|

इलाम : वि. सं. २०४५ देखि वर्सेनि निर्यात भइरहेका निजी आवादीका गोलिया इलामका किसानका लागि नगदेबाली सरह आम्दानीको स्रोत बनिरहेका छन्।

प्लाइउड बनाउने भेनियर उद्योगका लागि आवश्यक उत्तीस, चिलाउने, मलातो, मौवालगायतका नरम काठ भएका रूख यहाँ पाखोबारीबाटै बिक्री हुने गरेको छ। गएको वर्ष मात्र १४ करोड २१ लख ६२ हजार ७९० रुपैयाँ बराबरको गोलिया निजी आवादीबाट निकासी भएको जिल्ला वन कार्यालय इलामले जनाएको छ।

आर्थिक वर्ष २०७३/०७४ मा किसानले बेचबिखन गरेको निजी आवादीको गोलियाबाट मूल्य अभिवृद्धि करमार्फत ३ करोड ९५ लाख ९० हजार रुपैयाँ जम्मा भएको छ। यस्तै, निजी आवादी, जिल्ला वन पैदावार आपूर्ति समिति र सामुुदायिक वन विकासबाट निकासी भएको २६ लाख ६६ हजार ४२३ क्युविक फिट गोलियामार्फत ६ करोड ३९ लाख ५० हजार ५५५ रुपैयाँ राजश्व जम्मा भएको छ।  

निजी आवादीका रूख कटानका लागि स्थानीय तहको सिफारिस, जग्गाको नक्सालगायतका कागजात तयार गर्नुपर्ने भएकाले यस्तो झन्झटिलो प्रक्रिया अन्त्य हुनुपर्ने व्यवसायी र किसानले औँल्याएका छन्। 

इलाम जिल्लाको भूउपयोग तथ्यांकअनुसार ९३ हजार ८४९ हेक्टर क्षेत्रफलमा वन जंगल रहेको छ। यो जिल्लाको कुल क्षेत्रफलको करिब ५५ प्रतिशत हुन आउँछ। यहाँ सरकारद्वारा संरक्षित वन, सामुदायिक वन, धार्मिक वन र निजी वन रहेका छन्। निजी दर्ता भएका वनबाहेक सर्वसाधारणले आफ्नो पाखाबारी खेतमा लगाएका निजी वनको भने यकिन तथ्यांक पाइँदैन।

जिल्ला वन अधिकृत भरतबाबु श्रेष्ठले काठजन्य वन्य पदार्थमा भ्याट लाग्ने व्यवस्थाअनुसार निजी नम्बरी आवादीका काठमा पनि सोहीअनुसार भइरहेको बताए। उनले निजी आवादीका वन जंगलमा भएका गोलिया धान, मकै वा अन्य नगदेबाली सरह बिक्री गर्न पाउनुपर्ने माग उठिरहेको भए पनि रूख काट्नुहुँदैन वातावरण बिग्रन्छ भन्ने समाज पनि एकातिर रहेको बताए। 

पाखा वा बारीमा आफैँ उम्रिएका वा रोपेर हुर्काइएका रूख १० देखि १५ वर्षभित्र बेच्नयोग्य हुने किसानहरूले बताएका छन्। गोलिया व्यवसायीले किसानको बारीबाटै किनेर प्रक्रियाअनुसार निकासी गर्ने गरेका छन्। 

जिल्ला वन पैदावार आपूर्ति समितिमार्फत् सालको गोलिया ९ हजार ६२७ क्युविक फिट बिक्री वितरण भएको जिल्ला वन कार्यालयको प्रतिवेदनमा उल्लेख छ। यस्तै, सामुदायिक वन विकासतर्फ सालको काठ समूहमा १३ हजार ४१६ र अन्य जातको १ हजार ५५४ क्युविक फिट बिक्री वितरण भएको छ। 

उक्त वर्ष समूहबाहिर सालको ६० हजार ६७८ क्युविक फिट र अन्य जातका ११ हजार ७२१ क्युविक फिट बिक्री वितरण भएको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.