|

बुटवल :  कमैया महिलाको अधिकारका लागि करिब दुई दशकदेखि अगुवाइ गर्दै आएकी बर्दियाकी कृष्णी थारु प्रदेश ५ की उपसभामुख बन्ने भएकी छिन्।शनिबार बिहान बसेको एमाले प्रदेश ५ संसदीय दलको बैठकले उनलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो। 

पूर्वकमलरी थारुविरुद्ध अरु दलले उम्मेदवारी नदिने भएपछि उनी निर्विरोध निर्वाचित हुने छिन्। गठबन्धनको भागवण्डामा सभामुख माओवादीले पाएपछि एमालेले उपसभामुख पाएको थियो। थारुले आज बिहान १० बजे संसद् सचिवालयमा उम्मेदवारी दर्ता गर्ने तय भएको एमाले सांसद लिला गिरीले जानकारी दिए। 

संसद सचिवालयले शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्मका लागि उपसभामुखको मनोनयनको समय तोकेको छ। मनोनयन दर्ता पछि आइतबार दिउँसो १ बजे बस्ने बैठकले उपसभामुखको निर्वाचन गर्नेछ। उपसभामुखमा अरु दलबाट उम्मेदवारी नपर्ने भएकाले प्रस्तावकले निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने र समर्थकले समर्थन गरेपछि सभामुखले निर्वाचित भएको घोषणा गर्नेछन्। 

उपसभामुख निर्वाचित भएपछि सभामुखले पद तथा गोपनीयताको सपथ ग्रहण गराउने व्यवस्था छ। बाल्यकालदेखि नै अरुको घरमा काम गर्दै आएकी थारु विवाहपछि पनि जमिन्दारको घरमा काम गर्थिन्।  २०५७ साउन २ गते सरकारले बाँधा श्रमिक मुक्त भएको घोषणा गरेसँगै उनी पनि मुक्त भएकी थिइन्। 

सरकारले कमैया मुक्त गर्दा मुक्त कमैयालाई पहिचान नदिएको भन्दै विभेदविरुद्ध लामो समयसम्म कमैया महिलाको पहिचानका लागि परिचयपत्र, समान ज्याला, स्वास्थ्य उपचार, बालबालिकाको निशुल्क शिक्षा लगायतका माग राख्दै निरन्तर आन्दोलनको अगुवाइ गर्दै आएकी छिन्। उनले दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपूरका मुक्त कमैयाको पहिचानका लागि महिलाहरुलाई संगठित गर्दै आएकी छिन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.