|

जनकपुरधाम : प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेशसभाका नवनिर्वाचित सभामुख सरोजकुमार यादवलाई बुधबार दिउँसो जनकपुरधाममा सभामुख पदको शपथ ग्रहण गराएका छन्। सभामुख यादवले प्रदेशसभा सचिवालयमा बुधवार साँझ नै कार्यभार सम्हालेका छन्।

प्रदेश प्रमुख कायस्थले नेपाली भाषामा शपथ खुवाए पनि यादवले हिन्दी भाषामा शपथ लिएका छन्। शपथ ग्रहणपछि संचारकर्मीसँग उनले मुलुकको संविधानलाई अक्षरशः आत्मसात् गर्दै दिगो शान्ति र स्थायित्वका लागि आफूले सबै राजनीतिक दलसँग सहकार्य गरेर प्रदेशसभाको गरिमालाई उच्च पार्ने कार्यमा दृढ रहने प्रतिबद्धता व्यक्त गरे।

प्रदेश २ को सभामुखमा बारा हरिहरपुर निवासी सरोजकुमार यादवलाई बुधबार बसेको तेस्रो बैठकले सभामुखमा निर्विरोध चयन गरेको जेष्ठ सदस्यको हैसियतमा सभामुख बनेका लगनलाल चौधरीले घोषणा गरेका थिए। 

संविधानको धारा १८२ को उपधारा १ अनुसार सभामुख यादवका लागि राष्ट्रिय जनता पार्टी नेपालका महासचिव तथा संसदीय दलका नेतासमेत रहेका जितेन्द्र सोनलले प्रस्ताव गरेका थिए। एकल रूपमा टेबल भएको उक्त प्रस्तावमा फोरम नेपालका सांसद तथा संसदीय दलका नेता मो. लालबाबु राउत गद्दीले समर्थन जनाएका थिए।

शपथ समारोहमा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहित फोरम र राजपाका सांसदहरू तथा सुरक्षाकर्मीहरूको सहभागिता थियो।

को हुन् सरोजकुमार यादव?
बाराको हरिहरपुर गाउँ विकास समितिमा वि. सं. २०३० फागुन ३० गते जन्मिएका सरोजकुमार यादवले गाउँकै विद्यालयमा उच्च शिक्षा हासिल गरेका हुन्। स्नातकोत्तर अध्ययन गर्दागर्दै छाडेर राजनीतिमा लागेका उनी सानैदेखि राजनीतिमा प्रखर मानिन्थे। उनी २०४८ सालमा तत्कालीन नेपाल सद्भावना पार्टीको सदस्यता ग्रहण गरी सक्रिय राजनीतिमा होमिए।

२०५४ सालमा बारा जिल्लाको हरिहरपुर गाउँ विकास समितिको अध्यक्षमा निर्वाचन लडेर विजयी भएका उनले २०६४ सालको प्रथम संविधानसभाको निर्वाचनमा पनि जितेका थिए।

संविधानसभाको निर्वाचनसँगै सद्भावना पार्टी सरकारमा भएको बेला उनी २ पटक राज्यमन्त्रीसमेत भइसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.