|
फाइल फोटो

काठमाडौं : महाशिवरात्रि मेलामा पशुपतिनाथ आएका साधु सन्तलाई बिहीबार बाटो खर्चसहित बिदाइ गरिएको छ। 

गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले बाटो खर्चसहित महाशिवरात्रि मेलामा आएका साधु सन्तहरूलाई बिदाइ गरेका हुन्। 

पशुपतिनाथ मन्दिरको मूल गेट अगाडि बिहीबार बिहान एक कार्यक्रम गरी उनीहरूलाई बिदाइ गरिएको हो। दिगम्बर साधुहरूलाई गुठी संस्थानले १ हजार ७५१ र कोषले १ हजार १०० रुपैयाँ, जमातीय साधुहरूलाई संस्थानले १ हजार ५५१ र कोषले ८०१, नाङ्गा साधुलाई गुठीले १ हजार ३५१ र कोषले ७०१, अवदूत महापुरुष साधुलाई गुठीले १ हजार १५१ र कोषले ५०१ रुपैयाँ नगद बाटो खर्चसहित बिदाइ गरेका हुन्।

साधु सन्तहरूलाई बिहीबार बिहानसम्मको खाना र आवासको समेत व्यवस्था गरिएको कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले जानकारी दिए।

साधु सन्तहरूलाई बाटो खर्च दिने काम गुठी संस्थानले मात्रै गर्दै आएकामा केही वर्षयतादेखि कोषले पनि केही खर्चको व्यवस्था गर्न थालेको हो। 

परापूर्वकालदेखि नै मेलामा आएका स्वदेशी तथा विदेशी साधु सन्तहरूलाई गुठी संस्थानले खाना, बस्न र बाटो खर्चको व्यवस्था गर्दै आएको छ। 

बिदाइका क्रममा कोषले साधु सन्तलाई रुद्राक्षको मालासमेत लगाइदिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.