|

इलाम : इलाम जिल्लाका विभिन्न स्थानमा ललिपप उद्योग थपिने क्रम बढ्दै गएको छ। उद्योगहरूको संख्या थपिएसँगै महिलाहरूलाई रोजगारीको अवसरसमेत सृजना भएको छ।

ललिपप बनाउन महिलाहरू सिपालु हुने भएकाले उनीहरूले रोजगारी पाएको कोसेली ललिपप उद्योगका सञ्चालक शिवलाल प्रधानले बताए। दूधबाट बन्ने ललिपपको बजार देशका विभिन्न ठाउँ र विदेशमा समेत विस्तार हुँदै गएपछि नयाँ उद्योग सञ्चालनमा आउने क्रम बढेको हो। 

गाउँगाउँमा खुलेका ललिपप उद्योगले दूध उत्पादक कृषकलाई दूध बेच्न टाढा लैजानुपर्ने झण्झटबाट समेत मुक्त गरिरिएको छ। इलाम नगरपालिका– ७ मा सञ्चालित इलामेली ललिपप उद्योगका सञ्चालक टेकबहादुर राईले २४ जनालाई रोजगारी दिएका छन्। उनको उद्योगमा दैनिक ५० किलोसम्म मिठाइ उत्पादन हुन्छ।

इलाममा सञ्चालनमा आएका धेरैजसो दुग्धजन्य उद्योगमा महिलाले रोजगारी पाएका छन्। ललिपप, पुष्टकारी, खुवा, बम्बइसन, पनिर जस्ता दुग्धजन्य पदार्थ उत्पादन गर्ने उद्योगमा बिहानको घरधन्दा सकेर महिलाहरू दिउँसो काम गर्दै आएका छन्।

गाईको दूधलाई फटाएर बनाइने दुग्धजन्य सामग्री बनाउन महिलाहरू नै सिपालु भएकाले पुराना डेरी उद्योगको सिको गर्दै नयाँ उद्योगले पनि महिलाहरूलाई तालिम दिएर काम लगाउँदै आएको हिमालयन चिज एसोसिएसनका उपाध्यक्ष तुलु तामाङले बताए। 

सञ्चालनमा आएका धेरैजसो उद्योगमा ३ जनादेखि १५ जनासम्म महिलाहरूले रोजगारी पाएका छन्। इलामको फिक्कल–पशुपतिनगर सडक छेउमा सञ्चालनमा आएका उद्योगमा अधिकांश महिलाले काम गर्दै आएका छन्। बिहानको घरधन्दा सकेर फुर्सदको समयमा ललिपप, छुर्पी उद्योगमा काम गर्ने गरेको सूर्योदय नगरपालिका– २ को कोसेली ललिपप उद्योगका सञ्चालक शिवलाल प्रधान बताउँछन्। ललिपप उद्योगमा काम गर्ने महिलाहरूले मासिक १५ हजार रुपैयाँसम्म कमाउने गरेका छन्।

इलाम आउने स्वेदशी तथा विदेशी पर्यटकहरूको रोजाइमा इलामको कोसेली ललिपप र बम्बइसन हुने भएकाले पनि यस्ता उद्योगहरू बढीजसो खुल्ने गरेका हुन्। स्थानीय दीपा गुरुङ भन्छिन्, ‘बलको काम नपर्ने र आम्दानी राम्रो हुने भएकाले पनि नियमितजसो काममा आउने गरेकी छु।’ 

बसीबसी काम गरेर छोराछोरी पढाउन सहज भएको उनले बताइन्। त्यसैगरी कोसेली ललिपप उद्योगमा ७ जना महिलाले रोजगारी पाएका छन्। सहकारिताको माध्यमबाट स्थापना भएको पञ्चकन्याको उद्योगले २ दर्जन महिलालाई रोजगारी दिएको छ। सूर्योदय नगरपालिकामा सञ्चालित जनहित कृषि सहकारी संस्थाले आफ्नो उद्योगमा २ महिला कर्मचारीसहित १६ जना महिलालाई रोजगारी प्रदान गरेको छ। इलाममा सञ्चालित दुग्धजन्य उद्योगले दैनिक ५० लिटरदेखि १ हजार लिटरसम्म दूध प्रशोधन गर्दै आएका छन्। 

इलाम नगरपालिका– ६ चुरेघाँटीमा सञ्चालित इलाम ललिपप उद्योगमा दैनिक ३०० लिटर दूध प्रशोधन गर्ने गरेको सञ्चालक दुर्गाकुमारी राई बताउँछिन्। 

यसरी गाउँमै उत्पादन भएका दूग्धजन्य वस्तुले राम्रोे बजार पाइरहेका छन्। त्यहाँ घुम्न जाने पर्यटकका लागि यो उत्कृष्ट कोसेली हुने गरेको छ। सानो १ प्याकेट ललिपपको खुद्रा मूल्य ५० रुपैयाँ छ भने ठूलो १०० रुपैयाँमा बिक्री हुँदै आएको छ। यस्तै, स्थानीय व्यापारीमार्फत् थोक मूल्यमा बिक्री गर्दा ५ रुपैयाँसम्म प्रति प्याकेट कम पर्छ। 

दूध उत्पादनमा अग्रणी इलाममा दूधबाट बनाइने परिकारका उद्योग स्थापना गरेर आम्दानी बढाउने क्रम बढ्दै गएको छ।

ललिपप उद्योग सञ्चालनमा आएपछि यसमा काम गर्ने कामदारले दैनिक ३०० रुपैयाँसम्म पाउने गरेको कोसेली ललिपप उद्योगका सञ्चालक प्रधान बताउँछन्। कम लगानी र मिहिनेतमा ललिपप र चिज उत्पादन गर्न सकिने भएकाले पनि यो व्यवसायमा आकर्षण बढेको इलामेली ललिपप उद्योगका सञ्चालक टेकबहादुर राई बताउँछन्। 

उत्पादित सामग्री स्थानीयस्तरमै खपत हुन थालेपछि इलामका विभिन्न क्षेत्रका कृषकहरू दूध उत्पादनतर्फ आकर्षित हुन थालेका हुन्। यसले इलाममा दूधको उत्पादनसमेत बढाउँदै लगेको छ। जिल्लामा वार्षिक १ लाख ५० मेट्रिक टन दूध उत्पादन भइरहेको जिल्ला पशु सेवा कार्यालय इलामले जनाएको छ। इलाममा ५५ हजार बढी परिवार प्रत्यक्ष रूपमा पशुपालन व्यवसायमा संलग्न छन्। 

५ ‘अ’ले परिचित इलामलाई त्यही ओलन (दूध) बाटै उत्पत्ति भएको ललिपप र चिजलगायत सबै दूधबाट यस्ता मिठाइ बनाउने हो भने रोजगारी खोज्न सहर पस्नु नपर्ने उद्यमीहरू बताउँछन्।

जिल्लाका अधिकांश कृषकहरूले व्यावसायिक रूपमा गाईभैँसी पालेर प्रतिघर ४ देखि ४० लिटरसम्म दूध उत्पादन गर्दै आएका छन्। यो दूध सरदर ४० रुपैयाँ प्रति लिटरका दरले स्थानीयस्तरमै सञ्चालित ललिपप र चिज उद्योगले खपत गर्ने गरेका छन् भने केही बाहिर निकासी हुन्छ। 

जिल्लामा चलेका २० भन्दा बढी चिज कारखाना र २ दर्जनको हाराहारीमा ललिपप उद्योगले उत्पादन गर्ने मिठाईको माग स्थानीय बजारका साथै काठमाडौं र भारतलगायत अन्य मुलुकमा समेत हुने गरेको उद्यमी शिवलाल प्रधान बताउँछन्।

जिल्लाकोे साखेजुङ, फिक्कल, नयाँबजार, कुटिडाँडा, पशुपतिनगरलगायतका स्थानमा दर्जनौँ यस्ता उद्योेग सञ्चालित छन्। जिल्ला पशु सेवा कार्यालयको तथ्यांकमा जिल्लामा दुग्धजन्य पदार्थ उत्पादन गर्ने २२४ वटा डेरी सञ्चालनमा रहेका देखिन्छ। 

नेपालमा रोजगारीको अवसर नरहेको भन्दै दैनिक हजारौँको संख्यामा विदेसिने गरेका युवाले ललिपप निर्माणसम्बन्धी तालिम लिई यतै काम गर्ने हो भने मासिक १०–२० हजार रुपैयाँ आम्दानी गर्न सकिने घरेलु तथा साना उद्योग विकास समितिका नायव सुब्बा खड्ग बस्नेत बताउँछन्।

घरेलु तथा साना उद्योग विकास समितिले रोजगारीको अवसर सिर्जना गर्न विभिन्न समयमा तालिम र अनुदानमा आवश्यक मेसिन तथा उपकरण दिँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.