|

च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र सार्वजनिक भएसँगै धेरैले यो सिजनको एल क्लासिकपछि सर्वाधिक प्रतीक्षित खेलका रूपमा लिए रियल र पीएसजीको भीडन्तलाई। यसको परिणाम पनि देखियो टिकट खुलेको केही समयमै ८० हजार टिकट बिक्री भए, जसले विश्व फुटबलमै हलचल सिर्जना गरेको थियो।

अब दर्शक र समर्थकको प्रतीक्षाको घडी सकिएको छ। फ्रेन्च क्लब पीएसजी र स्पेनिस जाइन्ट रियल म्याड्रिडबीचको बहुप्रतीक्षित भीडन्तअन्तर्गत पहिलो लेगको खेल आज राती म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नेबाउनमा हुँदै छ।

२ वर्षअघि टिम जटिल अवस्थामा रहँदा रियल म्याड्रिडले विश्वास गरेका प्रशिक्षक जिनेदिन जिदान यस पटक रियलको संकटग्रस्त सिजनको अन्तिम खुड्किलाको रूपमा रहेको च्याम्पियन्स लिग उक्लने ध्याउन्नमा छन्। ला लिगामा समस्या पर्दै गएका बेला क्लबले राफायल बेनिटेजलाई हटाएर उनलाई विश्वास गरेपछि क्लबलाई उनले उक्त विश्वासको फाइदा पनि दिए तर अब उनको आफ्नै भविष्यका बारेमा भने अनेकन टिप्पणी सुरु भएका छन्। त्यसैले पनि रियलसँगै आजको खेललाई जिदानेको भविष्यसम्मलाई जोडेर हेर्न थालिएको छ।

रियलका लागि पराजित हुनु ठूलो कुरो होइन, उसको समस्या आफू कहाँ छु भन्ने हो। क्लबलाई २ वर्षअघि समस्याबाट बाहिर ल्याउने जिदानसँगै क्लब पनि समस्यामा रहेको मान्न उनलाई कुनै गाह्रो छैन। ला लिगामा शीर्ष चारमा संघर्षरत रहँदा शीर्ष स्थानको बार्सिलोनाभन्दा १६ अंकले पछि छ। यो स्पेनिस लिगमा रियल म्याड्रिड र बार्सिलोनाबीच निकै दुर्लभ अंकको अग्रता हो।

कोपा डेल रेको क्वार्टरफाइनलबाटै बाहिरिएको रियल म्याड्रिडको यो सिजन उपाधि आश अब च्याम्पियन्स लिग फुटबलमा मात्रै हो। त्यसैले पनि रियल समर्थकको मुटुको धड्कन बढिसकेको छ। कारण, बलियो प्रतिद्वन्द्वी पीएसजी नै हो। पहिलो लेगमा रियल आफ्नो घरेलु मैदानमा जीत निकाल्न चाहान्छ, जसले उसलाई फ्रान्समा खेल्न जाँदा केही आत्मविश्वास दियोस् भन्ने चाहना छ।

रियल म्याड्रिड र पीएसजीले यसअघि ६ पटक एकअर्कासँग प्रतिस्पर्धा गरेका छन्। त्यसमा दुवै टिमले २/२ खेल जितेका छन्। २ खेलमा बराबरी भएको छ तर गोलका आधारमा पिएसजी अघि छ। उसले ६ खेलमा ७ गोल गरेको छ भने रियल म्याड्रिडले ६।

रियल म्याड्रिड यस प्रतियोगितामा घरेलु मैदानमा भएका पछिल्ला १७ खेलमा अपराजित छ। तर समूह चरणमा कीर्तिमानी २५ गोल गरेको पीएसजी उसका लागि ठूलो चुनौती बनेर आएको छ।

साथमा पीएसजि यस पटक पूर्व बार्सिलोना फर्वार्ड नेयमारको आगमनले थप उत्साहित छ। तर नेयमार र रोनाल्डोबीचको यो भीडन्तको निर्णयले पीएसजी र रियल म्याड्रिड दुवैका लागि चुनौती ल्याउनेछ।

च्याम्पियन्स लिग जित्नकै लागि लाखौँ डलर खर्च गरिसकेको फ्रेन्च क्लब पीएसजी र सिजनको प्रतिष्ठा बचाउन संघर्षरत रियल म्याड्रिडमध्ये कसले जित्ला? त्यसको अनुमानको जिम्मा फेरि पनि दर्शकसँगै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.