|

काठमाडौं : सदैव माओवादीप्रति तिखो वाँण प्रहार गर्दै आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माओवादीकै सहयोगमा दोस्रोपटक प्रधानमन्त्री नियुक्त भएका छन्। उनी नेपालको ४१ औं प्रधानमन्त्रीका रुपमा बनेका हुन्।  

रमाइलो त यो छ कि विगतमा उनी माओवादीप्रति जति आक्रामक थिए, उनीहरुकै सहयोगमा ओली दोस्रोपटक प्रधानमन्त्रीमात्र बन्दै छैनन्। ओलीकै नेतृत्व कालमा नेपालको दोस्रो ठूलो कम्युनिस्ट दल माओवादी केन्द्रसँग एकतासमेत हुँदैछ।

२०२८ सालमा भएको झापा विद्रोह हुँदै वामपन्थी राजनीतिमा सक्रिय ओली संविधानसभाबाट जारी नयाँ संविधानपछि पहिलो तथा मुलुकको ३८ औं प्रधानमन्त्री बन्न सफल भएका थिए। त्यसबेला उनी माओवादीसँगकै सहकार्यमा प्रधानमन्त्री भएका थिए।

४१ औं प्रधानमन्त्री

प्रतिनिधिसभामा मुलुकको पहिलो दल रहेको नेकपा एमालेका अध्यक्ष ओलीले नयाँ संविधान निर्माणमा निर्णायक भूमिका निर्वाह गरेका थिए। मुलुकको ४१औँ प्रधानमन्त्रीमा निर्वाचन ओली योसहित आठौं वामपन्थी प्रधानमन्त्री समेत भएका छन्।

२०५१ सालमा एमालेका तत्कालीन पार्टी अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको सरकारमा गृहमन्त्री बनेर ओलीले राजकीय पदको यात्रा थालेका थिए।

लामो समय जेलनेल भोगेका नेता ओली वाकटुतामा विशेष दख्खल राख्छन्। उनको भाषणकला सबैको चासोको विषय रहँदै आएको छ। विशेषतः हरेक कार्यक्रममा केही न केही नयाँ कुरा बोल्दै आएका नेता ओलीको यही कलालाई कतिपयले अालोचकले मन पराउने गरेका छैनन्।  तर धेरैले उनलाई वाकपटुतामा विशेष योगदान राख्ने नेताका रुपमा बुझ्ने गर्दछन्।

पारिवारिक जीवन र बाल्यकाल

झापाबाट सक्रिय राजनीति शुरु गरेका नेता ओली इवा–२, तेह्रथुममा पिता मोहनप्रसाद ओली र आमा स्व. मधु ओलीको कोखबाट २००८ साल फागुन ११ सन् १९५२/०२/२३) मा जन्मिएका हुन्।  तेह्रथुम इवाकै प्रणामी उच्च माध्यमिक विद्यालय (तत्कालीन प्रणामी प्रावि) बाट पढाइ सुरु गरेका ओलीको परिवार २०२२ सालमा बसाइसराइ गरी झापा गएको थियो।

झापा सुरुङ्गाको कन्काइ नदी किनारमा बसोबास गर्ने ओलीको परिवार निकै गरिब थियो। डेढवर्षकै उमेरमा उनले आमा गुमाउनुपर्‍यो। सानो छँदा कन्काईमा आएको बाढीले ओलीको घरजग्गा सबै बगाएपछि परिवार सुकुम्बासी भयो।

सानैमा आमाको माया गुमाउनुपरेको र सुकुम्बासी तथा गरिब परिवारमा जन्मिएको कारण ओलीको बाल्यकाल निकै कष्टपूर्ण रुपमा बित्यो। हजुरबा र हजुरआमाले ओलीलाई हुर्काएका थिए।

पढाईको सिलसिलामा झापा आन्दोलनका सहिद रामनाथ दाहालसँग ओलीको भेट भएको थियो। चलाख र राम्रो विद्यार्थी देखेपछि दाहालले ओलीलाई आफ्नै घरमा राखेर पढाए। दाहालको प्रेरणाले ओलीमा राजनीतिक झुकाव बढ्दै गएको थियो।

विद्यार्थी छँदादेखि नै ओली मीठो र प्रष्ट ढंगले बोल्थे। अरुको खुलेर आलोचना गर्ने ओली एसएलसी सकेपछि गाउँकै प्राथमिक विद्यालयमा पढाउन शुरु गरे।
तर राजनीतिमा सक्रिय हुन थालेपछि पढाउने कामलाई निरन्तरता भने दिन सकेनन्।

झापा विद्रोहबाट उदाएका नेता ओलीले लोकतन्त्र, दिगो शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताका निम्ति अविचलित अडान राख्दै आएका छन्। यही अडानका कारण उनको प्रशंसा समेत हुने गर्दछ। केहीले अति राष्ट्रवादका रुपमा समेत आलोचना गर्ने गरेका छन्।  

खासगरी राष्ट्रिय एकता र राष्ट्रियताका सवालमा पछिल्लो समय ओली निडर तथा खरोरुपमा प्रस्तुत हुदै आएका छन्। एमालेको नवौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित ओली पार्टीको आन्तरिक एकता सुदृढ बनाउँदै जनतामाझ पार्टीको बलियो पकड बनाउन सफल भएका छन्।

एमाओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको समर्थनमा यसअघि मुलुकको ३८ औं प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका ओलीले त्यसअघि उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं परराष्ट्रमन्त्रीको जिम्मेवारी समेत सम्हालेका थिए।

पार्टी र संसद्का जिम्मेवारी

वि.सं. २०७१ असार १९–२५ मा सम्पन्न एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट माधवकुमार नेपाललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका उनी २०७० माघ तत्कालीन संसदको संसदीय दलको नेता समेत भएका थिए। उनले तत्कालीन अध्यक्ष झलनाथ खनाललाई पराजित गरेका थिए।

गएको मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा झापा ५ बाट निर्वाचित भएका ओली संविधानसभाको दोस्रो निर्वाचनमा झापा क्षेत्र नं ७ बाट निर्वाचित भएका थिए। वि.सं. २०४८ र २०५१ को निर्वाचनमा झापा ६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा उनी निर्वाचित भएका थिए।

२०५१ मंसिर १४ गते गठित नेपालको पहिलो कम्युनिस्ट सरकारमा गृहमन्त्री थिए। विसं २०५६ मा सम्पन्न आमनिर्वाचनमा झापा क्षेत्र नम्बर २ र ६ बाट प्रतिनिधिसभामा निर्वाचित भई पार्टीको संसदीय दलको उपनेता भएका ओली २०६३ जेठमा गठित मन्त्रिपरिषद्‍मा उप–प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बनेका थिए।

वि.सं. २०७० मंसिरमा भएको संविधानसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ७ बाट संविधानसभा सदस्यका रुपमा निर्वाचित भएका उनी आफ्नो अडानमा स्पष्ट मानिन्छन्।

झापा विद्रोहदेखि माओवादी सहकार्यसम्म

२०२३ सालदेखि नै राजनीतिमा प्रवेश गरेका ओलीले २०२७ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका हुन्। त्यही वर्षदेखि उनी भूमिगत भए। वि.सं. २०२७ को झापा विद्रोहमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीभित्र हतियारबद्ध सङ्घर्ष वा शान्तिपूर्ण सङ्घर्ष गर्ने भन्ने बहसमा उनले शान्तिपूर्ण आन्दोलनको माध्यमबाट नै परिवर्तन गर्न सकिन्छ भन्ने वैचारिक अडान राखेका थिए। तर पार्टीको निर्णय मानी सशस्त्र सङ्घर्षमा समेत उनी होमिए। अन्ततः विसं २०४६ को वाम प्रजातान्त्रिक सहकार्यको शान्तिपूर्ण आन्दोलनबाटै प्रजातन्त्रको पुनःस्थापना भयो। त्यसपछि पार्टीले पनि शान्तिपूर्ण रुपान्तरणको बाटो लियो।

ओलीले तत्कालीन महासचिव मदन भण्डारीबाट प्रस्तुत तथा एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट पारित जनताको बहुदलीय जनवादको सिद्धान्त र त्यसको कार्यक्रम निर्माणका महत्वपूर्ण भूमिका उनले निर्वाह गरेका थिए।

वि.सं. २०२५ देखि तत्कालीन नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध विद्यार्थी फाँटको फ्र्याक्सन कमिटीमा आबद्ध भई त्यसको नेतृत्व गरेका उनी २०२६ सालमा सङ्गठित सदस्यता पाए भने विसं २०२३ मा मार्क्सवादी अध्ययन दलमा सङ्गठित भए। वि.सं. २०२६ मै तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको उपसचिवको जिम्मेवारी लिएका उनी २०२७ वैशाखमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी र पूर्वकोसी प्रान्तीय कमिटीसँगको एकीकरण अभियानका अगुवा बनेका थिए।

वि.सं. २०४४ पुस २ गतेदेखि धादिङको स्यादुलमा बसेको तत्कालीन नेकपा मालेको बैठकबाट केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी बहन गरेका ओली २०४६ मा तत्कालीन नेकपा (माले) लुम्बिनी अञ्चल प्रमुखको जिम्मेवारीमा पुगेका थिए।

वि.सं. २०४७ जेठ १ गते तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ, नेपालको संस्थापक अध्यक्ष बनेका ओली २०४९ देखि २०७१ असारसम्म नेकपा एमाले स्थायी कमिटी सदस्य रहेर पार्टीको शीर्ष र लोकप्रिय नेताको स्थानमा रहेका थिए।

१४ वर्षे जेल जीवन

केपी ओलीले १४ वर्ष जेल जीवन बिताएका छन्। वि.सं. २०२८ वैशाखमा तत्कालीन पूर्वकोशी प्रान्तीय कमिटीबाट नेपाल कम्युनिस्ट पार्टी अलग भएपछि २०२९ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी झापा आन्दोलन कमिटीको प्रमुखका रुपमा ओली अघि सरे।

पञ्चायतविरोधी आन्दोलन र प्रजातन्त्र प्राप्तिका आन्दोलनमा उनी विभिन्न पटक जेल परे। पहिलो पटक उनी २०२७ फागुन १६ गते झापाबाट गिरफ्तारीमा परेका थिए। र, त्यसबीचमा पटक पटक गरी १० पटकभन्दा बढी गिरफ्तारीमा परेका थिए। २०३० असोज २३ गतेदेखि उनको लामो जेल जीवन प्रारम्भ भएको थियो।

रौतहट गौर जेल, गौर थाना हुँदै वीरगन्ज थाना र २०३० मंसिर ८ गते उनलाई भद्रगोल जेल काठमाडौँमा चलान गरियो। पछि केन्द्रीय कारागार, नख्खु जेलमा बस्दै गर्दा २०३६ जेठमा उनी जेलमुक्त भएका थिए। पछि फेरि २०३७ म गिरफ्तार भई २०४४ असार ११ मा भद्रगोल जेलबाट उनी रिहा भए। तत्कालीन राजा ज्ञानेन्द्रले चालेको २०६१ माघ १९ को कदमपछि उनले नजरबन्द पनि भोगेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.