प्रतिशत सिमेन्टको मागलाई सहजै आपूर्ति गराउन सकिन्छ।’

२५ वर्षपछि उत्पादन यसरी भयो सुधार

मुख्य गरी ऊर्जा आपूर्ति सहज भएपछि उद्योगको उत्पादनमा फड्को मारेको हो। ०४४ जेठमा स्थापना भएको उद्योगले ०४९ माघबाट उत्पादन सुरु गरेको थियो। जापानको वाइसिएफ (ओभरसिज इलेक्ट्रोनिक कोअपरेसन फन्ट) को जापानी ऐन १८ अर्ब ७७ करोड ऋण सहयोग र नेपाल सरकारको ४४ करोड ३७ लाख ५१ हजार लागानीमा गैँडा छापा लोगो भएको उदयपुर उद्योग सिमेन्ट उद्योग स्थापना भएको हो।

नेपाल सरकारले उद्योगबाट ६ अर्ब ५५ करोड ६२ लाख ऋण उठाउने सर्तमा उद्योग व्यवस्थापन पक्षलाई जिम्मा दिएको थियो। जुन उद्योगले ०४९ बाट व्यावसायिक उत्पादन सुरु गरेको थियो। उद्योगमा ०५१ माघसम्म जापानी प्राविधिकहरुले मात्र सञ्चालन गरेका थिए।

०५१ माघबाट मात्र नेपाली प्राविधिकहरुले उत्पादन गर्न थालेका हुन्। जापानी प्राविधिहरु शतप्रतिशत उत्पादन गरेको उद्योगमा नेपाली प्राविधिकको हातमा आएपछि दैनिक ४० देखि ५० प्रतिशतको बीचमा मात्र उत्पादन भएको थियो। जसमा वार्षिक रुपमा ५५ माथि ७० प्रतिशतसम्म उत्पादन गरेको तथ्यांक छ।

नायव महाप्रबन्धक महेश काफ्लेका अनुसार ग्यास कन्डिसन पावर (जिसिपी), इलेक्ट्रो स्टाटिक पावर (इसपी) जुन फ्याक्ट्रीभरी उड्ने धुलो नियन्त्रण गर्ने मेसिन अहिले नयाँ छन्। ‘विगतमा प्रत्येक दिन उत्पादन सुरु गरेपछि मेसिन भाँचिने, टुट्ने समस्या अहिले हटेको छ,’ उनले भने, ‘टुट्ने मेसिनको तत्काल मर्मत हुने र नयाँ जडानको लागि प्राविधिक राखिएको छ।’

नायब महाप्रबन्धक काफ्लेले उदयपुर सिमेन्ट उद्योग गएको वर्षबाट निरन्तर रुपमा सञ्चालन भएको बताए। दैनिक प्रतिघण्टा दुई टनभन्दा बढी उड्ने धुलो तथा धुवाँ नियन्त्रण गर्न करिब तीन करोड रुपैयाँको लागतमा प्रदूषण नियन्त्रण गर्ने मेसिन इलेक्ट्रो स्टारिक पावर (इएसपी) जडान गरिएको छ। उद्योगलाई वातावरणमैत्रीसमेत बनाइएको छ।

उद्योगमा सामान्य मेसिन बिग्रँदा महिनौँ लाग्ने समस्या अहिले हटेको र कर्मचारी तथा मजदुरमा कडा अनुशासन लगाइएको महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल बताउँछन्। ‘काम नगर्ने, काममा नआउने अनि तलब लिन आउने कर्मचारी तथा मजदुरलाई सल्लाहले राजीनामा दिन लगाउने र अवकाश दिलाउने महाप्रबन्धकज्यूले गर्नुभएको छ।’

 नाम नराख्ने सर्तमा एक मजदुरले भने, ‘मजदुर तथा कर्मचारीप्रति पनि उद्धारदायी भूमिका खेल्ने महाप्रबन्धक भएकाले पनि उद्योगमा सुधार आएको छ’ उनले भने। उद्योगमा दायित्व पूरा नगर्ने अधिकृतसहित ८२ कर्मचारीको जागिरै गएको उनले बताए। जागिर जानेमा अधिकृतसहित ड्राइभर, जुनियर मेकानिकल इन्जिनियरलगायत कर्मचारी छन्।

लापरबाही गर्ने कर्मचारीलाई उद्योगको कर्मचारी ऐनअनुसार नै निकालिएको महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले बताए। ‘उद्योगलाई काम चाहिएको छ,’ महाप्रबन्धक पौडेलले भने, ‘काम दिन नसक्ने कर्मचारी उद्योगले पाल्नुको अर्थ छैन, मैले सबैको सहमतिमै हटाउने गरेको छु।’ उद्योगमन्त्री सोमनाथ पाण्डे भएको वेला उद्योगलाई निजीकरण गर्न खोजिएको थियो। तर, चातर्फी विरोध भएपछि उदयपुर सिमेन्ट निजीकरण हुनबाट बचेको थियो।

उत्पादित गैँडा छाप सिमेन्टको कस्तो छ गुणस्तर?

उदयपुर सिमेन्टले उत्पादन गरेको गैँडा छाप सिमेन्टको माग बढिरहेको छ। यसरीे माग बढ्नुमा मुख्य रुपमा कच्चा पर्दाथको रुपमा लिइने चुनढुंगा नै गुणस्तरीय भएको उद्योगको दाबी छ। उद्योगका गुणस्तर प्रमुख कोभित काफ्लेले गैँडा छाप सिमेन्टको चुनढुंगा धेरै राम्रो भएको बताए।

‘उदयपुर सिमेन्टको सिधाँलीमा रहेको चुनढुंगामा म्याग्नेजियम अक्साइड कम र लाइम बढी छ,’ उनले भने, ‘सिमेन्ट उत्पादन गर्ने चुन ढुंगामा म्याग्नेजिय अक्साइड २ देखि ३ प्रतिशत हुनुपर्छ भने लाइम त्यसको दोब्बर भयो भने राम्रो हुन्छ।’

उनले प्रस्ट्याउँदै भने, ‘सिमेन्टमा म्यानेजिय अक्साइड बढी र लाइम कम भएर निर्माण गरिएको संरचना भत्कने, फुट्ने, टुट्ने हुन्छ। उदयपुर सिमेन्टद्वारा उत्पादित गैँडा छाप सिमेन्टको लाइन बढी म्याग्नेजियम अक्साइड कम भएकाले निजी क्षेत्रबाट उत्पादन भएका सिमेन्टभन्दा गुणस्तर बढी रहेको ठोकुवा गरे।

नेपाल गुणस्तर विभागले तोकेका मापदण्डभन्दा गैँडा छापको गुणस्तर उच्च रहेको जिकिर गरे। उनले सिमेन्टको गुणस्तर मापन गर्ने विधि यसरी बताए। ‘तीन दिनमा २४/२५ न्युटन मिटर इस्क्वाएर एकहप्तामा ३२ न्युटन मिटर इस्क्वाएर २८ दिनमा ५० न्युटन मिटर इस्क्वाएर गरेर मापन गरिन्छ।

‘निजी सिमेन्टलाई यस फर्मुलाअनुसार मापन गर्दा कुनैको तीन दिनमा २०, एक हप्तामा कसैको २२ र २८ दिनमा कसैको ४५ भन्दा नाघेको छैन,’ पुन उनले भने, ‘सिमेन्टले विश्व मापदण्डअनुसार भन्ने हो भने ३३, ४३ र ५३ प्रतिशत न्युटन मिटर इस्क्वाएर हुन्छ। यसरी अरूको भन्दा बढी नै गुणस्तरीय हो।

६ महिनामा एक अर्बभन्दा बढीको उत्पादन

उद्योग स्थापना भएको २५ वर्ष पछि उदयपुर सिमेन्ट उद्योगले ६ महिनामा एक अर्व ११ करोडको सिमेन्ट उत्पादन गरेको छ। आर्थिक वर्ष ०७४/०७५ सुरु भएको ६ महिनामा उत्पादन गरेको हो। सिमेन्ट उद्योगका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलका अनुसार गएको चालू आर्थिक वर्षको साउन १ गतेदेखि माघ २० सम्म ११ लाख ४५ हजार ९ सय ९४ बोरा सिमेन्ट उत्पादन गरेको बताए।

उनका अनुसार विभिन्न समयमको मूल्य अनुसार ११ अर्व ११ करोडको हो। विगतमा वर्षहरुमा वार्षिक रुपमा उत्पादन गर्ने सिमेन्ट अहिले उद्योगले ६ महिनामा गर्न थालेको बताइएको छ।

उद्योगका बिक्री शाखा प्रमुख रामबहादुर जिसीका अनुसार देशभर २ सय ७० हाराहारी डिलर रहेका छन्। ‘हामीले आफ्ना बिक्रेतालाई ‘क’ र ‘ख’ मा सूचीकृत गरी बिक्री र बोनसको मापदण्ड तोकेका छौँ,’ उनले भने, ‘क’ श्रेणीका बिक्रेताले ३ महिनाभित्र कम्तीमा ७ हजार ५ सय बोरा बेच्नुपर्ने र बोनस पाउन १० हजार १ देखि २५ हजार बोरासम्म बिक्री गर्नुपर्ने प्रावधान राखेका छौँ।’ 

 ‘ख’ श्रेणीले तीन महिनामा कम्तीमा दुई हजार पाँच सय एक बोरादेखि माथि बेच्नुपर्ने हुन्छ। २५ हजारदेखि ५० हजार बोरासम्म बेच्नेलाई १० रुपैयाँ, ५० देखि ८० हजारसम्म बेच्नेलाई १५ रुपैयाँ, ८० देखि १५० बोरासम्म बेच्नेलाई २० र सोभन्दा बढी बेच्नेलाई प्रतिबोरा २५ रुपैयाँ बोनस दिने गरिएको बिक्री प्रमुख जिसीको भनाइ छ।

उद्योगका अनुसार हालसम्मको कुनै आर्थिक वर्ष ६ महिनामा एक अर्बको उत्पादन गर्न सकेको छैन। एक आर्थिक वर्षमा  उत्पादन गर्ने उद्योगले सिमेन्ट ६ महिनामै उत्पादन हुन थालेपछि उत्पादन क्षमता दोब्बर बनाउन लागिएको महाप्रबन्धक पौडेलको दाबी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.