|

दोलखाः माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले २ अर्ब ६४ करोड बराबरको सेयर जारी गर्ने तयारी गरेको छ। आयोजनाले स्थानीय जनता र अन्य सर्वसाधारणका लागि  यो सेयर जारी गर्न थालेको हो। 

दोलखाको बिगु गाउँपालिका– १ लामाबगरमा निर्माणाधीन ४५६ मेगावाटको आयोजनाले चैत पहिलो सातासम्म सेयर जारी गर्ने तयारी गरेको हो। धितोपत्र बोर्डको स्वीकृति आइसकेपछि फागुन अन्तिमदेखि चैत पहिलो साताभित्र सेयर संकलन गर्ने आन्तरिक तयारी रहेको आयोजनाका प्रवक्ता डा‍‌‍‌ गणेश न्यौपाने बताए। 

आयोजनाले २ करोड ६४ लाख कित्ता सेयर जारी गर्ने तयारी गरेकामा स्थानीयवासीलाई १ अर्ब पाँच करोड र अन्य सर्वसाधारणलाई १ अर्ब ५८ करोडको सेयर दिने कम्पनीले जनाएको छ। आयोजनाले ४ वटा वर्गमा विभाजन गरी कति सेयर भर्न पाउँने भन्ने विषय टुंगाएको छ।

धितोपत्र बोर्डको स्वीकृति प्राप्त हुनासाथ सेयर निष्कासनको आवश्यक प्रक्रिया अघि बढ्नेछ। प्रभावित क्षेत्रले बढी सेयर पाउँने सहमति यसअघि नै भइसकेको न्यौपानेले बताए। 'आयोजना निर्माणका क्रममा भएको असरका दृष्टिले दोलखाबासीलाई तीन वर्गमा बाँडेर सोहीअनुसार सेयर लगानीको अवसर दिइने छ' न्यौपानले भने। 

कसले कति कित्ता सेयर भर्न पाउँने?
पूर्व सहमतिअनुसार आयोजनाका मुख्य संरचना रहेको साविकका गाविस लामाबगर र गौरीशंकरका बासिन्दालाई ‘क’ वर्ग, सडक मार्ग र प्रसारण लाइनले छुने क्षेत्रका बासिन्दा ‘ख’ वर्ग र अन्य जिल्लावासीलाई ‘ग’ वर्गमा वर्गीकरण गरिएको छ। 

‘ग’ वर्गमा परेका नागरिकले न्यूनतम ५० कित्ता र ‘क’ वर्गकाले १५० कित्तासम्म सेयर खरिद गर्नसक्ने आयोजनाले जनाएको छ। आयोजनाले यसअघि २ अर्ब ५४ करोड बराबरको सेयर कर्मचारीलाई लक्षित गरी जारी गरिसकेको छ । 

दोलखाबासीमध्ये सेयर लगानीका लागि तोकिएको अन्तिम मितिसम्म जन्म दर्ता भएका बालबालिका र विर्वाह भई आएका महिलाले विवाह दर्ता प्रमाणपत्रका आधारमा सेयर खरिद गर्न पाउँने भएका छन्। त्यसका लागि दोलखा जिल्लावासीले नागरिकताको प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने छ। 

सेयरका लागि जिविसले तीन वर्षअघि संकलन गरेको तथ्यांकअनुसार दोलखाको जनसंख्या २ लाख ८० हजार ५८४ छ । तामाकोशीको लगानी सम्झौता भएको मिति २०६४ माघ १५ गतेभित्र बसाइँ सरी दोलखा आएकाले पनि सेयर खरिद गर्न पाउँने व्यवस्था छ। 

स्थानीयवासीले न्यूनतम् ३० कित्ता र अधिकतम् ३०० कित्तासम्म लगानी गर्न पाउँने व्यवस्था गर्न लागेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.