|

कालीकोट : प्रदेश ६ का सबै जिल्लाहरूमा मोटरबाटो पुग्न सकेको छैन। मोटरबाटो नपुगेका हुम्ला र डोल्पा जिल्लाका लागि अहिले पनि हवाई यातायात एउटा मात्र साधन हो। तर प्रदेश ६ का १० जिल्लाहरूमा १० वटै विमानस्थल रहेका छन्। 

प्रदेश ६ का १० वटा विमानस्थलहरूमा अहिले पनि नियमित उडान नहुँदा यहाँका मानिसलाई समस्या छ। सर्वसाधारणहरूका लागि सहुलियत दरमा हवाई भाडा र भरपर्दो सेवा भने अझै पुगिसकेको छैन।

कुन विमानस्थलको आम्दानी कति?
प्रदेश ६ का १० वटा विमानस्थलमध्ये हुम्लाको सिमीकोट विमानस्थल सबैभन्दा बढी नाफा गर्ने विमानस्थलका रूपमा रहेको छ। सिमीकोट विमानस्थलको वार्षिक आम्दानी १ करोड ५४ हजार रुपैयाँ रहेको विमानस्थल प्रमुख भीमदत्त पन्तले बताए। ‘यहाँ धेरै पर्यटकहरू आउने गरेका कारण यो विमानस्थल यस प्रदेशकै सबैभन्दा बढी नाफा गर्ने विमानस्थल मानिन्छ’, उनले भने, ‘सेवा सुविधा भए अझै बढी नाफामा जाने सम्भावना छ।’

नागरिक उड्डयन प्राधिकरणका अनुसार यस वर्षको यहाँका जुम्ला विमानस्थलको कमाइ ८ लाख ७६ हजार ८१०, सुर्खेत विमानस्थलको ४८ लाख ९५ हजार ४६३, रुकुम सल्लेको १ लाख ४३ लाख ७४१, रुकुम चौरजहारीको १ लाख ११ हजार १०६, डोल्पाको ४ लाख ८० हजार ३०८ र रारा विमानस्थलको १७ लाख ३६ हजार ८२ रुपैयाँ रहेको छ।

नयाँ विमानस्थल थपिँदै
कालीकोटको कोटवाडामा निकट भविष्यमै नै विमानस्थल संचालनमा ल्याउने तयारी गरिएको छ। उक्त विमानस्थलको धावनमार्ग निर्माण सम्पन्न भई गत वर्ष नै परीक्षण उडानसमेत भइसकेको छ। 

वि. सं. २०४२ सालदेखि निर्माण सुरु भएको विमानस्थल राजनीतिक दलका स्थानीय नेताबीचको खिचातानीका कारण ३१ वर्षसम्म पनि निर्माण सम्पन्न हुन नसकेको स्थानीय गणेश विष्टले बताए। ‘कोटवाडा विमानस्थलमा गत वर्ष माघ महिनामा ‘टेस्ट ल्यान्डिङ’ गर्ने र लगत्तै नियमति उडान गर्ने भनिएपछि त्यसो हुन सकेको छैन’, उनले भने, ‘नियमित उडान कहिले हुने त्यो कुरा पत्तो पाउन सकिएको छैन।’ त्यस्तै, हुम्लाको मदनपोखरामा पनि विमानस्थल निर्माणको अध्ययन सुरु भएको छ।

साँघुरा विमानस्थल
प्रदेश ६ अन्तर्गतका सुर्खेत, हुम्ला, मुगु, डोल्पा, रुकुम र जुम्लामा रहेका विमानस्थल अत्यन्तै साँघुरा छन्। विमानस्थल साँघुरा हुँदा हवाई यातायातमा समस्या परेको नागरिक उड्डयन प्राधिकरण सुर्खेतका प्रमुख विनोद पन्तले बताए। ‘विमानस्थल साँघुरा हुँदा ठूला विमानहरूले सुर्खेतमा अवतरण गर्न मान्दैनन्’, उनले भने, ‘साना ट्विनअटर विमानहरू मात्र यस प्रदेशमा चल्ने गरेका छन्।’ 

प्रदेश ६ का दैलेख, जाजरकोट र सल्यान जिल्ला विमानस्थल नभएका जिल्ला हुन्। यी जिल्लाहरूमा न विगतमा विमानस्थलहरू थिए, न विमानस्थल बनाउने अध्ययन कार्य सुरु नै भएको छ।

प्रदेश ६ का यात्रु प्रदेश ५ मा अवतरण गर्छन् 
ठूला जहाज अवतरण गर्न सक्ने एउटा पनि विमानस्थल नहुँदा सिंगो प्रदेश ६ नै काठमाडौंसँगको सिधा हवाई सम्पर्कबाट वञ्चित छ भने कर्णालीका हवाई यात्रुले प्रदेश ६ को अस्थायी राजधानी सुर्खेतमा आउँदा जाँदा पहिला नेपालगन्ज पुग्नुपर्ने बाध्यता रहेको जुम्लाबाट प्रदेशसभा सांसद नरेश भण्डारीले बताए।

‘ठूला जहाज अवतरण गर्न सक्ने विमानस्थल नहुँदा यस प्रदेशले यात्रामा सास्ती मात्र होइन, अन्य धेरै अवसर पनि गुमाउँदै आएको छ।’ उनका अनुसार यसले गर्दा प्रदेश ६ का सर्वसाधारणले सुर्खेतमा आउनुप¥यो भने नेपालगन्ज झर्नुपर्ने बाध्यता छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.