|

रसुवा :  रसुवामा बिनासकारी भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारले उपलब्ध गराएको अनुदान रकम लिन केही समय कुर्नुपर्ने भएको छ। जिल्लाको उत्तरगया गाउँपालिकामा रहेको हिमालयन बैँकले लाभग्राहीको चाप बढेको भन्दै १७ दिनपछि मात्र रकम दिने बताएपछि केही समय कुर्नु परेको हो। 

खातामा आइसकेको रकम निकाल्न जाँदा बैँकले नदिएको उत्तरगया गाउँपालिका–२ का भूकम्प पीडित गौरब सापकोटाले बताए। उनले भने ‘खातामा पैसा आइसकेको छ। आज गयो। भोलि गयो बैँकले दिदैन। धेरै समस्या भएको छ।’

तर हिमालयन बैँकका शाखा प्रबन्धक रामकाजी थापाले भने, ‘बैंकबाट रकम उपलब्ध गराउने प्रक्रिया झन्झटिलो छ र लाभग्राहीको चाप बढेपछि समय तालिका प्रकाशन गरी रकम वितरण गर्ने व्यवस्था मिलाएका छौं’, उनले भने, ‘शाखामा कर्मचारी थोरै छौँ। नियमित काम गर्नै पर्‍यो। पीडितलाई रकम वितरणका लागि छुट्टै कर्मचारीको आवश्यकता पर्छ, तर एउटै कर्मचारीले सबैतिर हेर्नुपर्छ।  त्यसैले केही ढिलो हुनु स्वाभाविकै हो।’ 

किस्ता रकम वितरणको प्रक्रिया झन्झटिलो र बैँकमा थोरै कर्मचारी भएको भन्दै बैँकले समय तालिका प्रकाशित गरेपछि लाभग्राहीले अनुदान पाउन समय पर्खनुपर्ने भएको हो। साबिकको गाउँ विकास समितिको वडाअनुसार अनुदान वितरण गर्ने बैंकले समयतालिका प्रकाशन गरेको छ। समय तालिका अनुसार १६ गते साबिकको ठूलोगाउँ गाविस र १८ गते साबिकको डाँडागाउँ गाविसका लाभग्राहीलाई बैँकले अनुदान रकम उपलब्ध गराउने समय तालिका छ। 

उत्तरगया गाउँपालिकामा २ हजार ५ सय ८ लाभग्राही रहेका छन्। उक्त लाभग्राहीमध्ये २ हजार १ सय १३ ले पहिलो किस्ता, १ हजार १ सय ७० ले दोस्रो किस्ता र ६ सय ७ लाभग्राहीले तेस्रो किस्ता बापतको रकम बुझिसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.