|

म्याड्रिड : प्राय खेलाडीहरुले आफ्ना पुराना प्रतिस्पर्धी टोलीबाट खेल्न मन गर्दैनन्। तर एन्जेल डि मारियाले बार्सिलोनाबाट खेल्न इच्छा व्यक्त गरेका छन्। 

उनले बार्सिलोनाले आफूलाई आबद्ध गर्न चाहेमा उक्त क्लबबाट खेल्न कुनै आपत्ति नहुने बताए। यसअघि उनले बार्सिलोनाको चिरप्रतिद्वन्द्वी क्लब रियल म्याड्रिडबाट खेलेका थिए।

सन् २०१० देखि २०१४ सम्म रियलमा बिताएका डि मारियाले त्यसक्रममा रियललाई एकपटक ला–लिगा र एकपटक च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेले। तर, अहिले उनी आफ्नै पूर्व क्लबविरुद्ध खनिएका छन्। 

उनले अर्जेन्टिनाको रोसारियो सेन्ट्रल क्लबबाट आफ्नो व्यवसायिक खेल सुरु गरेका थिए। रोसारियोको छिमेकी क्लब निवेल वल्ड ब्वाईजबाहेक विश्वका अन्य कुनै पनि क्लबबाट खेल्दा आफूलाई आपत्ति नहुने उनको भनाइ छ। 

‘रियल म्याड्रिडसँगको मेरो सम्बन्ध टुंगिसकेको छ,’ फ्रेन्च पत्रिका सो फुटसँगको कुराकानीमा उनले भने, ‘केही समयअघि नै उनीहरुसँगको मेरो यात्रा टुंगिएको हो। इमानदारीतापूर्वक भन्नुपर्दा बार्सिलोनाबाट खेल्दा मलाई कुनै आपत्ति हुनेछैन।’

उनले रियल छाड्नुअघि क्लबले अर्जेन्टिनालाई धम्कीपूर्ण पत्र पठाएको खुलासा गरे। ‘म राष्ट्रिय टिममा छानिएर विश्वकप खेल्दै थिएँ। त्यति नै बेला अर्जेन्टिनी टिमलाई पत्र आयो। जहाँ लेखिएको थियो, मलाई चोट लाग्यो र यसको जिम्मा राष्ट्रिय टोलीले लिनुपर्नेछ,’ उनले भने,‘त्यसपछि मैले पत्र च्याते।’

उनले त्यस घटनापछि रियल म्याड्रिडको सामना गर्नुपर्दा जहिल्यै प्रेरणा मिल्ने गरेको बताए। उनले चोटका कारण सन् २०१४ को विश्वकप फाइनल गुमाएका थिए। ‘त्यस पत्रले मलाई चोटमा थप चोट पुर्‍याएको थियो। तर अहिले लाग्छ यस्तै कुराहरु संझदा चोट बिर्सन सहज हुन्छ। पत्रले मलाई दबाबमा पनि कसरी मज्जा लिने भन्ने सिकएको छ।’ 

डि मारिया अहिले म्याड्रिड आएका छन्। उनको क्लब पेरिस सेन्ट जर्माइनले बुधबार मध्यरात रियल म्याड्रिडविरुद्ध उसैको घरेलु मैदान सान्टियोग बेर्नाबाउ रंगशालामा च्याम्पियन्स लिगको अन्तिम–१६ मा प्रतिस्पर्धा गर्दैछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.