|

काठमाडौं : पब्लिकेशन्स नेपालयले नेपाली साहित्यका स्थापित रचनाकारहरूका कृतिहरू प्रकाशन गर्ने क्रमलाई निरन्तरता दिएको छ। यस प्रकाशन संस्थाले यस्ता कृतिहरूको प्रकाशनको शृंखलालाई ‘नेपालय क्लासिक्स’ नाम दिँदै आएको छ। 

यही शृंखलाअन्तर्गत यस पटक कवि शिरोमणि लेखनाथ पौड्यालका कृतिहरू परेका छन्। ‘कवि शिरोमणि रचनावली’भित्र लेखनाथ पौड्यालका सम्पूर्ण सृजनाहरू समावेस छन्।

वि. सं. १९४१ पुसमा कास्कीको अर्घौ अर्चलेमा जन्मिएका कवि शिरोमणि लेखनाथ पौड्याल नेपाली साहित्यका एक शीर्ष साधक हुन्। पौड्याल नेपाली पद्य साहित्यमा शास्त्रीयता र दर्शनलाई कलापूर्ण, सरल र सरस तरिकाले प्रस्तुत गर्ने सीपका अगुवा कवि मानिन्छन्। संस्कृत भाषाको पृष्ठभूमिमा हुर्किएर पनि नेपाली भाषाको काव्य सृजनालाई आधुनिक युगमा प्रवेश गराउने कामको आरम्भ लेखनाथबाटै भएको मानिन्छ।

कवि शिरोमणि लेखनाथलाई परिष्कारवादी धाराका प्रणेता पनि मानिन्छ। यी कविले आफ्ना प्रकाशित कृतिलाई समेत पुनः परिमार्जित गर्ने गरेका पाइन्छ। कवि शिरोमणिका ‘पिँजडाको सुगा’, ‘काल महिमा’, ‘सत्य–सन्देश’, ‘गौँथलीको चिरबिर’, ‘जीवन–चङ्गा’ जस्ता अनेकौँ रचनाहरू आम पाठकका बीच लोकप्रिय रहेका छन्। उनका कतिपय कविताका हरफहरू त लोकोक्ति बनेरसमेत फैलिएका छन्। 

कालिदास र मैथलिशरण गुप्तालाई मनपराउने कवि शिरोमणि लेखनाथ पौड्याल महाकवि लक्ष्मीप्रसाद देकोटा र माधवप्रसाद घिमिरेलाई पनि औधी मनपराउँथे। महाकवि लक्ष्मीप्रसाद देवकोटाका शब्दमा लेखनाथ पौड्याल ‘ऋषिकल्प प्राज्ञ’ थिए। लेखनाथलाई औपचारिक शिक्षा थोरै भएको भन्दै प्रज्ञाप्रतिष्ठानको सदस्यता दिन हिच्किचाउने राजा महेन्द्र सामु देवकोटाले ‘ऋषिकल्प प्राज्ञ’ नभएको संस्थामा आफू रहनु उचित नहुने धारणा राखेको सन्दर्भलाई उल्लेख्य मानिन्छ।

लेखनाथको निधनको आधा शताब्दीपछिसम्म पनि उनका केही रचनाहरू अप्रकाशितै थिए। ती कृतिसमेत खोजी गरी प्रा.डा. सनतकुमार वस्तीले ‘कवि शिरोमणि रचनावली’लाई पूर्णता दिएका हुन्। नेपाल संस्कृत विश्वविद्यालयका साहित्य विषयका प्राध्यापक वस्तीले लेखनाथका जटिल पद–पदावलीलाई सन्दर्भसहित सरल बनादिएको हुनाले यो संग्रह पाठकका निम्ति थप आकर्षक बन्न सक्ने नेपालयले बताएको छ। 

‘हरेक नेपालीका घरमा श्रद्धासाथ राख्न मिल्ने गरी बाबाका कृतिहरूको संकलन प्रकाशित होस् भन्ने चाहना थियो’, रचनावली हातमा परेपछि लेखनाथकी नातिनी डा. प्रतिभा पाण्डेको प्रतिक्रिया थियो, ‘सबैबाट अनुपम सहयोग प्राप्त भयो र हाम्रो हातमा यति आकर्षक ‘कवि शिरोमणि रचनावली’ आइपुग्यो। मेरो खुसीको सीमा छैन।’ 

नेपाली साहित्यमा स्थापित सिर्जनशील साधकका अमूल्य कृतिहरू बजारमा अप्राप्य रहेका र त्यस्ता साहित्यिक कृतिहरू स्तरीय रूपमा आजका पाठकका निम्ति पनि उपलब्ध हुनुपर्छ भन्ने ध्येयले ‘नेपालय क्लासिक्स’ सुरु गरेको पब्लिकेशन्स नेपालयका किरण कृष्ण श्रेष्ठले बताए। ‘यस क्रममा कवि शिरोमणिका कृतिलाई प्रकाशनमा ल्याउन पाउनु हाम्रो अहोभाग्य हो’, उनले भने।

कवि शिरोमणिका सम्पूर्ण कृतिको सँगालो ‘कवि शिरोमणि रचनावली’ले नेपाली साहित्यको विकासक्रमलाई समेत बुझ्न सघाउ पुर्‍याउने श्रेष्ठको भनाइ छ। उनका समग्र सिर्जनाहरूलाई एकगठ पारेर प्रकाशित ‘कवि शिरोमणि रचनावली’लाई विधागत छ भागमा सँगालिएको छ। 

कवि शिरोमणि लेखनाथको देहावसान वि. सं. २०२२ फागुन ७ गते भएको थियो। ‘कवि शिरोमणि रचनावली’ रचनाकारको पुण्यमितिको अवसर पारेर यही फागुन ७ गते सार्वजनिक हुने भएको छ। आकर्षक र बाक्लो गातामा सजिएको यस संग्रहको मूल्य ६ हजार ९७५ रुपैयाँ रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.