|

अस्ट्रेलियाले टि-२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा सर्वाधिक धेरै रन चेजको कीर्तिमान कायम गरेको छ। अस्ट्रेलिया, न्युजिल्यान्ड र इंग्ल्यान्ड सम्मिलि टि-२० ट्राइ सिरिजअन्तर्गत अस्ट्रेलिया र न्युजिल्यान्डबी भएको खेलमा शुक्रबार अस्ट्रेलियाले इतिहास बनाएको हो।

अस्ट्रेलियाले शुक्रबार भएको खेलमा न्युजिल्यान्डले दिएको २४४ रनको लक्ष्य ७ बल बाँकी छँदै ५ विकेट गुमाएर पूरा गर्दे उक्त कीर्तिमान कायम गरेको हो।इडन पार्कमा टस जितेर पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डले ओपनर मार्टिन गुप्टिलको १०५ रनको सतकीय पारी तथा कोलिन मुनरोको ७६ रनको मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर २४३ रन बनाएको थियो।

मुनरो र गुप्टिलले १० ओभर ४ बलसम्म उत्कृष्ट साझेदारी गर्दै १३२ रन बनाएका थिए। मुनरोले ३३ बलमा ७६ रन बनाएर आउट भए। जहाँ उनले ६ चौका र ६ छक्का प्रहार गरेका थिए। त्यस्तै गुप्टिलले टि-२० करिअरको दोस्रो सतक पूरा गर्दा टि-२० क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याटसम्यान समेत बने। उनले आफ्नो पारीमा ५४ बलमा ६ चौका र ९ छक्का प्रहार गरेका थिए।

२४४ रनको विशाल स्कोर पछ्याएको अस्ट्रेलियाले उत्कृष्ट सुरुवात गर्‍यो। ओपनर डेभिड वार्नर र ड्यार्सी सर्टले पहिलो विकेटका लागि ८ ओभर ३ बलमा १२१ रनको साझेदारी गरे । वार्नर २४ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै ५९ रन बनाउन सफल हुँदा सर्टले ४४ बलमा ८ चौका र ३ छक्काको मद्दतमा ७६ रनको पारी खेले। त्यस्तै क्रिस लायनले १८ रन बनाउँदा ग्लेन म्याक्सवेलले १४ बलमा ३१ रन बनाए। त्यस्तै एरोन फिन्च ३६ रनमा अविजित फर्किए। अस्ट्रेलियाले १८ ओभर ५ बलमानै लक्ष्य भेटाउँदै टि-२० क्रिकेट इतिहासमा सर्वाधिक रनचेजको कीर्तिमानी इतिहास आफ्नो नाममा पार्न सफल भयो। अस्ट्रेलिया यसअघिनै सिरिजको फाइनलमा पुगिसकेको छ। अब न्युजिल्यान्ड र इंग्ल्यान्डमध्ये एक टिमले फाइनलमा स्थान बनाउने छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.