|

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्र एकता नजिक पुगिरहँदा माओवादीका ३ जना कार्यालय सदस्य भने एकताको रिङबाहिर रहने निश्चित भएको छ।एकतापछिको नयाँ कम्युनिस्ट पार्टीमा माओवादीका लोकेन्द्र विष्ट मगर, गोपाल किराती र विश्वभक्त दुलाल ‘आहुति’ रिङबाहिर बस्ने निश्चित भएको हो। पार्टी एकता प्रक्रियाबाट असन्तुष्टि जनाउँदै यी ३ केन्द्रीय कार्यालय सदस्यले एकता प्रक्रियामा सामेल नहुने बताएका हुन्।

सिद्धान्त नै नभएको पार्टीसँग एकता गरेर माओवादी अध्यक्ष प्रचण्डले बाटो बिराएको भन्दै एकता प्रक्रियामा सामेल हुन नसक्ने उनीहरूले बताउँदै आएका छन्। पार्टीले एकता प्रक्रिया सुरु गर्दादेखि नै असन्तुष्ट जनाउँदै आएका उनीहरूले आफूहरूको विचारलाई सम्बोधन नगर्दा पार्टी एकतामा सामेल हुन नसकेको बताउने गरेका छन्। नेता विष्ट मगरले भने गत साउनदेखि नै पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै निष्क्रिय बस्ने घोषणा गरेका थिए। उनी पार्टीको वैचारिक धारबाट चित्त नबुझेर पार्टीबाट अलग भएका थिए। उनी माओवादी केन्द्र वैचारिक, दार्शनिक, सांगठनिक आचरण, आर्थिक र क्रान्तिबाट बिमुख रहेको आरोप लगाउँदै पार्टीबाट अलग भएका थिए।

यता, किरातीले भने सिद्धान्त नै नमिल्ने पार्टीसँग एकता गर्न लागेको भन्दै असन्तुष्टि जनाएका थिए। यसरी एकताबाट बाहिरिएका ३ जना नेता भने एक ठाउँमा हुने सम्भावना निकै कम छ। उनीहरू आफ्नै नयाँ पार्टी र राजनीतिक शक्ति निर्माण गर्ने योजनाका साथ अघि बढिरहेका छन्।

तर विष्ट मगरले भने आफूहरू एक हुनलाई छलफल गरिरहेको बताए। उनले आफूहरू छलफलमा रहेको थाहाखबरलाई जानकारी दिए। उनले भने, ‘हामी छलफलमा छौँ। सायद एक भएर माओवादी आन्दोलनलाई अघि बढाउँछौँ।’

किराती र आहुतिले पार्टी एकता अहिलेको समयअनुसार ठीक नभएको बताउँदै आएका छन्। उनीहरूले माओवादी आन्दोलनले कल्पना गरेको समाजवाद पूरा नभएसम्म विचारबाट बिचलित हुन नहुने धारणा राख्दै आइएका छन्। उनीहरूले जनयुद्ध गर्दा जनताले दिएको कार्यभार पूरा गर्नुपर्ने बताउँदै आएका छन्। तर विष्ट मगर माओवादीका ठूला नेता विचार र सिद्धान्तबाट बिचलित भएकाले एमालेसँगको एकता ठीक भएको बताए। उनले भने, ‘माओवादी केन्द्रका नेता र एमालेका नेतामा सिद्धान्त छैन। उनीहरू सांसदवादी सिद्धान्तका हुन्। उनीहरू एकै भएकाले एकता ठीक छ।’

नेता किरातीले भने संसदवादी दलमा विलय हुन लागेकाले आफू माओवादीलाई पुनर्गठन गर्नेतर्फ लागेको बताए। उनले भने, ‘माओवादीको नेतृत्व वर्गले आफ्नो मुद्दा बिर्सियो। संसदवादी दलसँग गएर एकता गर्‍यो। त्यहाँ एमालेको बुहुमत हुन्छ। अब क्रान्ति हुँदैन, त्यसैले म एकतामा गइनँ।’ आफूले पार्टीलाई पुनर्गठन गरेर माओवादी आन्दोलनलाई सार्थकतामा पुर्‍याउने बताए।

उनी एकताको रिङबाट बहिरिएसँगै उनले स्थापना गरेको किराती राष्ट्रिय मुक्ति मोर्चा पनि उनीसँगै जाने चर्चा छ। मेर्चाले माग २३ गते काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टी समक्ष आफ्ना माग राखेको थियो। उसले माग पूरा नभए एकता प्रक्रियामा सामेल नहुने बताएको थियो। यस कारण पनि मोर्चा किरातीसँगै जाने चर्चा चल्दै आएको छ तर किरतीले भने आफू कसैलाई दबाब दिएर आउन बाध्य नपार्ने बताए।

‘म कसैलाई दाबाब दिन्नँ। भोलि तेरा कारणले मन्त्री हुन पाइनँ भन्लान्। लोभी पापीको जमाना छ’, उनले भने, ‘तर कोही आए भने म सहकार्य गर्न तयार छु।’ एकताको विरोधमा मथिल्लो तहमा ३ जना मात्र रहे पनि कार्यकर्ता तहमा धेरै रहेको उनले बताए।

नेता आहुतिले भने आफू माओवादी केन्द्रबाट अलग भइसकेको बताए। उनले माओवादी अब कम्युनिस्ट पार्टी नै नरहेको आरोप लगाए। ‘अब यो पार्टी कम्युनिस्ट पार्टी नै रहेन। यसलाई अब कम्युनिस्ट पार्टी नै बनाउने हो भने ठूलो बहस आवश्यक छ भनेर हामीले त कुरा उठाएका थियौँ’, उनले भने, ‘चुनाव सकेर एउटा कोर्स पूरा भएपछि यो पार्टीलाई नयाँ कम्युनिस्ट पार्टी बनाउने कुरामा हामी विश्वस्त थियौँ। हामी त्यही तयारीमा थियौँ। तर उहाँहरू छलफल बहस र पार्टी विश्लेषण नगरी एमालेसँग एकता गर्ने भनेर जानुभयो।’ यसले गर्दा माओवादी केन्द्रको वैचारिक धार विसर्जन भएका कारण आफूले पार्टी परित्याग गरेको उनले बताए।

नयाँ युगमा नयाँ आन्दोलन सुरु गर्ने पनि उनले बताए। उनले भने, ‘अब नयाँ युगको नयाँ चक्रमा छौँ हामी। अब नयाँ तरिकाबाट कम्युनिस्ट आन्दोलनालाई अघि बढाउनुपर्छ। नयाँ आन्दोलन सुरु गर्न हामी छलफलमा छौँ।’ तर आफू गोपाल किरातीसँग तत्काल सहकार्य गरेर नजाने उनको भनाइ छ।

‘उहाँले माओवादीले जे मूल्य मान्यता बोकोको थियो, त्यो छाड्ने भए, त्यो मूल्य मान्यतालाई फेरि संगठित गरेर हिँड्छु भन्नुभएको हो। अहिले तत्काल हाम्रो सहकार्य सम्भव छैन’, उनले भने, ‘उहाँ माओवादी पुनर्गठन भन्नुहुन्छ, म माओवादी पुनर्गठनले अहिले हुँदैन, नयाँ आन्दोलन गरेर मात्र हुन्छ भन्ने पक्षमा छु। तर पछि जे पनि हुनसक्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.