|

सोलुखुम्बु : खुम्बुपासाङल्हमु गाउँपालिका– ३ को एक घरमा आगाली हुँदा जंगलमा फैलिएको आगो अझै नियन्त्रणबाहिर रहेको छ।

हिजो दिउँसो स्थानीय काल्देनवाङ्छु शेर्पाको घरमा आगलागी  हुँदा घर नजिकै रहेको ठाडोकोसी रेडपाण्डा समुदायिक वनमा आगो सल्किएको थियो। 

उक्त आगो अहिले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा लागिरहेको लुक्ला सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष नाम्गेल शेर्पाले जानकारी दिए। घरमा लागेको आगो नियन्त्रणमा आए पनि त्यहाँबाट सल्किएको आगो जंगलमा फैलिएपछि अहिलेसम्म नियन्त्रणमा आएको छैन।

स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल प्रहरी तथा पैदल यात्रीले आगो नियन्त्रणको प्रयास गरे पनि नियन्त्रणबाहिर रहेको सोलुखुम्बु प्रहरीले जनाएको छ। आगलागीले बस्ती भेट्ने सम्भावना कम भए पनि वन र वन्यजन्तुमा भने बढी नै क्षति भएको सेवा केन्द्रका अध्यक्ष शेर्पाले बताए। ‘हिजोदेखिको आगो अहिले पनि नियन्त्रणबाहिर छ, ठूलो पहरा भएकाले नियन्त्रण गर्न सक्ने सम्भावना छैन’, उनले भने, ‘राती १२ बजेसम्म नियन्त्रणको प्रयासपछि बस्ती भेट्ने सम्भावना टर्‍यो, जंगलको नियत्रण गर्न मुस्किल छ।’ 

ठाडोकोसीमा लागेको आगो करिब ३ घण्टाको पैदल यात्रापश्चात पुगिने सगरमाथा राष्ट्रिय निकुञ्जको जोर सल्लेसम्म देखिएको स्थानीय बताएको घटनास्थलबाट प्रहरी नायव निरीक्षक यादव केसीले जानकारी दिए। उनले भने, ‘नियन्त्रणको प्रयास भइरहेको छ तर नियन्त्रण गर्ने साधन नहुँदा समस्या भएको छ।’

बिहीबार दिउँसो सवा १ बजे आगलागी हुँदा स्थानीय काल्देनवाङ्छु शेर्पाको पूरै घर र घरमा रहेका सबै सामग्री जलेर नष्ट हुँदा करिब डेढ करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरी निरीक्षक केसीले जानकारी दिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.