|

दमक(झापा) : दोस्रोपटक केपी शर्मा ओली प्रधानमन्त्री चयन हुँदै गर्दा उनको गृहनगर झापाको दमकका मतदातामा पनि उत्साह देखिएको छ। झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभामा निर्वाचित भएका ओलीले राष्ट्रिय राजनीति र स्थानीय विकासमा पनि दीर्घकालीन प्रभाव छोड्ने गरी काम गर्नुपर्ने नगरबासीहरुको सुझाव पनि छ।

किसान पृष्ठभूमिबाट नेपाली राजनीतिमा उदाएका उनीप्रति किसानहरुले पनि आफूहरुका मुद्दा सम्बोधन गर्न आग्रह गरेका छन्। यस्तै, उद्योगी व्यवसायीहरुले औद्योगिक वातावरण बनाउन र सर्वसाधारणले विकासलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्।

होटल व्यवसायी संघ दमकमा अध्यक्ष राजन दंगाल ओलीले आफ्नो नगर र क्षेत्र मात्र नभई समग्र देशकै आर्थिक समृद्धिका लागि काम गर्नु पर्ने बताउँछन्। ‘प्रधानमन्त्री भइसकेपछि आफ्नै मात्र ठाउँमा विकास गर्नु भनेर पनि त हुँदैन नि’ उनले भने, ‘यो देशकै उन्नती, प्रगती र राष्ट्रिय स्वाभिमान उँचो हुने गरी ओलीले काम गरुन्, आखिर दमक पनि यही नेपालभित्रकै त हो नि।’

आफ्नो ठाउँको जनप्रतिनिधि देशको सर्वोच्च कार्यकारी पदमा पुग्दा अलिक बढी नै अपेक्षा हुनु स्वाभाविकसमेत भएको ठान्छन्, स्थानीय शिक्षक दीपक खड्का। ‘आफ्नो ठाउँको मान्छे प्रधानमन्त्री हुँदा विकासले बढी गति लेओस् भन्ने त सबैको चाहना हुन्छ नि’ उनले भने, ‘देशको परनिर्भरता कम गर्दै आर्थिक विकासको गतिमा उनले देशलाई डोर्‍याउनुपर्छ।’ थप विकासका योजना भन्दा पनि दमकमा सुरु भएका र हुने भनिएका बृहत् योजनाहरु कार्यान्वयन भए दमक र झापाकै विकासले फड्को मार्ने उनले बताए।

दमकमा दमक क्लिन ग्रीन औद्योगिक पार्क, संसारकै अग्लो बुद्ध मूर्ति सहितको पार्क, दमक भ्युटावर, बृहत् सभागृह जस्ता योजनाहरु शुरुवाती चरणमा छन् । यि मध्ये सवै योजनामा राष्ट्रिय बजेट मात्र अपर्याप्त हुने हुँदा विदेशी दातृनिकायहरुसँग समेत समन्वय गरी योजनालाई पूर्णता दिनुपर्ने बताउँछन्, झापा क्षेत्र ५ मै पर्ने कमल गाउँपालिका–६ का लीलाराज बराल।

दमकमा सुरु भएका योजनाहरु पूरा भएमा कमल गाउँपालिकासहित झापा पनि फाइदा लिन सक्ने उनको भनाइ छ। ‘धेरै ठूलाठूला योजनाहरु थप्नुभन्दा पनि सुरु भएका र हुन लागेकाहरुलाई पूरा गर्नुपर्छ’ उनले भने,‘यी योजनाहरु पूरा भए युवाहरु बिदेशिने क्रममा पनि कमी आउन सक्छ।’

किसान र मजदुरहरुले पनि ओलीलाई सबैले गरी खान सक्ने गरी काम गर्न आग्रह गरेका छन्। दमकमा सिटी रिक्सा चलाउन सुशिला राजवंशी जो प्रधानमन्त्री भए पनि आफुहरुलाई केही फरक नपर्ने बताउँछन्। ‘तर अब फेरि ओली हुने अरे, आफ्नो ठाउँको मान्छे हुँदा चाँही केही गरी हाल्छन् कि जस्तो लाग्दो रहेछ’ उनले भनिन्–‘हामी जस्ता रिक्सावाला, ठेलावालाको कुरा कस्ले सुन्छ र भन्नु, जो होस हामीले पनि यहि गरि खाउँ यति भए पुग्छ।’

ओली किसान पृष्ठभूमिबाट आएका कारण किसानहरु पनि उनी प्रति आशावादी देखिएका छन् । झापा कमल गाउँपालिका–६ का किसान ख्याम आचार्य अब बन्ने ओली नेतृत्वको सरकारले किसानलाई थप आधुनिक र व्यवसायिक बनाउने कार्यक्रम ल्याउनु पर्ने सुझाव दिन्छन्। ‘यदि कृषि उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने हो भने किसानलाई व्यवसायीक बनाउनुपर्छ’ उनले भने–‘ओलीले पनि विगतमा खेती किसानी गरेकै हुन्, किसान र कृषिको महत्व बुझेरै काम गर्छन् भन्ने लागेको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.