|

काठमाडौं : व्यापारका आआफ्नै रणनीति हुन्छन्। धेरै कर्पोरेट हाउसको रणनीति नाफा बढ्न थालेपछि लगानी बढाउने र घाटामा गयो भने खुम्च्याउने हुन्छ। तर सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम भने घाटामाथि पनि लगानी भने गरिरहेको छ। लगानी विस्तारकै क्रममा चीनबाट मंगलबार थप २ जहाज ल्याएको छ।

यससँगै अब निगमसँग आन्तरिक उडानका लागि ८ वटा जहाज भएका छन्। ८ मध्ये ७ वटा जहाज रहे तापनि नियमित उडानमा भने ३ वटा मात्रै जहाज रहेका छन्।

समस्या पाइलट र पार्ट पुर्जाको अभाव हो। अब चीनबाट ल्याइएका ४ वटा 'वाई १२' जहाज चलाउनका लागि अहिलेसम्म एक जना पाइलट मात्रै छन्। २ वर्षअघिदेखि नै निगमले पाइलट थप्ने बताए तापनि थप्न भने सकेको छैन। बरु भएका पाइलटको समेत नवीकरण हुन नसक्दा नियमित उडानमा समस्या भएको छ। वाई १२ का लागि हाल एउटा मात्र नियमित उडानमा छ भने अर्को ग्राउन्डेड छ।

निगम स्रोतका अनुसार यसअघि नृपेन्द्र भट्टराई र उद्धव घिमिरे क्याप्टेन रहेकामा उद्धवको लाइसेन्स नवीकरण भएको छैन्।

२ राष्ट्रबीचको सहमति बहाना बनाएर उल्लंघन गर्न पाइने कुरा भएन

यीबाहेक निगमसँग भएका २ वटा ट्वीनअटरमध्ये  एउटा बिग्रेको छ भने एउटा संचालनमा रहेको छ। निगमसँग भएका सबै जहाज नियमित सञ्चालन गर्न नसक्दा निगमको घाटा निरन्तर बढ्दो छ।

सबै जहाज चलाउन नसक्दा पनि जहाज ल्याउनुपर्ने बाध्यता भएको बताउँछन् निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार। उनले ५ वर्षअघि चीनसँग गरेको सम्झौता कार्यान्वयन गर्न चीनबाट जहाज थपिएको बताए। चीन र नेपालबीच २०६९ सालमा ६ वटा जहाज किन्ने बेच्ने सहमति भएको थियो।

चीन र नेपाल सरकारबीच गरिएको सहमतिअनुसार ६ मध्ये २ वटा जहाज अनुदान सहयोगमा हो भने ४ वटा जहाज भने एक्जिम बैंकसँगको ऋण सहयोगमा ल्याइएको हो। '५ वर्ष पहिलेको सम्झौताअनुसार ल्याउनै पर्ने भएको हो', कंसाकारले भने, 'दुई राष्ट्रबीचको सहमति बहाना बनाएर उल्लंघन गर्न पाइने कुरा भएन।'

कंसाकारका अनुसार मंगलबार ल्याइएका २ जहाज एक वर्षअघि नै तयार भएका हुन्। एक वर्ष ग्राउन्डेड भएपछि मंगलबार ल्याइएको हो तर यसअघि निगमले आवश्‍यक पर्ने जनशक्ति तयार गर्नुपर्ने भए तापनि गर्न सकेको छैन।

६ जहाज चलाउने कस्तो छ निगमको योजना?

पाइलट अभाव र नेपाली पाइलटलाई भाषाको समस्याको कारण पूर्ण रूपमा संचालनमा आउन नसकेका चीनबाट ल्याएका ६ वटै जहाज अबको २ महिनाभित्र पूर्ण रूपमा र नियमित संचालन गर्ने तयारी रहेको छ। निगममा महाप्रबन्धक कंसाकार भन्छन्, 'अबको २ महिनापछि ६ वटै जहाज फर्स्ट क्लासमा चल्छन्।'

यसका लागि निगमले चीनबाट ३ जना पाइलट ल्याउने तयारी गरेको छ, जसमा एक जना भने प्रशिक्षक पाइलट (आईपी) हुनेछ। 'चीनबाट अंग्रेजी बोल्ने तीन जना पाइलट ल्याउनका लागि तयारी भएको छ, उनीहरूको राष्ट्रिय पर्वको कारण २/३ हप्ता केही काम हुँदोरहेछ, त्यसपछि ल्याउने छौँ', कंसाकारले भने।

यी पाइलट आएपछि चीनबाट ल्याउने जहाजमा कुनै समस्या नपर्ने र पार्ट पुर्जासमेत उपलब्ध गराउने गरी चिनियाँ विमान निर्माता कम्पनी हार्विन एयरक्राफ्ट ग्रुपसँग सहमति भएको निगमले जनाएको छ।

'उडान कहाँ भर्ने भन्ने विषयमा हामीले निर्णय गरिसकेका छैनौँ, हाम्रो ध्यान नाफा कमाउनेभन्दा पनि निजी क्षेत्रले नसमेटेको क्षेत्र पुग्ने हो', कंसाकारले भने। उनका अनुसार यसअघि नेपाल एयरलाइन्सको उडान भएको तर अहिले नभएको क्षेत्रमा निगमको पहिलो प्राथमिकता रहनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.