|

चितवन : प्रेम दिवसको अवसर पारेर चितवनको रत्ननगरस्थित सौराहामा सञ्चालन गरिएको १२औं सौराहा खाना महोत्सव सम्पन्न भएको छ। पाँच दिनसम्म सञ्चालन गरिएको सौराहा फुड फेष्टिवलकरिब एक लाख दर्शकले अवलोकन गरेको र झण्डै ५० लाख रुपैयाँ कारोबार भएको अनुमान आयोजकले गरेको छ। 

रेष्टुरेष्ट एण्ड बार एसोसिएसन नेपाल (क्षेत्रीय रेवान) र रेवान महिला समूह चितवनको आयोजनामा शुरु महोत्सवको सहआयोजकमा क्षेत्रीय होटल संघ, युनाइटेड हात्ती सञ्चालन सहकारी, सौराहा पर्यटन व्यवसायी समूह र साना पर्यटन व्यवसायी समूह रहेको थियो। 

महोत्सवमा आउने पर्यटकलाई रेवानमा आबद्ध होटल तथा रेष्टुरेष्टहरुमा खान र बस्नका लागि १५ प्रतिशत छुट दिइएको महोत्सव संयोजक कपिल रेग्मीले बताए । रेवानका निवर्तमान अध्यक्ष लालबहादुर भट्ट,ले खाना महोत्सवले यो मौसममा सौराहामा पर्यटक आगमनमा वृद्धि गरेको जनाए। 

महोत्सव समापनमा उत्कृष्ट काम गर्ने पर्यटन व्यावसायीहरु सुवासचन्द्र गौतम, ईन्द्रराज चौधरी, राजेश तामाङ, दलबहादुर चौधरी र सम्झना नेपाललाई दोसल्ला ओढाएर कदरपत्र सहित सम्मान गरिएको थियो। 

कार्यक्रममा वेटर रेस प्रतियोगिता, प्रेमपत्र लेखन प्रतियोगिता, तेक्वान्दो प्रतियोगिता, महिला वीच म्युजिकल चेयर, बालबालिका बीच बेलुन फुटाउने प्रतियोगिता, उत्कृष्ट खाना प्रतियोगिता, घैला श्रृंगार प्रतियोगिता लगायत कार्यक्रम भएको प्रचार संयोजक सूर्य रिमालले बताए। 

महोत्सवमा कलाकारहरु प्रमोद खरेल, प्रजापति पराजुली, पूर्णकला बीसी, कमल खत्री लगायतको प्रस्तुतिमा दर्शकले मनोरञ्जन लिएका थिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.