|

बारा : रुस्लान नवौँ सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि ए डिभिजनका २ क्लब त्रिभुवन आर्मी र थ्री स्टारबीच शनिबार सिमरा रगंशालामा प्रतिस्पर्धा हुँदै छ।

एक पटकको विजेता त्रिभुवन आर्मी क्लबले थ्री स्टार क्लबसँग फाइनल खेल्दै छ। थ्री स्टार पहिलो पटक सिमरा गोल्डकपको उपाधि भिडन्तमा पुगेको हो। 
२०७१ सालमा सम्पन्न छैठौँ संस्करणको विजेता बनेपछि आर्मी सिमरा गोल्डकपको फाइनलमा पुगेको यो दोस्रो पटक हो। गत वर्ष संकटा क्लबसँग पराजित हुँदै आर्मीले उपविजेताका रूपमा चित्त बुझाएको थियो।

यस वर्ष आर्मी दोस्रो पटक उपाधि जित्ने प्रयासमा मैदानमा उत्रनेछ भने पहिलो पटक फाइनल यात्रा तय गरेको थ्री स्टार उपाधि विजेताको सूचीमा सामेल हुने दाउमा छ।

एपीएफलाई ४–० ले हराउँदै सिमरा गोल्डकपको यात्रा सुरु गरेको आर्मीले सेमिफाइनलमा वीरगञ्ज युनाइटेडलाई ३–० ले हराएको थियो। थ्री स्टारले फाइनलसम्मको यात्रा तय गर्ने क्रममा क्वार्टरफाइनलमा सुदूरपश्चिमलाई ट्राइब्रेकरमा र सेमिफाइनलमा मोरङ फुटबल क्लब विराटनगरलाई ४–२ ले पाखा लगाएको थियो। 

सिमरा गोल्ड कपमा यो पटक २ खेल खेल्ने क्रममा अहिलेसम्म गोल नखाएका आर्मीका गोलकिपर विकेस कुथुको नाममा सर्वाधिक क्लिनसिट रहेको छ। मोरङ ११ का कर्ण लिम्बू, थ्री स्टारका सुनिल बल तथा आर्मीका जर्ज प्रिन्स कार्की र दिनेश हेम्जन २–२ गोलका साथ सर्वाधिक गोलकर्ताको सूचीमा अगाडि छन्।

दुवै टिमको जित्ने दाबी

शुक्रबार आयोजित प्रिम्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्ने रणनीतिका साथ मैदानमा उत्रने बताए। आर्मीका तर्फबाट प्रशिक्षक नवीन न्यौपाने र कप्तान भरत खवास तथा थ्री स्टारका प्रशिक्षक मेघराज केसी र निराजन खड्का कन्फ्रेन्समा सहभागी थिए।  

थ्री स्टारका प्रशिक्षक मेघराज केसीले आफ्नो टोलीले फाइनलमा अर्को कुन टोली छ भन्नेलाई खासै महत्त्व नदिने दोहोर्‍याएका छन्। ‘हामीलाई फाइनलमा जोसुकै होस्, खासै फरक पर्दैन। हामी जीतका लागि खेल्नेछौँ’, उनले भने, ‘निरन्तर मोफसलको प्रतियोगिता खेलिरहँदा खेलाडीहरूमा थकान रहेको छ तर बेन्चका खेलाडीहरू उत्कृष्ट रहेकाले टिमको प्रदर्शनमा कुनै समस्या आउँदैन।’  

थ्री स्टारका कप्तान निराजन खड्काले लगातार उपाधिको दौडमा रहँदा खेलाडीहरूमा सकारात्मक सोच रहेको बताए। पछिल्ला डेढ वर्ष थ्री स्टारले कुनै खेल नखेले पनि अन्य क्लबबाट आर्मीविरुद्ध खेलेको अनुभव सुनाउँदै उनले भने, ‘आर्मीको टिम अहिले उच्च फर्ममा छ तर खेलाडीहरूको सकारात्मक सोच र राम्रो खेल खेल्दै हामी उपाधि आफ्नो पक्षमा पार्नेछौँ।’ 

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले भने फाइनलका दुवै टोली राम्रो भएको कारण खेल ५०/५० हुने बताए। ‘जसले मौकाको सदुपयोग गर्न सक्छ, उसले नै उपाधि जित्छ’, न्यौपाने भने, ‘लगातारको प्रतियोगिताले खेलाडीको शक्ति कम हुँदै गए पनि टिम अहिले राम्रो फर्ममा फर्किएको छ।’

आर्मीका कप्तान भारत खवासले पछिल्ला खेलहरू ठूलो स्कोरले जित्दा मनोबल उच्च रहेको बताए। आफूहरू नतिजाको लागि खेल्न तयार रहेको जनाउँदै उत्कृष्ट खेलकै आधारमा सफलता प्राप्त गर्ने विश्वास उनले व्यक्त गरे। खवासले भने, ‘हामी प्रतियोगिता जित्न भनेर आएका हौँ र जित्छौँ नै भनेर खेल्ने हो।’

आर्मीले सिमरा गोल्डकप जिते टोलीको यस वर्षको पाँचौँ उपाधि हुनेछ भने लगातार चौथो साता चौथो नटआउटको फाइनल खेलिरहेको थ्री स्टारले जित्न सके वर्षको दोस्रो सफल टोली बन्नेछ।

पछिल्ला वर्षमा अधिकांश नटआउट फुटबलमा दाबेदार रहेको आर्मी यस वर्ष मोफसलका प्रतियोगितामा सर्वाधिक सफल क्लब हो। यस सिजनमा ८ प्रतियोगिता खेल्ने क्रममा ४ नटआउटको उपाधि जितेको थियो।

बैशाखमा वीरगन्जमा आयोजित विशाल मेमोरियल कप फुटबल प्रतियोगिता, पुसमा झापामा सताक्षी गोल्ड कप र मेची नेत्रालय काँकडभिट्टा गोल्डकप जितेको आर्मीले अघिल्लो महिना धनगढीमा खप्तड गोल्डकपको उपाधि जितेको थियो। त्यसयता भने टोलीको उपाधि जित्ने क्रममा ब्रेक लागेको छ।

आर्मीमा विभिन्न युवा समूह र राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका खेलाडीको बाहुल्य रहेको छ। यद्यपि, आर्मीले खप्तडपछि खेलेको २ प्रतियोगिता मदन भण्डारी स्मृति इटहरी गोल्ड कप र पोखरामा आयोजित आहा रारा गोल्डकपमा सुखद् नतिजा हात पार्न सकेन। 

आर्मीका रक्षक जितेन्द्र कार्की घाइते भएका छन् भने रातो कार्डका कारण सेमिफाइनल खेल गुमाएका नवयुग श्रेष्ठ फाइनलमा खेलमा फर्किनेछन्।

थ्री स्टारले झन्डै डेढ वर्षपछि फुटबलमा फर्कंदा कस्तो दाबेदारी प्रस्तुत गर्ला भन्ने चासो थियो।

धनगढीमा माघको पहिलो साता सम्पन्न सुदूरपश्चिम खप्तड गोल्डकपबाट घरेलु फुटबलमा पुनरामगन गरेपछि त्यहाँ दोस्रो खेल आर्मीसँग २–१ ले पराजित भएको थियो। त्यसपछि थ्री स्टारले माघ १३ गते मनाङलाई हराउँदै सर्वाधिक पुरस्कार राशिको मदन भण्डारी स्मृति इटहरी गोल्ड कपको उपाधि जित्दै पुरानै लयमा फर्कने संकेत गरेको थियो। त्यसपछि खेलेको २ प्रतियोगिता आहा रारा गोल्डकप (माघ २० गते) मा उपविजेता र बुढा सुब्बा गोल्डकप (माघ २७) मा विजेता बन्न सफल भएको थियो।  

पुनरागमनपछि पहिलो उपाधिका रूपमा इटहरी गोल्ड कप जित्ने क्रममा थ्री स्टारले आर्मीलाई सेमिफाइनलमा ट्राइब्रेकरमा हराएको थियो। पछिल्ला २ नटआउट आहा रारा र बुढासुब्बामा पुलिसको सामना गरेको थ्री स्टारले सिमरामा अर्को विभागीय टोली आर्मीको सामना गर्दै छ। इटहरीपछि यी २ टोलीबीच पहिलो पटक भेट हुँदै छ।

गत वर्ष पहिलो चरणपार गरेपछि एन्फाको गल्तीका कारण थ्री स्टारले एएफसी कपको दोस्रो चरण खेल्न पाएको थिएन। त्यसकै विरोधमा क्षतिपूर्ति नपाउँदासम्म एन्फाले आयोजना गर्ने र स्वीकृति दिएका कुनै प्रतियोगिता भाग नलिने कठोर निर्णय गरेको थियो। एन्फाको पछिल्लो साधारण सभाले १ करोड ५० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेपछि थ्री स्टार घरेलु फुटबलमा फर्केको थियो।

थ्री स्टारका अग्रपङ्क्तिका २ खेलाडी मार्टिन्स अजाई र विश्वास श्रेष्ठ पनि उपलब्ध छैनन्। यसअघि कप्तान विक्रम लामा बुढासुब्बाको फाइनल खेल्दा घाइते भएका कारण अहिले निराजन खड्काले थ्री स्टारको कप्तानी सम्हालिरहेका छन्।

यस सिजनको हेड टु हेड
सुदूरपश्चिम खप्तड गोल्डकप : क्वार्टरफाइनल थ्री स्टार १–२ आर्मी
इटहरी गोल्डकप : सेमिफाइनल  निर्धारित समय १–१ 
ट्राइब्रेकर : थ्रीस्टार ५–३ आर्मी

सिमरा गोल्ड कपको हालसम्मका उपाधि विजेता 
२०७३ संकटा क्लब
२०७२ विजय युथ क्लब हेटौँडा
२०७१ त्रिभुवन आर्मी क्लब
२०७० नव जनजागृति युवा क्लब सिमरा
२०६९ मनाङ मर्स्याङ्दी क्लब
२०६८ मनाङ मर्स्याङ्दी क्लब
२०६७ हिमालयन शेर्पा क्लब
२०६६ मजदुर शहीद स्मृति क्लब

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.