|

सौराहा : चितवनको सौराहामा आएका स्वदेशी तथा विदेशी पर्यटकहरू थारू संस्कृतिमा लोभिने गरेका छन्। थारूको मौलिक नृत्य, रहनसहन र गीत संगीतमा पर्यटकको मोह हुने गरेको थारू अगुवा वासुदेव चौधरी बताउँछन्। सौराहा आएका अधिकांश पर्यटक बुधबार राति थारू संस्कृतिमा रमाएका भेटिए। दुईवटा थारू कल्चर हाउस भरिभराउ थिए।

गाउँ घुमेर थारूको मौलिकता अध्ययन गर्ने पर्यटकहरूसमेत सौराहामा आउँछन्। मुख्य गरी वन्यजन्तु पर्यटन फस्टाएको भए पनि सौराहा आएका पर्यटक थारू कल्चरमा पनि रमाएकै हुन्छ।

त्यसैले अहिले सौराहामा २ वटा थारू कल्चर हाउस सञ्चालनमा रहेका छन्। दुबै कल्चर हाउसमा सौराहा आएका पर्यटकले राती ७ देखि ८ बजेससम्म थारूका मौलिक गीत संगितमा प्रस्तुत गर्छ। न्यू सौराहा थारू कलचरल हाउसका सञ्चालक भुपेन्द्र चौधरी पछिल्लो समयमा कल्चर हेर्ने पर्यटकहरू बढ्दै आएको बताउँछन्।

सौराहाका होटलहरूले समेत प्याकेजमा थारू संस्कृतिलाई जोडेको छ। भुपेन्द्र भन्छन्, ‘पर्यटकका लागि हात्ती सफारीजत्तिकै महत्वपूर्ण कार्यक्रम थारू कल्चर हो।’ उनका अनुसार सौराहामा समूहगत रुपमा थारू युवा युवतीहरू मिलेर झमटा नाच, ठेकरा नाच, लौरो नाच, झुमरा डम्फु नाच प्रस्तुत हुन्छ।

थारूहरूले आफ्नै मौलिक पोसाकमा सजिएर प्रस्तुत हुँदा आएका पर्यटक लालयित हुन्छन्। बुधबार साँझ थारू कल्चर हाउसको प्रस्तुति हेरेका रवि अधिकारीले थारूको मौलिकता आकर्षक लागेको बताए। उनले यस्ता मौलिक पहिचानहरू जोगाउनुपर्नेमा जोड दिए। नेपालकै तेस्रो पर्यटकीय गन्तव्य हो चितवनको सौराहा। सौराहामा अहिले ११० वटा सुविधायुक्त होटलहरू छन्। ६० भन्दा बढी रेस्टुरेन्ट छन्।

यहाँ दैनिक झन्डै ३ हजार पर्यटक बस्न मिल्ने क्षमता छ। पर्यटक धेरै भएका वेला होटलले आफैँ थारू नाच प्रस्तुत गरेर पर्यटकलाई मनोरञ्जन दिन्छन् भने। थोरै पर्यटक हुँदा कल्चर हाउसमा पर्यटकहरूलाई लगिने र थारूको नाच देखाउने गरिएको छ। होटल सेभेन स्टारका सञ्चालक माधव दवाडी सौराहाका पर्यटन गतिविधिहरूमा ५० प्रतित थारूसँग केन्द्रित हुने गरेको बताउँछन्।

सौरमामा मुख्यगरी पर्यटकहरू हात्ती सफारी, जिप सफारी, डुंगा सफारी, जंगल वाक गर्ने, दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा, बाघ, हात्ती, चित्तल, गौरीगाई, भालुहरू हेर्ने तथा प्रकृतिमा रमाउने गर्छन्। त्यससँगै थारूको मौलिक संस्कृतिमा समेत पर्यटक आकर्षित हुन्छ।

तर, पहिले जस्तो थारू संस्कृति नभएकाले अलि समस्या रहेको छ। संस्कृति हराउँदै गएकोमा थारू अगुवा बासुदेव चौधरी चिन्ता व्यक्त गर्नुहुन्छ। त्यसैले अहिले सौराहामा थारू संस्कृति संग्रहालय नै स्थापना गरेर मौलिक सामग्रीहरू संरक्षण गरेर राखिएको छ।

यहाँ पनि पर्यटकहरू आउने र अवलोकन गर्ने गरेका छन्। क्षेत्रीय होटल संघ चितवन सौराहाका महासचिव राममणि खनाल सौराहा थारूसँगै जोडिएकाले पनि थारू संसकृति पर्यटनको महत्वपूर्ण पाटो रहेको बताउँछन्। त्यसैले थारू संसकृति जोगाउनुपर्नेमा व्यवसायीहरूको जोड छ।

पछिल्लो समयमा जंगलमा खर खडाई पाइँदैन, चितवन निकुञ्जबाट ल्याइने उक्त सामग्रीको अभावमा कंक्रिटका भवनहरू बन्ने क्रम बढ्दो छ। त्यसैले पनि मौलिक घरहरू परिवर्तन हुन थालेका छन्।

विगतमा सौराहामा पर्यटक राम्रै थिए। नाकाबन्दी पछि पर्यटकहरू ह्वात्तै घटे। अहिले फेरी पर्यटकको फ्लो बढ्दो छ। तर नारायणगढ मुग्लिनमा सडक बनिनसकेकाले पर्यटकहरू आउन मान्दैनन्। पोखरानै जाने गरेका छन्। त्यसैले अहिले व्यवसायीहरू म्ुग्लिन सडक चाँडो बनाउनुपर्ने बताउँदै आएका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.