यी हुन् ७ प्रदेशमा मुख्यमन्त्री, मन्त्री कोको बने?

|

काठमाडौं : मुलुकको ४१ औँ प्रधानमन्त्रीको जिम्मेवारी एमाले अध्यक्ष केपी शर्मा ओली बिहार समालेसँगै ७ वटै प्रदेशका प्रदेश प्रमुख पनि टुंगो लागि सकेको छ। प्रदेश ६ को मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाही नियुक्त भएसँगै ७ वटै प्रदेशमा सरकार गठनको प्रकिया अघि बढेको हो।

४ वटा प्रदेशले मन्त्रिपरिषद् गठन भइसकेको छ भने २ वटामा शुक्रबार र प्रदेश ७ मा शनिबार मुख्यमन्त्रीले शपथ लिने र मन्त्रिपरिषद् गठन गर्ने तयारी गरिएको छ।

३ वटा प्रदेशमा बिहीबार गठन भयो मन्त्रिपरिषद्

बिहीबार ३ वटा प्रदेशमा मन्त्रिपरिषद् गठन भएको छ। प्रदेश १, २ र ५ मा बिहीबार मन्त्रिपरिषद् गठन भएको हो। यी ३ वटै प्रदेशमा मुख्यमन्त्रीले शुक्रबार शपथ लिएसँगै मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

प्रदेश १

प्रदेश १ को मुख्यमन्त्रीको रूपमा एमाले संसदीय दलका नेता शेरधन राईले शपथ लिइसकेका छन्। शुक्रबार राईले शपथ लिएपछि ५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ।

यसअनुसार एमालेका हिक्मत कार्कीलाई आन्तरिक मामिला तथा कानुन, माओवादी केन्द्रका ईन्दबहादुर आङ्बोलाई आर्थिक मामिला तथा योजना मन्त्रालयमा नियुक्त गरिएको छ।

त्यस्तै, एमालेका जगदीश कुसियतलाई उद्योग, पर्यटन तथा वातावरण र जीवन घिमिरेलाई सामाजिक विकासमन्त्री नियुक्त गरिएको छ।

प्रदेश २

प्रदेश २ मा संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता लालबाबु राउतले शपथ लिएका छन्। उनले ३ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्।

फोरमका विजय यादव आर्थिक मामिला तथा योजनामन्त्री बनेका छन् भने राष्ट्रिय जनाता पार्टी नेपाल (राजपा)का संसदीय दलका नेता जितेन्द्र सोनल भौतिक पूर्वाधारमन्त्री बनेका छन्।

प्रदेश ५

प्रदेश ५ मा एमाले संसदीय दलका नेता शंकर पोख्रेलले मुख्यमन्त्री नियुक्त भई शपथ लिएका छन्। बिहीबार उनको शपथसँगै उनले पहिलो चरणमा ३ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन्।

माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी गृह (आन्तरिक मामिला तथा कानुन) र एमालेका बैजनाथ चौधरी भौतिक पूर्वाधार विकासमन्त्री बनेका छन्।

शुक्रबार प्रदेश ४ र ६ को मन्त्रिपरिषद्

प्रदेश ४ को मन्त्रिपरिषद् गठन शुक्रबार हुने भएको छ। यस प्रदेशमा मुख्यमन्त्री नियुक्त भइसकेका छन्।

मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले शुक्रबार शपथ लिएसँगै मन्त्रिपरिषद् विस्तार गर्ने कार्यक्रम रहेको छ।

प्रदेश ६ मुख्यमन्त्री नियुक्ति बिहीबार मात्रै हुने भएको छ। मुख्यमन्त्रीमा नियुक्त भएका माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले शुक्रबार शपथ लिने तयारी भएको छ। उनले शुक्रबार नै पहिलो चरणको मन्त्रिपरिषद् गठन गर्नेछन्।

प्रदेश ७

प्रदेश ७ को मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता त्रिलोचन भट्ट नियुक्त भएका छन्। उनले शनिबार मात्रै शपथ लिने कार्यतालिका तय भएको छ। शपथ लिएसँगै उनले पनि पहिलो चरणको मन्त्रिपरिषद् पनि गठन गर्नेछन्।

प्रदेश ३ मा पहिलो मन्त्रिपरिषद्

प्रदेश ३ ले भने प्रदेशसभाहरूमध्ये सबैभन्दा पहिले मन्त्रिपरिषद् गठन गरेको हो। यस प्रदेशमा मुख्यमन्त्री एमाले संसदीय दलका नेता डोरमणि पौडेल रहेका छन्। उनले ३ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्।

उनको मन्त्रिपरिषद्‍मा माओवादीका शालिकराम जम्कट्टेल आन्तरिक मामिला तथा कानुनमन्त्री र एमालेका  केशव स्थापित भौतिक योजना तथा निर्माणमन्त्री रहेका छन्।

यो पनि पढ्नुस्

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.