समाज

यसरी सम्झिए पहिलो प्रेम यी सर्जकले
SHARES

फागुन २, २०७४

    काठमाडौं :  फेब्रुअरी महिना अर्थात् प्रेमको महिना, प्रेमको महिना अर्थात् भ्यालेन्टाइन डेको महिना।

    पश्चिमा देशहरूमा मनाइने यो दिवस अचेल  नेपाली युवापुस्तामा एकदमै लोकप्रिय बनेको छ।  भ्यालेन्टाइन डे आज विश्वभरका मायालु जोडीले हर्षोल्लासका साथ मनाउँदै छन्।

    यसै सन्दर्भमा केही नेपाली लेखक/कविको पहिलो प्रेमको अनुभव कस्तो रह्यो? भनेर थाहाखबरकर्मी किसानले गरेको कुराकानी प्रस्तुत छ।  

     

    मान्छेले एकैचोटि जति जनालाई पनि प्रेम गर्न सक्छ : कवि/आख्यानकार राजन मुकारुङ

    खासमा प्रेम गर्न सन्दर्भ जुट्नुपर्छ  भन्ने कुरामा त्यस्तो धेरै  विश्वास लाग्दैन।

    म बच्चैदेखि एकदमै चकचके, फटाहा  मान्छे हुँ। त्यसको केही हिस्सा अझै पनि ममा छ जस्तो लाग्छ।

    मेरो पहिलो प्रेमको स्मरण गर्नुपर्दा म जुन केटीसँग पहिलो प्रेममा परेँ, त्यसको कारण मेरो फटाइँगिरी नै थियो।

    भएको के थियो भने उनको र मेरो जमिनको सिमाना जोडिएको थियो। म उनको जग्गामा भएको उखु चोरेर स्वाद मानीमानी खाने गर्थें। एक दिन उनले उखु चोरेको देखिन् अनि नानाभाँती गाली गरिन्। मैले उनलाई भरमार भकुरेँ। उनी  रुन थालिन्। मलाई नमज्जा लाग्यो। मैले धेरै फकाउने कोसिस गरेँ। हार खाएपछि उनी सँगसँगै  म पनि रुन थालेँ।

    त्यसपछि उनी  हाँसिन्।  मलाई उनी  हाँसेको एकदम सुन्दर लाग्यो। मेरो मन कुत्कुतियो। मनको कुनै कुनामा प्रेम अंकुराएको मैले महसुस गरेँ।

    हातमा परेको माछा गुम्छ कि झैँ लागेर मैले उनलाई प्रेम प्रस्ताव राखेँ। उनले नाइँनास्ती गरिनन्।

    यो घटना म ८ कक्षा पढ्दाको हो भने उनीचाहिँ ६ कक्षामा पढ्थिन्। मनमा लाग्यो, जिन्दगी सँगै बिताउने हो भने पढ्दा पनि सँगै पढौँ। मैले उनलाई २ वर्ष कुरेँ। जब उनी ८ कक्षामा आइन्, तब उनको विवाह भयो। विवाह गर्नुअघि उनले भनेकी थिइन्, 'हामी भागेर बिहे गरौँ।'

    तर मेरो न आर्थिक हैसियत थियो, न उनलाई बिहे गर्ने आँट।

    प्रेम गर्ने आँट हुनेको  खै के कारणले हो,  बिहे गर्ने आँटचाहिँ आउँदै आएन।

    यसरी विश्राम लियो मेरो पहिलो प्रेमले। अचेल बजारमा मेराबारेमा यतिऔँ प्रेम उतिऔँ प्रेम छ भनेर हल्ला चल्छ। मान्छेले एकैचोटि जति जनालाई पनि प्रेम गर्न सक्छ, त्यो उसको क्षमता हो भन्ने मलाई लाग्छ। 

     

    अप्रेमीको बात लाग्यो :  कवि रमेश सायन

    चिठ्ठी पत्रको  युगको  अन्त्यतिर म प्रेममा परेँ। पहिलो पल्ट २ तर्फी प्रेमको स्वाद चाखेँ।

    सोसियल मिडियाको जन्म भइसकेको थिएन। भए पनि मेरो पहुँचभन्दा बाहिर थियो। मोबाइल हालखबर सोध्ने काममा मात्र प्रयोग हुन्थ्यो। आज जस्तो ल्याङ्ल्याङे गफको लागि घन्टौँ प्रयोग हुँदैनथ्यो। 

    गाउँगाउँमा एफएम रेडियो बज्न थालिसकेको थिए। तिनै एफएम रेडियोले प्रेमीहरूलाई भन्थे- 'प्रेम गर्ने उत्तम साइत १४ फेब्रुअरी थियो। यो  दिन एकअर्कामा प्रेम नदेखाए मोक्ष  मिल्दैन।'

    शहरको छेउछाउ बस्ने मेरी प्रेमिकामा एफएम रेडियोले यति प्रभाव पारेको थियो कि पहिलो भेटमै टन्नै चक्लेट उपहार ल्याएकी थिइन्। रेडियोले दिने प्रेमका टिप्सहरू हुबहु पालना गर्न खोज्थिन्।

    एकदमै नसुहाउँदो पारामा मेरो  ख्याल गर्थिन् उनी।

    त्यो  ख्याल कस्तो हुन्थ्यो भने मलामी जान हिँडेको मानिसले टन्नै शृंगार गरेर हिँडेजस्तो । शृंगार सुन्दरताका लागि त हो तर शृंगारको पनि समय हुन्छ।

    कान्तिपुर  एफएममा सविनाले चलाउने प्रेमसम्बन्धी कार्यक्रममा जुन टिप्स बज्थ्यो, त्यो  टिप्सको  अप्लाई ममाथि हुन्थ्यो।

    प्रेममा परेको पहिलो वर्षको पहिलो भ्यालेनटाइन डेको समयमा म भोजपुरका गाउँघर घुम्दैथेँ।

    त्यस ठाउँमा नेपाल टेलिकमको फोन बडो कष्टले चल्थ्यो। मानिसहरू थुम्कामा पुगेर परदेश बस्ने आफन्तलाई फोन हान्थे।

    मैले यति कष्ट प्रेमिकाको लागि गरिनँ। टेलिकमको सिग्नल खोज्दै डाँडातिर उक्लिनँ बरु दिनभर सुन्तला खाएँ। घाम तापेँ।

    भ्यालेनटाइन आएछ। गएछ। मलाई पत्तै भएन।

    भ्यालेन्टाइन डेको ४ दिनपछि म प्रेमिकाको संपर्कमा आएँ।

    त्यसबेलासम्म त सब कुरा बितिसकेछ।

    'यस्तो पवित्र दिनमा पनि नभेट्ने/नसम्झने' बात लाग्यो मलाई। प्रेमको टिप्समा उनले सुनेकी हुनुपर्छ, 'भ्यालेनटाइन डे जस्तो प्रेमको महान् चाडमा समेत नसम्झने नाथे तिम्रो प्रेमी कुनै हालतमा हुनसक्दैन।'

    त्यो निहुँ पछि आएर दीर्घ रोग बन्यो।

    मैले प्रेमबाट बिदा पाएँ!

    र, जाँदाजाँदै लेखेँ, '१४ फेब्रुअरी' कविता।

     

    जोडी बाँधेर हिँडेको देख्दा थुक निल्नुको विकल्प छैन : कवि रावत 

    २०५३ सालतिरको कुरा हो, जब म कक्षा ९ मा पढ्थेँ। हाम्रो पालामा भ्यालेन्टाइन भन्ने हुँदैनथ्यो। नयाँ वर्षमा भने पोस्टकार्ड पठाउने चलन थियो। एक जना सँगै पढ्ने केटीले पोस्टकार्डको पछाडि शायरी लेखेर पठाएकी थिइन्, जहाँ लेखिएको थियो-

    चंगा छ आकाशमा, धागो छ हातमा

    तिमी छौ कताकता, तिम्रो माया छ साथमा।

    त्यो पोस्टकार्ड अझै मसँग छ। आज पनि त्यो शायरीमा लेखिएको कुरा बुझ्न सकेको छैन। त्यही वर्ष शायरी लेखेर अर्की केटीले पठाइन् तर म अलि धेरै लजालु भएको कारण उनीहरूलाई उत्तर पठाइनँ।

    मलाई पोस्टकार्ड पठाउनेहरूलाई मैले कुनै उत्तर नदिएपछि उनीहरू अन्त कतै गए कि कुन्नि!

    त्यसै वर्ष मेरो घर छेउमा बस्ने  एउटी केटी मलाई ज्यादै मनपरेको थियो। २/३ वर्षसम्म म उनको एकतर्फी प्रेमी बनेँ। उनलाई प्रेम गर्छु भनेर प्रस्ताव राख्न धेरै रिहर्सल नै गरेँ। धेरैचोटि पोस्टकार्डको पछाडि शायरीहरू पनि लेखेँ तर आफूभित्र लाछीपना हावी भयो, जसका कारण मेरो एकतर्फी पहिलो प्रेम शहीद भयो।

    पछि काठमाडौं आइयो। शहरमा व्यस्तता बढ्दै गयो। भीडमा हराउँदै गएँ। अभाव र समस्यासँग जुध्दाजुध्दै प्रेम मात्र होइन, बिहे गर्ने उमेर पनि सकिन लागेछ।

    अहिले प्रेमको सप्ताह चलिरहेको छ। सबै जोडी बाँधेर हिँडेको देख्दा थुक निल्नुको विकल्प छैन। त्यो बेला मैले उसलाई प्रेम गर्छु भन्न सकेको भए! के थाहा यो प्रेमको सप्ताहमा सादा जिन्दगी रंगीन हुने थियो कि?

     

    फूल दिन खोज्दा आमाको कुचो भेटियो : कवि तथा आख्यानकार हेम प्रभास

    कक्षा ९ मा पढ्दाको कुरा। प्रेम दिवसको दिन मनपरेको मान्छेलाई फूल उपहार दिनुपर्छ भन्ने सुनेका थियौँ, दाइहरूबाट।

    ऊ र म एउटै कक्षामा पढ्थ्यौँ। सिर्जना र म। स्कुल छुट्टी भएपछि तेर्सैतेर्सो हिँडेपछि हुलाक गाउँ हुँदै देउराली डाँडो पुगिन्थ्यो।

    हुलाक गाउँको बाटैमा रातो खुर्सानी फूल टिपेर गोजीमा राखेको थिएँ। सिर्जना र उसका साथीहरू अघिअघि थिए।

    देउराली डाँडोको पीपले चौतारोमा बसे उनीहरू। फूल दिनलाई एकान्त मिलेन। त्यत्तिकै ओरालो झर्‍यौँ।

    अलि तल आएपछि घर जाने बाटो अलगअलग हुन्थ्यो। अरू साथीहरूलाई फटाफट जान दिएर हामी अलि पछाडि बस्यौँ।

    'लाऊ, तिमीलाई फूल' भनेर उसलाई दिन गोजीबाट के फूल निकालेको मात्रै थिएँ, ठ्याक्कै पछाडिबाट १० कक्षामा पढ्ने लक्ष्मण दाइ र दाइका साथीहरूले देखे। अनुहार त खुर्सानी फूलभन्दा पनि रातो भयो। अलिअलि मात्रै लाज लागेन।

    उनीहरूले मलाई कठालोमा  समातेर घर लगेर आमालाई भनिदिए। आमाले कुचोको तल्लो भागले मेरो ढाड सोझ्याइदिनुभयो।

    त्यसपछिका प्रेम दिवसहरूमा कसैलाई फूल दिएको पनि छैन, लिएको पनि छैन। प्रेम सप्ताहमा उसलाई फूल दिन खोजेको र आमाको कुचो भेटेको सम्झना एकै पटक मेरो मस्तिष्कमा ताजा भएर आउँछ।

     

    जसलाई प्रेम, उसैसँग विवाह : कवि सीमा आभास 

    म खासै भ्यालेन्टाइन मनाउँदिनँ तर पनि यसको  महत्त्व बढिरहेको छ- युवा र किशोर-किशोरीमाझ।

    यो विवाह हुनुभन्दा पहिलेको कुरा हो। म विराटनगरमा हुदाँ मेरा हालका श्रीमानसँग प्रेममा परेँ।  उहाँ एकदम लजालु टाइपको। पुरुषहरू पनि लजालु हुदाँ रहेछन् भन्ने कुराको मलाई पहिलोपल्ट महसुस भयो। 

    शारीरिक हाउभाउले मलाई प्रेम गर्नुहुन्छ भन्ने  लागे पनि कहिल्यै भन्नुभएन । त्यसपछि म पढ्नका लागि त्रिभुवन विश्वविद्यालयमा थिएँ।

    म त्रिविमा पढ्दा भ्यालेन्टाइन स्पेसल कार्यक्रममा सहभागी हुने मौका मिल्यो। खासमा कार्यक्रमको निहुँ बनाएर मैले उहाँलाई सम्झेर एउटा गजल लेखेकी थिएँ।

    दुनियाँले नटेकेको मेरो शहर तिमीलाई

    कसैसँग नसाटेको मेरो रहर तिमीलाई।

    त्यो गजल उहाँले सुन्नु भएछ। राम्रो छ भन्ने कमेन्ट गर्नुभयो। यो मान्छेबाट प्रेमको प्रस्ताव आउने भएन भनेरै  मैले उहाँलाई प्रेम प्रस्ताव राखेकी हुँ।

    मोवाइलको जमाना भर्खर आएको थियो तर हाम्रो हातमा आइसकेको अवस्था  थिएन। हामी चिठ्ठी आदानप्रदान गर्थ्यौं। दूरीको असर मभित्र अलि धेरै भयो कि कुन्नि, बेलाबेलामा उहाँलाई  'भेट्न आउनू' भन्थेँ, उहाँ इमान्दार सिपाही जस्तै भएर आउनुहुन्थ्यो। यही गजल नै मेरो  जीवनकालको  लभलेटर या भ्यालेन्टाइन उपहार, जे भने पनि भयो। अहिले त खासै वास्ता गरिँदैन, त्यो बेला जस्तो। अहिले त सधैँ भ्यालेन्टाइन।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]