हेटौँडा : विन्दवासिनी मिडिया प्रालिद्वारा संचालित रेडियो थाहा संचार ९९.६ मेगाहर्जको १०औँ वार्षिकोत्सवको अवसरमा साताव्यापी कार्यक्रमअन्तर्गत ‘समकालीन राजनीति कति जनमुखी’ विषयक अन्तर्क्रिया गरिएको छ।
बिहीबार हेटौँडामा आयोजित कार्यक्रमका वक्ताहरूले समकालीन राजनीति धनमुखी हुँदै गएको बताए। जनताका लागि भन्दै प्रतिवद्धता गरेकाहरू नै जनमुखी हुन नसकेको उनीहरूको भनाइ थियो। अहिलेको राजनीति मनमुखी, धनमुखी भएको समेत उनीहरूले आरोप लगाए। कार्यक्रममा बोल्दै प्रा.डा. गोविन्दशरण उपाध्यायले अहिलेको राजनीति जनमुखी हुन सके देशले काँचुली फेर्ने दाबी गरे। उनले रूपचन्द्र विष्टलाई नेपालको दोस्रो बुद्धको संज्ञा दिँदै विष्टको दर्शनअनुसार गर्न अहिलेका राजनीतिज्ञलाई सुझाव दिए।
महाकवि लक्ष्मीप्रसाद देवकोटा, सन्त नेता कृष्णप्रसाद भट्टराई र रूपचन्द्र विष्ट त्रिमूर्ति रहेको भन्दै उनीहरूले आफ्नो निम्ति नभई जनताको हितमा राजनीति गरेको उनले बताए।
रेडियोकी अध्यक्ष अस्मिता सुमार्गीको अध्यक्षतामा भएको कार्यक्रममा रेडियोका संचालक अरुणराज सुमार्गी, संस्कृतिविद् रामचन्द्र आचार्य फुर्सदी, रूपचन्द्र विष्टका अनुयायी धर्मराज राजथला, राजनीतिज्ञ सीताराम वर्तौला, सुवर्णध्वज गोतामे, निरञ्जन अधिकारी, सुकदेव रायमाझी, भीमसेन पौडेल, विष्णुलाल श्रेष्ठलगायतका वक्ताहरूले रूपचन्द्र विष्टको जनमुखी राजनीतिबारे प्रकाश पारेका थिए।
कार्यक्रममा रेडियोले साप्ताहिक रूपमा रुपचन्द्र विष्टको बारेमा रेडियो कार्यक्रम उत्पादन गर्ने जानकारी गराइएको थियो।
रेडियोले शुक्रबार रक्तदान कार्यक्रम गर्दै छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।