|

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रले बुधबार एकताको खाका टुंग्याउने गरी एकता संयोजन समितिको बैठक बोलाएका छन्। बुधबारको बैठकले एकताको अन्तिम टुंगो लगाउने नेताहरूले बताएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको छलफलमा पार्टी एकता प्रक्रियालाई बुधबार ठोस निर्णयमा पुर्‍याउने सहमति भएको थियो। बुधबार बस्ने बैठकमा पार्टी एकता, सिद्धान्त तथा नेता तथा कार्याकर्ताको व्यवस्थापनलगायत विषयमा छलफल हुने माओवादी स्रोतले बताएको छ।

यी दुई पार्टीको सिद्धान्त के रहने भन्ने पनि त्यतिकै चासोको विषय छ। पार्टी एकता प्रक्रिया पनि सिद्धान्तका कारण केही ढिला भएको नेताहरूले बताउने गरेका छन्।

एकता प्रक्रिया चलिरहँदा केही नेताहरूले दुवै पार्टीको सिद्धान्तलाई छाडेर नयाँ सिद्धान्त लिएर अघि बढ्ने बताउँदै आएका छन्। केही नेताहरूले भने सिद्धान्तलाई छाड्न नमिल्ने बताउँदै आएका छन्। तर यी २ पार्टीबीच एकतापछि पार्टीको सिद्धान्त के हुने भन्ने विषयमा भने छलफल नै भइरहेको छ। दुवै पार्टीका अध्यक्ष पनि एकीकृत पार्टीको आगामी कार्यदिशा के रहने भन्नेबारेमा बाक्लो छलफलमा जुटेका छन्।

माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले बुधबार बस्ने पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकताको आधार टुंगो लगाउने बताए। उनले भने, ‘आजै एकता घोषणा हुने होइन, तर एकताचाहिँ पक्का गर्ने हो। त्यसपछि मात्र एकता घोषणा गरिन्छ।’

एकीकृत पार्टीको कार्यदिशा महाधिवेशनबाट टुंगो लाग्ने उनले बताए। उनले भने, ‘सिद्धान्तका विषयमा अध्यक्षद्वयबीच छलफल भइरहेको छ। एकतामा केही ढिला हुनुको कारण पनि यही हो। तर यसलाई महाधिवेशनमा लगेर टुंग्याउने सहमति हुने सम्भावना छ।’ महाधिवेशनसम्म दुवै पार्टीका कार्यदिशालाई अघि लिएर जानुपर्ने उनले बताए। उनले भने, ‘महाधिवेशनसम्म जनताको बहुदलीय जनवाद र माओवादीको २१औँ शताब्दीको जनवादलाई लिएर जानुपर्छ। त्यसपछि आफ्नो कार्यदिशालाई टुंगो लगाउनुपर्छ।’

पार्टी एकता टुंग्याउने अन्तिम बहस चलिरहँदा नेतृत्व व्यवस्थापनको पनि त्यतिकै बहस चलेको छ। पार्टी नेतृत्व कसले गर्ने भन्ने विषय पनि हालसम्म अन्योल छ। तर महाधिवेशनसम्म अध्यक्षद्वयले नै नेतृत्व गर्ने नेता पौडेलले बताए। उनले भने, ‘पार्टीको अध्यक्ष वा सहअध्यक्ष जे भए पनि हाललाई दुवै जनाले पार्टीको नेतृत्व गर्नुपर्छ र महाधिवेशनमा लगेर नेतृत्व कसले गर्ने भन्ने कुरा टुंगो लगाउनुपर्छ। नभए आलोपालो प्रणलीबाट सहकार्य गरेर पार्टी चलाउने सहमति हुन्छ।’

यस्तै, दोस्रो तहका नेताको व्यवस्थापनका विषयमा छलफल भइरहेको पनि पौडेलले बताए। उनले भने, ‘अहिले नेतृत्वका विषयमा मात्र छलफल भइरहेको छ। अब पार्टी एकताको टुंगो लागेपछि दोस्रो तहका नेताको व्यवस्थापनका बारेमा छलफल हुन्छ। अहिले यस विषयमा पनि सामान्य छलफल भने भइरहेको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.