|

  • तिलाचन पाण्डे

गुल्मी : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल समृद्धितर्फ अग्रसर भएको बताएकी छन्। शुक्रबार गुल्मीको रुरु संस्कृत तथा साधारण माविको शतवार्षिकीका अवसरमा आयोजित कार्यक्रममा भण्डारीले राजनीतिक स्थायित्व र दिगो शान्ति कायम गर्दै आर्थिक समृद्धि अबको यात्रा रहेको बताएकी हुन्। 

उनले सामाजिक तथा साँस्कृतिक सहिष्णुता सद्भावलाई थप सुदृढ पार्दै देशको गौरवशाली मौलिक पहिचानसहित अघि बढ्ने दायित्व हुनुपर्ने बताइन्। शैक्षिक विकासमार्फत ज्ञानका विभिन्न क्षेत्रहरूको उजागर गर्नुपर्ने राष्ट्रपति भण्डारीको भनाइ थियो। 

राष्ट्रपति भण्डारीले रुरु क्षेत्र धार्मिक महत्त्व बोकेको क्षेत्र भएकाले चीन र भारत जोड्ने निर्माणाधीन कालीगण्डकी करिडोरले गुल्मीको विकासमा सहयोग पुग्ने बताइन्। रुरु क्षेत्र ५ नम्बर प्रदेशको उपयुक्त पर्यटकीयस्थल हुने उनको भनाइ थियो। 'शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थलसँगै प्रस्तावित लुम्बिनी चक्रपथमार्फत रुरु क्षेत्रसँगै सबै पर्यटकीयस्थललाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ', भण्डारीले भनिन्।

राष्ट्रपति भण्डारीले शुक्रबार नै गुल्मीको मुसिकोट नगरपालिका भुवाचिदीमा रहेको त्रिभुवन माविले ५० वर्ष पूरा गरेको अवसरमा आयोजित स्वर्ण महोत्सव कार्यक्रमको समेत उद्‍घाटन गरेकी छन्। 

गुल्मीका २ विद्यालयको स्थापनाउत्सव उद्घाटन गर्न गुल्मी पुगेकी राष्ट्रपति भण्डारी गुल्मी, पाल्पा र स्याङ्जा ३ जिल्लाको संगम क्षेत्र रुरुस्थित कालीगण्डकी नदीमा स्नान गरेकी थिइन्। 

कालीगण्डकी नदीमा स्नानपछि राष्ट्रपति भण्डारीले पाल्पा जिल्लामा पर्ने ऋषिकेश मन्दिरमा पूजा गरेकी थिइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.