|

  • धर्मराज जीसी-

सुर्खेत : प्रदेश ६ मा मुख्यमन्त्रीका लागि भोलि अर्थात् फागुन ३ गते बिहीबार मात्र दाबी पेस गरिने भएको छ। 

माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी छ।

वाम गठबन्धनभित्र मुख्यमन्त्रीमा एमाले र माओवादीले आलोपालो गर्ने नेकपा एमालेका संसदीय दलका नेता यमलाल कँडेलको प्रस्ताव आएपछि सरकार गठनको प्रक्रियामा छलफल लम्बिएको थियो।

केन्द्रमा वाम गठबन्धनले प्रदेशसभाको मुख्यमन्त्री माओवादीको भागमा परेको छ। यसअघि पनि संसदमा कुल सिटमध्ये आधा सिट एमालेको आएको भन्दै एमालेले मुख्यमन्त्रीको दाबी गर्दै आएको थियो।

माओवादी केन्द्रका सांसद गोपाल शर्माले एमालेबाट मुख्यमन्त्रीमा आलोपालोको प्रस्ताव गरेको स्वीकार गरे।

पार्टी केन्द्रको एकता संयोजन समितिले गरेको निर्णय नै आधिकारिक निर्णय हो भन्दै शर्माले कसैको व्यक्तिगत आकांक्षाले सरकार गठनमा कुनै असर नपर्ने बताए। पार्टी केन्द्रमा सहमति भइसकेको विषयमा विवाद गर्नुपर्ने कुनै कारण नरहेको उनको भनाइ छ।

मुख्यमन्त्रीलगायतका विषयमा छलफल जारी रहेको भन्दै मन्त्रालयको भागबण्डाको विषयमा पनि छलफल जारी रहेको शर्माले बताए। उनले भने, ‘बिहीबार मुख्यमन्त्रीको दाबी पेस भएसँगै सरकार गठन तीव्र रूपमा अघि बढ्छ।’

एमालेका सांसद सुशील थापाले मुख्यमन्त्रीमा आलोपालो हुनुपर्ने अडान नै लिएको भन्ने मिडियामा आएजस्तो चाहिँ नभएको बताए। मुख्यमन्त्रीलगायत मन्त्रिमण्डल कस्तो बनाउने भन्ने कुरामा प्याकेजमा सबै विषय टुंगो लगाउने गरी छलफल चलिरहेको उनको भनाइ छ। केन्द्रमा कस्तो सहमति हुन्छ, त्यहीअनुसार प्रदेशमा पनि छलफल हुने थापाले बताए। ‘बिहीबार बहुमत सांसदसहित मुख्यमन्त्रीको दाबी प्रदेश प्रमुख समक्ष पेस हुन्छ’, थापाले भने।

यसैबीच प्रदेश प्रमुख दुर्गाकेशर खनालले मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश कार्यालयबाट प्रक्रिया अगाडि नबढेको जानकारी दिए। ठूलो दलबाट अहिलेसम्म सरकार गठनका लागि दाबी पेस नभएको खनालको भनाइ छ। 

बिहीबार ५ बजेसम्म सरकार गठनका लागि दाबी पेस गर्ने समयसीमा भएको पनि प्रदेश प्रमुख खनालले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.