|

काठमाडौं : नयाँ सरकारको गठन भएसँगै उद्योगी व्यवसायीले नयाँ सरकारले लिने स्थायित्व र समृद्धिको बाटो हेर्न चाहेको प्रतिक्रिया दिएका छन्। कहिले राजनीतिक मुद्धाको नाममा त कहिले अस्थिरताको नाममा आर्थिक मुद्दा ओझेलमा परेको अवस्थामा अब भने सरकारको सफलता वा असफलता आर्थिक मुद्दामै केन्द्रित हुने उद्योगी व्यवसायी बताउँछन्।

चुनावी घोषणापत्र सार्वजनिक क्रममै वर्षौंदेखि आफ्ना प्रतिनिधिमूलक संस्थाले उठाउँदै आएका कुरा दलका एजेण्डा बनेकामा खुसी भएका उनीहरू अब भने कार्यान्वयनमा जानेमा आशावादी छन्। देशले एउटा समस्याबाट भने मुक्ति पाएको प्रतिक्रिया उद्योगी व्यवसायीको छ। त्यो हो, यो सरकारको पालामा भएको निर्णय कार्यान्वयन गर्न त्यहीँ जानुस् वा म कति दिन बस्छुर र यस्तो काम गर्ने भन्ने मन्त्रीहरूको जवाफ।

नेपाल उद्योग परिसंघले बिहीबार एक विज्ञप्ति नै जारी गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारले अबको मूल बाटो आर्थिक रूपान्तरणको समात्नेमा आशावादी रहेको बताएको छ।

परिसंघका अध्यक्ष हरिभक्त शर्माले औद्योगिक क्रान्ति, पूर्वाधार विकास तथा सुशासनको पूर्ण प्रत्याभूति दिने अपेक्षा निजी क्षेत्रले राखेको बताए। 'अर्थतन्त्रलाई सबल र आत्मनिर्भर बनाउन आर्थिक एजेण्डालाई पहिलो प्राथमिकता दिँदै निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नेछ भन्नेमा हामी आशावादी छौँ', शर्माले भने।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका अध्यक्ष शैलेन्द्र गुरागाईं अब मन्त्रीहरू जिम्मेवार बन्न र उचित निर्णय गर्न बाध्य हुने बताउँछन्। 'यो निर्णय कार्यान्वयन हुनुपर्‍यो नि भनेर मन्त्रीकहाँ पुग्यो, झलनाथको पालामा भरतमोहनले गरेको निर्णय कार्यान्वयन गर्न त्यहीँ जानोस् भन्ने जवाफ पनि आए, अब यस्तो नहोला', गुरागाईंले भने।

उनले विभिन्न वहानामा फाइल अड्काउने र कमिसन खोज्ने खेल पनि अब बन्द हुनेमा निजी क्षेत्र आशावादी भएको प्रतिक्रिया दिए। निजी क्षेत्र अब नीतिगत स्थायित्व कायम हुनेमा आशावादी रहेको छ। 

नीतिगत स्थायित्व कायम नभएकै कारण लगानीका अवसर गुमेका र अब त्यस्तो नहुने उनीहरूको प्रतिक्रिया छ। 'अब नीतिगत स्थायित्व कायम हुनेमा हामी आशावादी छौँ, नीतिगत स्थायित्व दिनु पनि पर्‍यो, सरकार गम्भीर भएर स्थायित्व कायम गर्नतर्फ र निजी क्षेत्रले पनि दीर्घकालीन सोचका साथ सुझाव दिन सक्नुपर्छ', संघका अध्यक्ष शर्माले भने। 

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले नीतिगत स्थायित्व कायम गर्न सक्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताको लगानी बढ्ने बताउँदै अबको सरकारबाट नीतिगत स्थायित्व चाहेको प्रतिक्रिया दिए। 'अब नेपालमा लगानीको वातावरण बन्छ भन्नेमा हामी विश्‍वस्त छौँ', ढकालले भने, 'यसका लागि नीतिगत स्थायित्व कायम हुन सक्यो भने नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीको लागि हव हुनेछ।'

अबको समय नेपालको लगानी बढाउने समय भएकाले सरकारले यस्ता विषयलाई ध्यान दिनुपर्ने ढकालको प्रतिक्रिया छ। 'हामी अहिले आयातमा केन्द्रित भएका छौँ, अब देशभित्रको उत्पादन वृद्धि भई आयातलाई प्रतिस्थापन र निर्यात वृद्धि गर्न सहयोग पुग्नेछ', ढकालले भने।

नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले ओली नेतृत्वको सरकार ५ वर्षे स्थिर सरकार भएकोले विकासमा नेपाले फड्को मार्ने प्रतिक्रया दिए। 'अब स्थिर सरकार रहनेछ, सरकार पक्ष र विपक्ष दुवैलाई काम गर्ने अवसर जुटेको छ, यसले विकासको मूल फुटाउनेछ', मल्लले भने। 

महासंघका उपाध्यक्ष ढकाल सरकारले चाहेको काम पूरा हुन सक्ने भएकाले सरकारको लागि काम देखाउने अवसर भएको बताउँछन्। 'हिजो मैले यस्तो काम गर्न चाहेँ तर सहयोग पाइनँ भन्ने अवसर सरकार सञ्चालन गर्ने दलहरूले पाएका थिए, यो सरकारलाई चाहेअनुसार काम गर्न गाह्रो हुनेछैन', ढकालले भने। 
 

सरकारले यस्तो काम गरोस् : हरिभक्त शर्मा
परिसंघका अध्यक्ष शर्मा सरकारले जनताले महसुस गर्ने गरी केही काम गर्न आवश्‍यक रहेको बताए। 'अब सरकारले जनताले महसुस नै गर्ने गरी केही काम गर्नुपर्नेछ, हिजोका दिनमा सिस्टममा शिशुपना दलका नेताहरूले देखाए, अब यस्तो गर्न उनीहरूले पाउनेछैनन्', शर्माले भने।  उनले अबको ९ महिना विस्तार गर्न थालिएको बाटोलाई पूर्णता दिन सक्दा मात्रै जनता सरकारप्रति गुमेको मेटिने बताए। 'गर्नुपर्ने काम धेरै छन्। अबको ९ महिनामा कम्तीमा मुग्लिनदेखि नारायणगढसम्मको बाटो र कलंकीदेखि नौविसेसम्मको बाटो निर्माण सम्पन्न भयो भने पनि जनताको विश्‍वास बढ्नेछ', शर्माले भने।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.