|

काठमाडौं : राज्यसंरचनामा परिवर्तनसँगै स्वास्थ्य संरचनामा हुन लागेको फेरबदलले स्वास्थ्यमा जनशक्ति अभाव झनै बढ्ने भएको छ।

पुरानै संरचनामा स्वास्थ्याकर्मी अभाव भइरहेको अवस्थामा हरेक स्थानीय तहमा १५ शैय्याको अस्पताल बनाउने सरकारको योजनाका कारण यस क्षेत्रमा थप जनशक्ति चाहिएको हो। हाल देशभर ८ हजार भन्दाबढी स्वास्थ्यकर्मीको अभाव रहेको छ।

देशभर ३७ हजार बढी स्वास्थ्यकर्मीहरू रहे पनि जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न अप्ठ्यारो भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रत्येक स्थानीय तहले कम्तीमा १५ शय्‍याको अस्पताल स्थापना गर्ने सरकारको निर्णयले अझ धेरै स्वास्थ्यकर्मीको आवश्यकता पर्ने स्वास्थ्य मन्त्रालयका संघीयता कार्यान्वयन इकाईका प्रमुख मोहम्मद दाउदले बताए।

उनले भने, 'अहिलेकै अवस्थामा ८ हजारभन्दा धेरै स्वास्थ्यकर्मीको कमी छ। अझ हरेक स्थानीय तहमा १५ शैश्याको अस्पताल स्थापना गर्नका लागि त झन धेरै स्वास्थ्यकर्मीको आवश्यकता हुन्छ।'

हाल देशभर ३७ हजार स्वास्थ्यकर्मीमध्ये जम्मा २ हजार मात्र विशेषज्ञ चिकित्सक रहेका छन्। यही अवस्थामा अब बन्ने प्रत्येक स्थानीय तहको अस्पतालमा विशेषज्ञ चिकित्सक नपुग्ने इकाई प्रमुख दाउदले बताए।

स्थानीय तहमा स्थापना हुने अस्पतालहरूलाई समेत गरी हाल ४ हजार बढी विशेषज्ञ चिकित्सकको आवश्यकता रहेको इकाई प्रमुख दाउदको भनाइ छ।

उनले भने, 'हाल रहेका स्वास्थ्यकर्मीमध्ये जम्मा २ हजार मात्र विशेषज्ञ चिकित्सक रहेका छन्, जसले प्रत्येक स्थानीय तहमा बन्ने १५ शैय्याको अस्पतालमा विशेषज्ञ चिकित्सक पुर्‍याउन कठिन हुने देखिएको छ।'

हाल देशभरका ३ हजार ५०० सातवटा सरकारी स्वास्थ्य संस्थामा १ हजार २०० चिकित्सक कार्यरत रहेकामा चिकित्सकको अभावले बिरामीको उपचारमै समस्या आएपछि मन्त्रालयले पछिल्लो केही महिनायता करिब २०० को संख्यामा करारका चिकित्सक खटाएको छ।

अझ २ हजार स्वास्थ्य संस्था आवश्यक

सरकारले प्रत्यक स्थानिय तहमा १५ बेडको अस्पताल र प्रत्येक वडामा एउटा स्वास्थ्य संस्थाको स्थापना गर्ने निर्णय छ। तर हाल देशभर जम्मा ४ हजार स्वास्थ्य संस्था रहेको हुनाले अझै २ हजार स्वास्थ्य संस्थाको स्थापना गर्नुपर्ने समेत एकाइ प्रमुद दाउदले बताए।

उनले भने, 'प्रत्येक स्थानीय तहमा १५ बेडको अस्पताल र हरेक वडामा एउटा स्वास्थ्य संस्था स्थापना गर्ने सरकारको निर्णय छ। तर हामीसँग जम्मा ४ हजार स्वास्थ्य संस्था छन्। त्यसैले २ हजारभन्दा धेरै स्वास्थ्य संस्थाको स्थापना गर्नु आवश्यक छ।'

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार प्रति १० हजार जनसंख्यामा ३ जना चिकित्सकसहित २३ जना स्वास्थ्यकर्मी हुनुपर्ने व्यवस्था छ। यसरी विश्व स्वास्थ्य संगठनको मापदण्डलाई आधार मान्दा एक चिकित्सकले ३ हजार नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्नुपर्छ। तर ०६८ को जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ छ। उक्त जनसंख्यालाई आधार मानेर हेर्दा हाल एक चिकित्सकको भागमा २२ हजार जनसंख्या पर्ने देखिन्छ। यो विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा १९ हजारले बढी हो।

नेपालमा हाल जम्मा १२ हजार चिकित्सक

नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. दिलीप शर्माका अनुसार काउन्सिलको तथ्यांकअनुसार हालसम्म नेपालमा २१ हजार ४०० चिकित्सक काउन्सिलमा दर्ता भएका छन्। यीमध्ये कतिपय चिकित्सकको मृत्यु भएको, केहीले सेवाबाट अवकास पाएका र कतिपय विदेश गएकालाई घटाउँदा हाल नेपालमा जम्मा १२ हजार चिकित्सक कार्यरत रहेको रजिष्ट्रार शर्माले बताए। यस्तै, काउन्सिलको तथ्यांकमा हाल देशभर जम्मा ७ हजार मात्र विशेषज्ञ चिकित्सक रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.