|

काठमाडौं : युवा स्टार अनमोल केसी अभिनित फिल्म 'कृ'ले प्रदर्शनको छैटौँ दिनमै ५ करोड बढी आम्दानी गरेको छ। शुक्रबारबाट प्रदर्शनमा आएको यस फिल्मले निकै राम्रो व्यापार गरिरहेको छ। लगभग २ वर्षपछि पर्दामा फर्किएका अनमोलको क्रेज पनि हलमा राम्रै देखिएको छ।

यसैबीच बिहीबार राजधानीमा पत्रकारसँग भेटघाट गर्दै निर्माण युनिटले यस फिल्मको कलेक्सन रिपोर्ट सार्वजनिक गरेको छ। कार्यक्रममा निर्माता सुवास गिरीले फिल्मको ६ दिने कलेक्सन ५ करोड ४४ लाख रुपैयाँ रहेको बताएका छन्। उनका अनुसार यसबाट निर्माताले २ करोड ४० लाख रुपैयाँ सेयर प्राप्त गर्नेछन्। 

निर्माता गिरीका अनुसार फिल्म ‘कृ’ले देशभरबाट पहिलो दिन ९५ लाख ६५ हजार २४८ रुपैयाँ, दोस्रो दिन १ करोड ७७ लाख ६४ हजार ७६३ रुपैयाँ, तेस्रो दिन ६६ लाख ६८ हजार ७२५ रुपैयाँ, चौथो दिन ५६ लाख १९ हजार ९९३ रुपैयाँ, पाँचौँ दिन ८५ लाख ७९ हजार ५४५ रुपैयाँ र छैठौँ दिन ६२ लाख ९५ हजार ८६० रुपैयाँ कलेक्सन गर्न सफल भएको छ।  

यस फिल्मले १ करोड ३० लाख रुपैयाँ ओभरसिज राइट्स र ब्राण्डबाट पाइसकेको छ। ओभरसिज राइट्सबाट ८० लाख र ब्राण्डबाट ५० लाख रुपैयाँ गरी फिल्मले १ करोड ३० लाख रुपैयाँ हात पारेको हो। ६ दिनको कलेक्सन, ओभरसिज र ब्राण्डबाट आएको रकमबाट आफू सुरक्षित भइसकेको निर्माता गिरीले बताएका छन्। अब फिल्मले गर्ने व्यापार फिल्मका लागि नाफा हो।

ठूलो लागतमा निर्माण गरिएको भए पनि फिल्मले दर्शकको साथ पाएकाले लगानी सुरक्षित गर्न सफल भएको अर्का निर्माता भुवन केसीले बताए। यदि गुणस्तरीय फिल्म बनाउने हो भने लगानी सुरक्षित गर्न कुनै गाह्रो नभएको उनी बताउँछन्। त्यस्तै, निर्देशक सुरेन्द्र पौडेलले पनि फिल्मले पाएको सफलताबाट खुसी भएको बताए।  

कार्यक्रममा फिल्मकी नायिका अदीति बुढाथोकी पनि उपस्थित थिइन्। उनले पनि पहिलो फिल्मबाट नै यतिको सफलता पाएकोमा खुसी भएको अभिव्यक्ति दिइन्। फिल्मका मुख्य नायक अनमोल केसी भने उपस्थित थिएनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.