राजनीति

मेलम्चीको प्राडो यसरी केही मिनेटमै बन्यो देउवाको निजी साधन
SHARES

फागुन ४, २०७४

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदबाट भूतपूर्व भएको भोलिपल्ट शुक्रबारदेखि मेलम्ची खानेपानी आयोजनाको प्राडो निजी प्रयोगमा ल्याएका छन्।

    पदत्याग गरेको भोलिपल्ट शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट निजी निवास बूढानीलकण्ठ दिउँसो १ बजे सरेका देउवाले मेलम्चीकै प्राडो प्रयोग गरेका थिए। यो खरानी रङको प्राडोको पनि आफ्नै परिचय र पहिचान छ। बिहीबार बिहान ११ बजेसम्म खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवको सवारी साधनको पहिचान बनाएको उक्त प्राडो बिहीबार बेलुकीदेखि निवर्तमान प्रधानमन्त्री देउवाको सवारी साधन बनेको थियो।

    शुक्रबार दिउँसो २ बजेसम्म निवर्तमान प्रधानमन्त्री देउवाले प्रयोग गरेको बा२झ ४४८ नम्बरको सवारीले केही मिनेटमै निजी सवारी साधनको रूपमा पहिचान र परिचय बनाउन सफल भयो। केही मिनेटअघिसम्म मन्त्री चढ्ने सवारीको रूपमा चिनिएको उक्त प्राडोको केही मिनेटपछि नै पूर्वप्रधानमन्त्री देउवाले प्रयोग गर्ने निजी सवारी साधनको रूपमा नम्बर फेरियो र बन्यो बा९च ४४८।  

    मेलम्ची खानेपानी आयोजनाकै एउटा पजेरो पनि निवर्तमान खानेपानीमन्त्री यादवले उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठका स्वकीय सचिव तथा प्रदेश नम्बर ४ का प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठलाई उपलब्ध गराएको मन्त्रालयका एक कर्मचारी बताउँछन्। देउवाले प्रयोग गर्ने मेलम्चीको उक्त प्राडो देउवा सरकारका मन्त्री यादवले सचिव राजेन्द्रकुमार ठाकुरलाई भनेर उपलब्ध गराएका थिए।

    प्रधानमन्त्री देउवाले यसअघि प्रधानमन्त्री हुँदा र नहुँदासमेत चमेलिया जलविद्युत आयोजनाको वागमती अञ्चलको ६ लटको सवारी निजी रूपमा प्रयोग गर्दै आएका थिए। ६ लटको चमेलियाको सेतो प्राडो देउवाका अतिरिक्त पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीले समेत प्रयोग गर्दै आएका छन्। 

    देउवा निवास बूढानीलकण्ठमा रहेका सुरक्षाकर्मी र सवारीका चालकले झण्डा राख्न सवारीको दाहिनेतर्फ ठड्याइएको फलामको एक फिट लामो रडलाई खोलखाल परेका थिए। बालुवाटारबाट देउवालाई स्कर्टिङ गरी बूढानीलकण्ठसम्म आएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका केही सुरक्षाकर्मी र नेपाली सेनाका प्रमुख सेनानीको नेतृत्वमा रहेको सैनिक टुकडी आआफ्नो संगठनको गाडीमा फर्किएका थिए।

    प्रधानमन्त्रीको रूपमा ८ महिना २० दिन बालुवाटार बसेका देउवाले आफ्ना नेपाली सेना, प्रहरी, सशस्त्र तथा सचिवालयका कर्मचारी र सहयोगीसँग तस्वीरसमेत खिचाएका थिए। देउवा बूढानीलकण्ठ पुगे पनि उनी २ दिनसम्म कुनै औपचारिक कार्यक्रममा निस्कने कार्यक्रम नरहेको उनका सहायक स्वकीय सचिव केशवराज जोशीले बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]