|

बुटवल : रुपन्देहीमा एउटै महिनामा दुई गोल्डकप प्रतियोगिता हुने भएको छ। तिलोत्तमा गोल्डकप र मदन भण्डारी गोल्डकप फागुनको अन्तिम सातामा हुने गरी मिति घोषणा गरिएको हो।

रुपन्देही फुटबल संघ र एमाले निकट मदन भण्डारी स्पोटर्स् एकेडेमीले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएका छन्। फुटवल संघले फागुन २४ देखि तिलोत्तमा गोल्डकप गर्ने मिति सार्वजनिक गरेको छ भने स्पोट्र्स एकेडेमीले फागुन २८ देखि मदनभण्डारी गोल्डकप प्रतियोगिता गर्ने तयारी गरेको छ।

तिलोत्तमा गोल्डकपको पुरस्कार राशी ७ लाख ७७ हजार रुपैयाँ रहेको छ। मदन भण्डारी गोल्डकपको पुरस्कार राशी १५ लाख रुपैयाँ रहेको छ। यी दुई फुटबल प्रतियोगिताको उपविजेताले क्रमशः ४ लाख ४४ हजार  र ७ लाख ५० हजार पुरस्कार पाउनेछन्। विधागत उत्कृष्ट खेलाडीहरुलाई २० हजार पुरस्कार राखिएको छ। चार दिनको अन्तरमा हुने दुवै गोल्डकपमा नेपालका ए डिभिजन क्लब सहभागी हुने बताइएको छ। 

मदनभण्डारी गोल्डकपको आयोजना मदन भण्डारी स्पोट्र्स एकेडेमी प्रदेश ५ ले आयोजना गरेको हो। आयोजक कमिटिका अध्यक्ष नरबहादुर घर्तीले प्रतियोगितामा सहभागी खेलाडीको बीमा समेत गरिएको बताए।

मदन भण्डारी गोल्डकपमा दस टिम सहभागी हुने आयोजकले जनाएको छ। तिलोत्तमा गोल्डकपमा भने भारत र भुटानसहित १६ टिमको सहभागिता रहने जनाइएको छ। मदन भण्डारी गोल्डकप रामनगरस्थित मानवज्ञान खेलमैदानमा र तिलोत्तमा गोल्डकप एन्फा एकेडेमीको मैदानमा हुनेछ।

तिलोत्तमा गोल्डकपको फाइनल चैत ६ मा र मदन भण्डारी गोल्डकपको फाइनल चैत ७ मा हुने आयोजकले जानकारी दिएको छ। 

एउटै जिल्लामा मिति जुध्ने गरी फुटबल प्रतियोगिताका घोषणा गरिएकामा रुपन्देही फुटबल संघले असन्तुष्टि जनाएको छ। संघका अध्यक्ष कुमार केसीले मदन भण्डारी स्पोट्र्स एकेडेमीले संघसँग समन्वय नै नगरी प्रतियोगिता आयोजना गरिएको बताए। ‘हामी फुटबलसम्बन्धी आधिकारिक संस्था हौ,’ उनले भने, ‘तर हामीसँग समन्वय नै नगरी प्रतियोगिता आयोजना गरिएको छ।’ अध्यक्ष केसी गोल्डकपको गरिमा घट्ने गरी प्रतियोगिता जुधाउन नहुने धारण राख्छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.