|

  • रमेश रावल/धर्मराज जीसी-

कालीकोट : एमाले र माओवादी केन्द्रको गठबन्धनका तर्फबाट प्रदेश ६ को मुख्यमन्त्री बनेका छन्, महेन्द्रबहादुर शाही। 

वि. सं. २०३३ माघ १५ गते कालीकोट जिल्लाको पचालझरना गाउँपालिका (साविकको नानिकोट गाविस– ८) मा मध्यमवर्गीय परिवारमा जन्मिएका शाहीका बुबाको नाम लालबहादुर शाही र आमाको नाम रनकौडा शाही हो। उनका श्रीमती, २ छोरी र १ छोरा छन्। उनी २ वर्षकै हुँदा उनका बुबाको मृत्यु भएको थियो। 

राजनीतिक यात्रा, शिक्षा र अनुभव

२०५२ सालमा सुरु भएको माओवादी सशस्त्र जनयुद्धको सुरुदेखि नै उनी भूमिगत भएका थिए। उनले एसएलसीसम्म अध्ययन गरेका छन्।

हाल नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य रहेका शाही यस अगाडि नेपाल सरकारको ऊर्जामन्त्रीसमेत बनिसकेका छन्।

२०७० सालको संविधानसभा निर्वाचनमा कालीकोट क्षेत्र नम्बर १ बाट विजयी भएका शाही वि. सं. २०७४ मा भएको निर्वाचनमा कालीकोट प्रदेशसभा ‘ख’बाट प्रदेशसभा सांसदमा निर्वाचित भएका हुन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता गराएर चर्चामा आएका मुख्यमन्त्री शाही माओवादीको जनमुक्ति सेनाका कमान्डरसमेत थिए।

आफूलाई पढाउने शिक्षकहरूको सल्लाहअनुसार उनले वि. सं. २०४८ मा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिए। पार्टी सदस्यता लिएपछि उनी अर्धभूमिगत रूपमा गोप्य सैन्य तालिममा सहभागी हुँदै युद्धको तयारीमा जुट्न थाले। 

२०४८ सालमा नेकपा मसालबाट आधिकारिक राजनीतिक यात्रा सुरु गरेका शाहीविरुद्ध २०४९ सालमा प्रहरी वारेन्ट जारी भएको थियो।

२०५२ बाट भूमिगत र सशस्त्र जनयुद्धमा सामेल भएका शाही २०५३ सालमा मध्यमाञ्चलको गुरिल्ला गठनमा सहभागी भएसँगै लडाकु जीवनमा प्रवेश।

सुरुमा वडा कमाण्डर, स्क्वाड कमाण्डर, प्लाटुन कमाण्डर, कम्पनी कमाण्डर, बटालियन कमाण्डर, ब्रिगेड कमाण्डर हुँदै डिभिजन कमाण्डरसम्मको नेतृत्व सम्हालेका शाही २०७० को संविधाननसभा निर्वाचनमा कालीकोट १ बाट प्रत्यक्ष निर्वाचित संविधाननसभा सदस्य बने।

शाही २०७४ निर्वाचनमा कालीकोट प्रदेशसभा ‘ख’बाट प्रदेशसभा सांसदमा निर्वाचित भएका हुन्।

जनयुद्धका कुशल कमाण्डर 
पार्टीभित्र इमान्दार नेताको छवि बनाएका शाही माओवादीका पुर्व लडाकू कमान्डर हुन्। कालीकोटमा युद्धकालमा माओवादी संगठन विस्तारमा राम्रै योगदान गरेका शाही पार्टीमा ‘प्रज्वल’ उपनामले चिनिन्छन्।

२०५२ सालमा जनयुद्ध सुरु भएदेखि नै जनसेनामा आवद्ध शाहीले कर्णाली अञ्चलको पहिलो छापामार दलको सदस्यको भूमिकाबाट भूमिगत जीवनको सुरुवात गरेका हुन्। सुरुमा ५ जनाको सैन्य टिममा उनी एक सदस्य थिए। त्यसको केही समयपछि नै उनले कालीकोट जिल्लाको सैन्य इन्चार्जको भूमिका पाए।

आफूले पाएको भूमिकालाई पार्टीमा अवसरको रूपमा लिने शाहीले त्यसपछिका विभिन्न मोर्चा हुँदै पार्टीको मध्य तथा सुदूरपश्चिममा हुने जुनसुकै कारवाहीको पनि नेतृत्व गरे।

पश्चिम नेपालमा बुटवलदेखि दार्चुलासम्म भएका फौजी कारवाहीमा उनले नेतृत्वदायी भूमिका निर्वाह गर्दै गए। सेनाको हरेक फर्मेसनमा कमाण्डरको भूमिका निर्वाह गर्न सफल भए। सुरुमा वार्ड कमाण्डर, स्क्वाड कमाण्डर, प्लाटुन कमाण्डर, कम्पनी कमाण्डर, बटालियन कमाण्डर, ब्रिगेड कमाण्डर हुँदै डिभिजन कमाण्डरसम्मको नेतृत्व गर्न सफल भए।

शाहीले सेना समायोजनको बेलामा राजनीतिक मोर्चालाई रोजे। सेना समायोजनपछि मूलधारको राजनीतिमा आएका शाहीले आफ्नो निर्वाचन क्षेत्र रहेको कालीकोट जिल्लाको संगठनलाई मजबुत बनाउनतिर ध्यान दिए। जिल्लामा संगठन मजबुत बनाएकै कारण संविधानसभाको दोस्रो निर्वाचनमा उनी विजयी हुन सफल भए।

शाहीले पूर्व जनमुक्ति सेनाका ६ नम्बर र ७ नम्बर डिभिजनको कमाण्डर भएर एक कुशल कमाण्डरको छवि बनाएका थिए। उनले माओवादी लडाइँका ठूलाठूला मोर्चामा निर्णायक भूमिका निर्वाह गरेका थिए।

मृत्युसँगको लुकामारी
कालीकोटको सान्नीघाटको पोदमारा आक्रमण हुँदै पिली आक्रमणसम्म दर्जनौँ मोर्चाहरूको नेतृत्व गरेका शाहीले राजनीतिक जिम्मेवारीहरूलाई पनि फौजी मोर्चाहरूकै तहमा निर्वाह गरिरहेको बताउँछन्।

जनयुद्धको समयमा प्रहरी, सेना र सरकारी सुराकीबाट थापिएका मृत्युका एम्बुसहरू छिचोलेर हिँड्नुपर्ने बाध्यता रहेको भन्दै शाही मृत्युलाई जनगणतन्त्रका लागि त्याग, समर्पण अभियानको एक हिस्सा ठानेर रातो कफन बाँधेको बताउँछन्।

शाहीलाई एकचोटि नानीकोट घरमा भेटघाटका बेला बसेको घर प्रहरीले घेरा हाल्यो। अन्य ३ जनासँगै घरभित्र बसिरहेको बेला मृत्यु वा जीवनको दोसाँधबाट उनी मुस्किलले जोगिए।

जनसेनाको एउटा टोली कन्चनपुरको बेलबारीमा थियो। त्यसको नेतृत्वकर्ता उनै शाही थिए। बेलबारीमा बसेको समयमा नेपाली सेनाले जनसेनालाई घेरा हालिसकेको रहेछ। नजिकै जम्काभेट भयो। हतियार उठाउने ठाउँ पनि बाँकी रहेन। त्यहाँ हात हालाहालको स्थिति सिर्जना भयो। आर्मीलाई छक्याउँदै उनी भाग्न सफल भए।

यस्ता दर्जनौँ घटनामा मरेर बाँचेको बताउँछन् शाही। युद्ध मोर्चामा सँगैका साथी कति ढले कति, शाही पनि कति पटक घाइते भए। उनको शरीरभर गोली र छर्राहरू अहिले पनि छन्। उनले ती गोली तथा छर्राहरू अझै निकाल्न सकेका छैनन्। 

संसदको अनुभव
महेन्द्रबहादुर शाही दोस्रो संविधानसभामा कालीकोटबाट प्रत्यक्ष निर्वाचित भएर संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन्। शाहीले देउवा नेतृत्वको सरकारमा ऊर्जामन्त्रीको जिम्मेवारी सम्हालेका थिए।  

संसदमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएर प्रस्तावकको रूपमा निकै चर्चामा रहेका थिए शाही।

शाहीले प्रदेशसभामा उम्मेदवारी दिँदा नै प्रदेश ६ को भावी मुख्यमन्त्रीको रूपमा आफूलाई अघि सारेका थिए।

मुख्यमन्त्री शाहीका चुनौती

मुख्यमन्त्रीमा चयन भएका शाहीका लागि विकास हिसाबले निकै पछाडि परेको प्रदेश ६ मा निकै चुनौती छन्। विपन्नताले भरिएको यस प्रदेशमा शाहीलाई यहाँको गरिबी, सडक संजाल विस्तार, भोकमरी जस्ता विषय चुनौती बनिरहेका छन्। शिक्षा र स्वास्थ्य पनि यहाँको ठूलो चुनौती हो।

पढ्नुहोस् :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.