|

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणको पूर्वसन्ध्यामा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत भारत जाँदैछन्। परराष्ट्रमन्त्री डा. महतले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको निम्तोमा भदौ २६ देखि २८ गतेसम्म भारतको औपचारिक भ्रमण गर्न लागेका हुन्। प्रधानमन्त्री प्रचण्ड समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा चारदिने भ्रमणका लागि भदौ ३० गते त्यसतर्फ प्रस्थान गर्दैछन्। प्रधानमन्त्रीको भ्रमणअघि हुन लागेको परराष्ट्रमन्त्री महतको यो भ्रमणले 'दुई देशबीचको सम्बन्ध थप सुदृढ गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने' सरकारको दावी छ। यसैसन्दर्भमा थाहाखबरका शिशिर ढकालले परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँग भारत भ्रमणका एजेन्डा, छिमेकी मुलुकहरुसँगको कुटनीतिक सम्बन्ध, प्रधानमन्त्रीले मोदीलाई पठाएको पत्र र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण लगायतका विषयमा कुराकानी गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पठाएको पत्र किन विवादित बन्यो? के छ त्यो पत्रमा?

बाहिर चर्चा गरिए जस्तो र विवादित बनाइएजस्तो प्रधानमन्त्रीको पत्रमा केही पनि छैन। अनावश्यक रुपमा त्यसलाई विवादित बनाउने काम भयो। सदनमा विपक्षीले चर्चा गरेजस्तो आन्तरिक मामिलामा बाह्य हस्तक्षेप निम्त्याउने कुरा पत्रमा छँदैछैन। त्यसलाई अनावश्यक रुपमा बलियो प्रमाणविना विवादित बनाउने काम भयो।

पत्र परराष्ट्र मन्त्रालयमा छ, भोलि एमालेका परराष्ट्र मन्त्री भएमा हेर्न सक्छन् भनेर उपप्रधानमन्त्री विमलेन्द्र निधिले भन्नुभएको छ। पत्रमा के छ तपाईँलाई त जानकारी होला नि?

प्रधानमन्त्रीले भारतीय समकक्षीलाई पठाएको पत्रमा सम्बन्ध सुदृढीकरणको लागि विशेष दूत पठाएको कुरा उल्लेख छ। दुई देशबीचको सम्बन्धलाई उच्च तहमा विस्तार गर्न त्यसले सघाउ पुर्‍याउने कुरा बाहेक अन्य विषय समेटिएको छैन। प्रधानमन्त्रीले माफी मागेको र संविधान संशोधनको विषय पत्रमा समेटिएको कुरा निराधार हो। पत्र मन्त्रालयमा सुरक्षित छ। पछि उहाँहरुले हेर्न सक्नुहुन्छ। सरकारले भारतलाई मात्र होइन, चीनलाइ पनि त्यही आशयको पत्र पठाएको छ।

प्रधानमन्त्री भारत जानु ३ दिनअघि तपाईँ किन भारत जान लाग्नुभएको?

प्रधानमन्त्रीले भारतको भ्रमण गर्न लाग्नुभएको छ। राष्ट्रिय स्वार्थमा केन्द्रित रही उच्च तहमा साझा छलफलको विषय के हुन सक्छ भनेर तय गर्न र आवश्यक प्रबन्ध मिलाउन म तीन दिन अगावै भारत जान लागेको हुँ।

भारतमा राजदूत नभएका कारण आवश्यक तयारीका लागि तपाईँ आफै जान लाग्नु भएको हो?

अवश्य पनि। राजदूत नहुँदा उच्च तहमा 'कम्युनिकेसन ग्याप' भएको छ। प्रधानमन्त्रीको भ्रमण भएकाले त्यसको सघन तयारी पनि गर्नुपर्‍यो। राजदूत नियुक्ति हुन नसक्दा त्यसमा केही कठिनाइ भएकाले पनि म अलि छिटो जान लागेको हुँ।

एमाले नेतृत्वको सरकारले सिफारिस गरेका राजदूत फिर्ता बोलाउनुको कारण के हो?

राजदूत भनेको सम्बन्धित राष्ट्रमा सरकारको नीति कार्यान्वयन गर्ने व्यक्ति हो। नियुक्तिको विषय मन्त्रिपरिषद्ले निर्णय गर्ने हो। सरकारले जे गर्दा आफ्ना नीति कार्यान्वयन गर्न सहज हुन्छ, त्यही गर्ने हो। हिजो उहाँहरुले नियुक्त गर्दा पनि हामीसँग परामर्श गर्नुभएको थिएन। राजनीतिक नियुक्तिको विषय भएकाले सरकार परिवर्तन भएसँगै राजदूत परिवर्तन हुनु स्वभाविक हो।

प्रधानमन्त्रीको भारत भ्रमणलाई विवादित नबनाउन के तयारी छ?

प्रधानमन्त्रीको भारत भ्रमण विवादित हुने कुरै छैन। भ्रमणको उद्देश्य तिक्तता हटाएर नेपाल भारत सम्बधलाई उच्च तहमा विस्तार गर्दै थप सुदृढ बनाउनु हो। राष्ट्रिय हितलाई मध्यनजर गर्दै विभिन्न आयोजना निर्माणलाई तीव्रता दिने विषयमा छलफल हुने छ। हामी राष्ट्रिय प्राथामिकता र हितमा सजग छौँ।

आयोजना निर्माणका विषयमा समेत कुरा हुने भन्नुभयो। फास्ट ट्र्याकको विषयमा पनि छलफल हुन्छ?

फास्ट ट्र्याक निर्माणको विषयमा अहिले छलफल हुँदैन। सडक निर्माण महत्वपूर्ण कुरा हो। कसको सहयोग लिएर कहिलेसम्म सडक निर्माण गर्ने भन्ने कुरा सरकारले छलफलपछि टुंगो लगाउँछ। भारतसँग त्यस विषयमा सम्झौता हुँदैन।

भारत सरकारले प्रधानमन्त्रीलाई राजकीय सम्मान दिन लागेको हो?

अवश्य पनि। भारत सरकारले प्रधानमन्त्रीको भ्रमणलाई विशेष चासो दिएको छ। राजकीय सम्मान दिने तयारी पनि गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रधानमन्त्री पुष्पकमल दाहाललाई रिसिभ गर्न आउने बताउनुभएको छ। यसले पनि कति महत्व दिएको छ भन्ने प्रष्ट हुन्छ।

यो गठबन्धन बन्दा छिमेकसँगको सम्बन्ध असन्तुलित बन्यो भन्ने तपाइँहरुको आरोप थियो। सन्तुलित बनाउन तपाईँले के गर्नुभयो?

परराष्ट्र नीतिमा मुख्य कुरा भनेको राष्ट्रिय हितका आधारमा सम्बन्ध निर्माण गर्नु हो। राष्ट्रिय लक्ष्यका आधारमा सम्बन्ध अघि बढाउनुपर्छ। सम्बन्ध कसरी अघि बढाउने भन्ने आ आफ्नो तरिका हुन्छ। तर पूर्ववती सरकारले जुन तरिका अपनायो, त्यसले राष्ट्रिय लक्ष्य प्राप्त गर्न सहयोग गर्दैन ।हामीले दुबै देशसँग सन्तुलित सम्बन्ध काय गर्न सफल भयौँ। त्यसको उदाहरण भनेको दुबै देशमा विशेष दूत पठाएर उच्च तहमा सम्बन्ध कायम गर्न सफल हुनु हो।

प्रधानमन्त्रीले भारतसँगको सम्बन्ध सुदृढ भएको भन्नुभएको छ। त्यसको आधार के  हो?

विगतमा तिक्त रहेको नेपाल भारतको सम्बन्धमा सुमधुर बनाउँदै उच्च तहमा विस्तार गर्न सरकार सफल भएको छ। प्रधानमन्त्रीलाई विशेष महत्वका साथ भ्रमणमा बोलाउनु पनि भारतसँगको सम्बन्ध थप सुदृढ भएको आधार हो।

परराष्ट्र नीतिको कुरा गर्दा 'चीनसँग निकटता, भारतसँग सर्तकता' को सिद्धान्तमा हुनुपर्ने चर्चा पनि छ। सरकार कसरी अघि बढ्छ?

पराष्ट्र नीतिमा कोहीप्रति निकटता वा कसैप्रति सतर्कता भन्ने हुँदैन। कुटनीतिमा निकटताको अर्थ विश्वास हो। सरकार भारतसँग सतर्क वा चीनसँग निकट हुँदैन। राष्ट्रको सर्वव्यापी हितका आधारमा दुबै छिमेकी मुलुकसँग सम्बन्ध कायम गर्छ। हामी दुई देशकोबीचमा छौं। छिमेकीको अहित हुने क्रियाकलाप हाम्रो भूमिबाट हुन नदिने, विकासका लागि दुबै राष्ट्रबाट लाभ लिने सरकारको नीति छ।

नेपालमा सरकार फेरिएसँगै परराष्ट्र सम्बन्धको चर्चा हुन्छ। स्थायी परराष्ट्र नीति किन बन्न सकिरहेको छैन?

जोस र आवेशमा आएर कुटनीतिक सम्बन्धमा आँच पुर्‍याउने क्रियाकलाप राजनीतिक दलबाट हुने गरेको छ। जिम्मेवार नेताहरुबाटै कमजोर कुटनीतिक व्यवहार हुने गरेकाले पनि स्थायी परराष्ट्र नीतिको आवश्यकता सरकारले महसुस गरेको छ। सन्तुलित कुटनीतिका लागि स्थायी परराष्ट्र नीति बनाउन विज्ञसँगको परामर्शमा सरकारले काम अघि बढाउने छ।

नेपाल र भारतबीच भएका सन्धि सम्झौता पुनरावलोकन गर्न यसअघिको सरकारले प्रबुद्ध समूह बनाएको थियो। त्यसले निरन्तरता पाउँछ कि पाउँदैन?

सन्धि सम्झौता पुनरावलोकन गर्न  विगतको सरकारले बनाएको प्रबुद्ध व्यक्तिहरुको समूहले निरन्तरता पाउँछ। त्यसले राम्रो नतिजा दिन्छ भन्ने हाम्रो अपेक्षा छ। सन्धि सम्झौता पुनरावलोकनका लागि त्यसले वृहत अध्ययन गरी प्रतिवेदन छिट्टै पेश गर्ला।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण रद्द भएको चर्चा छ। के हो?

तय नै नभएको भ्रमण स्थगित भएको भन्न मिल्दैन। उच्च तहको भ्रमण व्यस्तता र अनुकूलताले निर्धारण गर्छ। अहिल्यै उहाँको भ्रमण स्थगित भयो भन्न मिल्दैन। उहाँले नेपाल भ्रमणको इच्छा व्यक्त गर्नुभएको छ। सरकारसँग भएका समझदारी कार्यान्वयनका लागि हामीले पनि प्रतिवद्धता जनाएका छौँ। उहाँले नेपाल भ्रमण आफ्नो अनुकूलतामा गर्नुहुनेछ। सरकारले भ्रमणको आवश्यक कुटनीतिक तयारी  गर्दैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.