|

चितवन : राष्ट्रिय समाचार समिति (रासस)ले प्रदेश संरचनाअनुसार समाचार बुलेटिन ल्याउनुपर्नेमा चितवनका पत्रकार तथा विभिन्न संचार माध्यमका सम्पादकहरूले सुझाव दिएका छन्। 

राससको ५७औँ वार्षिकोत्सवका अवसरमा चितवनको भरतपुरमा शुक्रबार आयोजित ‘संघीयतामा रासस’ विषयक अन्तर्क्रियामा सहभागी सम्पादकहरूले यस्तो सुझाव दिएका हुन्। 

प्रदेश ३ अन्तर्गत रासस भरतपुर कार्यालय चितवनको आयोजनामा शुक्रबार भएको अन्तर्क्रियामा बोल्दै नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले राससले तत्कालै प्रदेश बुलेटिन ल्याउनुपर्ने सुझाव दिए। 

उनले रासस सरकारमुखी भयो भन्ने प्रश्न उठ्ने गरेको भन्दै यसलाई सुधार गरी सरकारी नियन्त्रणभन्दा बाहिर ल्याउनुपर्ने र समाचार निःशुल्क बनाउनुपर्नेमा जोड दिए।

प्रेस सेन्टर नेपालका केन्द्रीय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारीले राससलाई निजीकरण गर्नुपर्ने बताए। विशेष ऐनमार्फत रासस संचालन भए प्रभावकारी हुने उल्लेख गर्दै उनले बासी समाचार नहाली समाचार सेवालाई सुस्त हुनबाट जोगाउनुपर्ने धारणा राखे।

अन्तर्क्रियाका क्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरीले राससले इतिहासलाई ज्यूँदो राख्ने काम गरेकामा प्रशंसा गर्दै स्वायत्त समाचार संस्थाका रूपमा यसलाई विकास गर्नु जरुरी रहेको औँल्याए। उनले संसदप्रति जवाफदेही हुने गरी राससको पुनर्संरचना गरे प्रभावकारी हुने बताए।

नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले राससबाट प्राप्त पत्रमा उल्लेख भएअनुसार समाचार सेवामा दिइने १० र २० प्रतिशत छुट सुविधाको बारेमा जानकारी गराउँदै राससले समाचारका विषयवस्तुमा परिमार्जन गर्न सुझाव दिए। 

विटगत समाचार बुलेटिन आउनुपर्नेमा जोड दिँदै खतिवडाले आर्थिक समृद्धिका विषय उठान गर्न राससलाई सुझावसमेत दिए। राससले संघीयतालाई मलजल हुनेगरी र समृद्धिका कुराहरूलाई जोड दिँदै समाचार प्रस्तुत गर्नुपर्ने पत्रकार महासंघ चितवनका पूर्व अध्यक्ष जनक अर्यालको सुझाव थियो।

प्रेस चौतारी नेपाल चितवनका अध्यक्ष तीर्थ नेपालले राजनीतिकभन्दा जनताका समाचारलाई प्राथमिकता दिन राससलाई सुझाव दिए। 

प्रेस सेन्टर नेपाल चितवनका अध्यक्ष प्रकाशमणि ज्ञवालीले छिटो समाचार दिने अभ्यासको थालनी राससले गर्नुपर्ने बताए। चितवनमा मुख्यालय रहने गरी रासस आउनुपर्ने भन्दै ज्ञवालीले प्रदेशस्तरका समाचार ल्याउनुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रममा सहभागी अधिकांश पत्रकारहरूले राससले प्रदेशस्तरबाटै बुलेटिन ल्याउनुपर्नेमा जोड दिएका थिए। राससमा पर्याप्त र दक्ष जनशक्ति अभाव हुँदा समाचारमा स्तरीयता नआएको, भाषामा त्रुटि हुने गरेको भन्दै पत्रकारहरूले यसतर्फ गम्भीर हुन सुझाव दिएका थिए। 

पत्रकारहरूले राससले खोजी समाचारहरूलाई प्राथमिकता दिनुपर्ने, भिडियो सेवा उपलब्ध गराउनुपर्ने, तस्वीर र अडियो सेवालाई चुस्त पार्नुपर्ने तथा समयमै समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका थिए। 

रासस भरतपुरका कार्यालय प्रमुख नारायण अधिकारीले यहाँ आएका सुझावहरूलाई अडियोसहित लिपिबद्ध रूपमा केन्द्रीय कार्यालयमा पठाउने प्रतिबद्धता व्यक्त गर्दै सुझाव कार्यान्वयन हुने विश्वास दिलाए। उनले राससको स्थापनाकालदेखि अहिलेसम्म गरेका गतिविधि र वर्तमान अवस्थाको बारेमा जानकारी गराएका थिए।
राससले वार्षिकोत्सवका सन्दर्भमा देशभर विभिन्न कार्यक्रम गरिरहेको छ। फागुन ७ गते राससको वार्षिकोत्सव हो।

अघिल्लो वर्ष आजैका दिन रासस चितवनले चितवन मेडिकल कलेजसँग सहकार्य गरी पत्रकारहरूका लागि सम्पूर्ण शरीर परीक्षणको कार्यक्रम आयोजना गरेको थियो। 

रासस भरतपुर कार्यालयका प्रमुख नारायण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम रासस चितवन समाचारदाता नारायण ढुंगानाले समापन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.