|
तस्बिर सौजन्य : श्रीधर पौडेल तथा आर्यन बिमली

काठमाडौं : ‘सम्वृद्धिको लागि संगीत’ भन्ने नाराका साथ स्थापना भएको ‘कृपा फाउन्डेसन’ले आफ्नो पहिलो वार्षिकोत्सव मनाएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै आफ्नो वार्षिक उत्सव मनाएको हो। उक्त कार्यक्रममा कृपा फाउन्डेसनले ‘कृपा संगीत रत्न सम्मान’द्वारा वरिष्ठ रचनाकार तथा साहित्यकार रत्न शमशेर थापा र वरिष्ठ गायक योगेश वैधलाई सम्मान गरेको छ।

फाउन्डेसन अध्यक्ष शिवकुमार लामिछाने, कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गायक प्रेमध्वज प्रधान, फाउन्डेसन संरक्षक बराह ज्वेलरी प्रमुख विष्णु माया लामिछाने, बराह ज्वेलरी धरान प्रमुख मान बहादुर बिकले संयुक्त रूपमा दोसल्ला ओढाउँदै प्रमाण पत्रद्वारा सम्मान गरेका थिए।

सोही अवसरमा पछिल्लो समय किड्नीमा समस्या आएपछि उपचार गराइरहेका वरिष्ठ गायक ओमबिक्रम विष्टलाई फाउन्डेसनको तर्फबात नगद र ५१ हजार प्रदान गरिएको थियो।  गायक विष्ट अमेरिकामा रहेकाले उनको सम्मान तथा नगद सहयोग उनका छोरा शिखर विक्रम विष्टले ग्रहण गरेका थिए। गायक विष्टले भिडियोमार्फत उपस्थितलाई सम्बोधन गर्दै कृपा फाउन्डेसनलाई धन्यवाद दिए।

सम्मानित सर्जकलाई सम्मानसहित समर्पित गर्दै गायक शिव लामिछानेले केही गीत प्रस्तुत गरेका थिए। उनले रत्न शमशेर थापाद्वारा रचना गरिएको तथा स्वरसम्राट् नारायण गोपालद्वारा संगीत तथा स्वर दिइएको गीत स्वर्गकी रानी, शिव अधिकारी लिखित तथा वरिष्ठ संगीतकार नातिकाजीद्वारा संगीत तथा योगेश बैधद्वारा स्वर दिइएको गीत 'सपना भुलाई सारा' र एल्वर्ट सुब्बाद्वारा लिखित, रोबर्ट सुब्बाको संगीतमा वरिष्ठ गायक ओम बिक्रम विष्टद्वारा स्वर दिइएको गीत म मौनतामा लाइभ प्रस्तुत गरेका थिए।

उक्त कार्यक्रममा कृपा फाउन्डेसनको पहिलो वार्षिक उत्सव र गायक ओम बिक्रम विष्टको जन्मोत्सव केक पनि काटिएको थियो। केक काट्दै कृपा फाउन्डेसनको निरन्तरता तथा गायक विष्टको दिर्घायुको कामना गरिएको थियो।  

सोही अवसरमा सगरमाथाको आरोहण गर्ने तयारीमा रहेका महिला पत्रकारको समूह ‘First Women Journalist Everest Expedition 2018’लाई बराह ज्वेलरीको तर्फबाट नगद पाँच लाख प्रदान गरिएको थियो। आरोहणको तयारीमा रहेको महिला पत्रकार समूहमा रोसा बस्नेत, लक्ष्मी कार्की, कल्पना महर्जन, रोजिता बुद्धाचार्य र देउराली चाम्लिङ रहेका छन्।

यसैगरी, सोही अवसरमा कृपा अन्प्लगडका आर्टिस्टलाई रोयल्टी प्रदान गरिएको थियो भने पहिलो र दोस्रो सिजनको सफलतापछि तेस्रो सिजन छिटै आउने जानकारी पनि गराइएको थियो।

फाउन्डेसनको पहिलो वार्षिकोत्सवकै अवसरमा ‘जय नेपाल’ बोल रहेको गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो। गीतमा हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको छ भने यसलाई शिव लामिछानेले गाएका छन्। गीतको भिडियोमा शिव आफैँ प्रस्तुत भएका छन् भने यसमा नेपालको सौन्दर्यलाई देखाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.