देउवाको राजीनामाअघि नै ओली प्रधानमन्त्री

|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको खबर आउँदा केही समय धेरैलाई पत्यार लागेन। प्रधानमन्त्री शेरबहादुर देउवाले देशवासीको नाममा सम्बोधन गरेर बुधबार नै राजीनामा दिने चर्चा थियो तर अोली आजै प्रधानमन्त्री होलान् भन्ने अनुमान भने कमैले गरेका थिए।

देउवाले बिहीबार बिहान मात्र देशवासीको नाममा सम्बोधन गरे। देउवाले देशवासीको नाममा सम्बोधन गर्दै गर्दा ओली भने माओवादीको समर्थनमा बहुमतका साथ प्रधानमन्त्रीमा आफ्नो दाबी प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीको सरकारी निवास शीतल निवास पुगे। त्यसलगत्तै विभिन्न सञ्चार माध्ययमा ओली प्रधानमन्त्रीमा नियुक्त भएको समाचार आयो। यो खरबले धेरैलाई अचम्भित पार्‍यो।

बिहान १० बजे नै ओली नेकपा माओवादी केन्द्रका नेतासहित राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए। त्यसपछि राष्ट्रपतिको कार्यालयले ओली प्रधानमन्त्रीको दाबीका साथ राष्ट्रपतिको कार्यालय आएको विज्ञप्ति जारी गर्‍यो। त्यसपछि ओली तत्काल पार्टी कार्यालय धुम्बाराही पुगे। त्यसपछि त्यहाँ एमाले संसदीय दलको बैठक बस्यो र ओली संसदीय दलको नेतामा चयन भए।

देउवाको राजीनामाअघि नै ओली प्रधानमन्त्री

बिहीबार बिहान प्रधानमन्त्री देउवाले देशवासीको नाममा सम्बोधन गरेर आफ्नो राजीनामा घोषणा गर्दै गर्दा ओली प्रधानमन्त्री भएको समाचार बाहिरियो। राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको खबर बाहिरिँदा देउवाले भने प्रधानमन्त्रीबाट राजीनामा नै दिएका थिए। त्यसपछि राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्ति पनि देउवाको राजीनामा भन्दा पहिला ओलीको नियुक्तिको आयो।

पहिलाको विज्ञप्तिमा मिति त्रुटि गरेको राष्ट्रपतिको कार्यालयले सच्याएर त्यो विज्ञप्ति प्रकाशित गर्दासमेत देउवाको राजीनामाको विज्ञप्ति आएको थिएन। ओली प्रधानमन्त्रीमा नियुक्त भएको विज्ञप्ति राष्ट्रपतिको कार्यालयले मध्याह्न १२: ३४ मा आएको थियो। तर देउवाले राजीनामा दिएको बारे भने १:३९ मा मात्र राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गरेको थियो।

प्रतिनिधिसभा सदस्यको शपथ नलिई प्रधानमन्त्रीको शपथ!

झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा निर्वाचित ओलीले प्रतिनिधिसभा सदस्यको शपथ नै नलिई प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिए। निर्वाचन आयोगले बुधबार साँझ प्रतिनिधिसभा निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक गरे पनि शपथ भने ग्रहण गराएको थिएन। ओली प्रतिनिधिसभाको शपथ नै नलिई प्रधानमन्त्रीमा नियुक्त भए।

देउवाले प्रधानमन्त्रीबाट राजीनामा नै नदिई हतारमा राष्ट्रपति कार्यालय पुगेका ओलीले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गरेकै छैनन्। यस विषयले बिहीबार दिनभर सामाजिक सञ्जालमा राम्रै स्थान पायो। 

सामाजिक सञ्जालमा विरोध आउँदै गर्दा पनि खासै प्रभाव भने परेन। उनी निर्वाचित भएको प्रमाणपत्र निर्वाचन आयोगले दिइसकेका कारण प्रधानमन्त्रीमा निर्वाचित गर्न सक्ने व्यवस्था छ। तर संविधानमा व्यवस्था भएअनुसार सांसदको पहिलो बैठक बस्नचाहिँ अनिवार्य शपथ ग्रहण गर्नुपर्छ। यस्तै, संविधानको धारा ७६ को उपधारा ४ मा उल्लेख भएअनुसार अब ओलीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेछ।

यस्तै, राष्ट्रपतिको कार्यालयले हतारमा प्रधानमन्त्री नियुक्तिको विज्ञप्ति जारी गर्ने क्रममा मितिमै त्रुटि गरेको थियो। राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा २०७४ फागुन ३ गते हुनुपर्नेमा त्रुटि भएको थियो। राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुँडालको हस्ताक्षर रहेको १२:३४ मा मिडियामा पठाइएको विज्ञप्तिमा २०७३ साल फागुन ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको उल्लेख छ।

देउवाप्रति पूर्व डीआईजी सिलवालको आक्रोश

देउवा प्रधानमन्त्रीबाट बाहिरँदै गर्दा पूर्व डीआईजी तथा नेकपा एमालेका तर्फबाट ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद नवराज सिलवालले देउवाप्रति आक्रोश व्यक्त गरे। प्रहरीको फरार सूचीमा रहेका सिलवालले ट्विट गर्दै देउवाप्रति आक्रोश व्यक्त गरेका थिए। उनले 'कानुनको धज्जी उडाएर आफ्नो स्वार्थपूर्ति गर्न जे पनि गर्न तयार रहेको अधिनायकवादी पात्रको ज्यादतिबाट मुलुकले आज उन्मुक्ति पाएको छ' भन्दै उनले ट्विट गरेका थिए।

माओवादी तत्काल सरकारमा गएन

माओवादी केन्द्रले ओलीलाई प्रधानमन्त्री बनाउनका लागि समर्थन गरे पनि ओली नेतृत्वको सरकारमा भने तत्काल सहभागी नहुने निर्णय गर्‍यो। बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठकले सकारात्मक मोड नलिएपछि माओवादीले तत्काल सरकारमा सहभागी नहुने जनाएको थियो। माओवादीले जे पनि हुन सक्ने भन्दै तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको एक नेताले बताए। सैद्धान्तिक बहसमा कुरा नमिलेपछि माओवादी सरकार गठनमा सहभागी हुनबाट पछि हटेको थियो।

एमालेको मार्गदर्शनको रूपमा रहेको जनताको बहुदलीय जनवाद (जबज) र माओवादीको २१औँ शताब्दीको जनवादलाई पार्टी एकतापछिको महाधिवेशनमा लगेर टुंग्याउने यी दुई पार्टीले यसअघि नै सहमति गरेका थिए। तर एमालेले जबज छाड्न नमानेपछि र माओवादीको माओवादलाई स्वीकार्न नसकिने बताएपछि तत्काल एकता टरेको थियो।

माओवादीका एक नेताका अनुसार प्रचण्डले माओवादीको शीर्ष नेताको बैठकमा समेत तत्काल पार्टी एकता टरेको बताएका थिए। गत असोजदेखि नै पार्टी एकताका विषयमा छलफल हुँदै आएको थियो। मंसिरमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मत परिणाम आएपछि पनि धेरै पटक यी दुई दलको बैठक बस्यो। संघीय सरकार गठनका विषयमा पनि छलफल भयो तर सरकार गठनपछि माओवादीले कुनकुन मन्त्रालय पाउने भन्ने विषयमा हालसम्म छलफल नभएका कारण समस्या भएको माओवादीका एक नेताले बताए।

शपथपछि बल्खु, लैनचौर र चम्पादेवी पुगे ओली

ओलीले पद तथा गोपनीयताको शपथ लिएपछि लैनचौर पुगेर शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए। उनले शहीद स्मारकमा पुगेर शहीदप्रति पुष्पगुच्छाद्वारा श्रद्धाञ्जलि अर्पण गरे। उनीसँगै नवनियुक्त जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डित र महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापा पनि शहीदललाई श्रदाञ्जलि दिन लैनचौर पुगेका थिए।

यस्तै, बल्खु पुगेर उनले मदन भण्डारीको शालिकमा माल्यार्पण गरे। चम्पादेवी पुगेर कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गरे। ओली यी स्थानमा सधैँ विशेष अवसरमा पुग्ने गरेका छन्। ओलीले बिहीबार साँझ नै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर कार्यभार सम्हाल्ने उनको सचिवालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.