|
तस्विर– रासस

नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन– २ मा सनसनीपूर्ण प्रदर्शन गर्दै विश्वकप छनोटमा स्थान बनाएको नेपाली टिमका कप्तान पारस खड्काले विश्वकप छनोटमा पुग्ने कुरा सहज नभए पनि सबैको मेहेनतले उक्त स्थानमा पर्न सफल भएको बताएका छन्। उनले अब विवाद समाधान गरी क्रिकेटको विकासमा अघि बढ्ने समय आएको बताए।

‘सबै खेलाडीले राम्रो खेलेका कारण हामी वर्ल्डकप क्वालिफायरमा छनोट भएका हौँ। टिम वर्क र मेहेनतले सफलता प्राप्त गरेका हौँ', त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पारसले भने, 'तर अहिलेको सबभन्दा ठूलो चुनौतीका रुपमा क्रिकेट संघको विवाद रहेको छ। आईसीसीबाट अन्तिम अल्टिमेटम पाएका छौँ। अब हाम्रो क्रिकेट संघको विवाद समाधान गर्न  हामी सबै मिलेर लाग्नुपर्छ।’

पछिल्लो समय आईसीसी र निलम्बित क्यानबीच नयाँ सहमतिपछि अब क्रिकेट विवाद समाधान उन्मुख छ। अब नेपालले आईसीसीले दिएको समयसीमामा काम गरे आगामी जुनसम्ममा क्यान निलम्बन फुकुवा हुने छ। पारसले सबै मिलेर यसलाई सुधार गर्ने हो भने आगामी दिनमा नेपाली क्रिकेटले अझ राम्रो नतिजा ल्याउन सक्ने विश्वास व्यक्त गरे। विगतमा के भयो भन्दा पनि अब राम्रो गर्नुपर्ने उनको भनाइ छ।

‘विगतका दिनमा के भयो भनेर भन्ने भन्दा पनि आगामी दिनमा कसरी राम्रो गर्ने भन्ने सोच राखेर अगाडि बढ्नुपर्छ’, पारसले भने, ’अहिले हामी आईसीसीकै मातहतमा छौँ। उनीहरुको गाइडलाइनमा अनुसार फलो गर्नुपर्‍यो।’

छनोटमा पनि यहि मोमेन्टम कायम राख्छौं

कप्तान खड्काले अब विश्वकप छनोटमा पनि यही 'मोमेन्टम'लाई कायम राख्दै अघि बढ्ने बताए। उनले अब एकदिवसीय मान्यता पाउन र विश्वकप छनोटका लागि आफ्नो तर्फबाट शतप्रतिशत मेहेनत गर्ने बताए। ‘हामी क्रिकेट खेलिरहेकै छौँ। अहिले राम्रो क्रिकेट माहोल बनिरहेको छ। म्याच खेलिरहेका छौँ। यसले विशेषगरी खेलाडीलाई फर्म क्यारी गर्न सजिलो हुन्छ,’ पारसले भने, ‘अब जिम्बाबे नयाँ ठाउँ, नयाँ चुनौती छ। 'एज अ प्लेअर' आफ्नो तर्फबाट अझ राम्रो प्रदर्शन गर्ने कोसिस गर्नेछौँ।’

उनले डिभिजन टूबाट क्वालिफाई हुँदै वर्ल्डकप क्वालिफायरमा पुगेकोमा सबै  खुसी रहेको बताए। ‘आगामी दिनमा हाम्रो लक्ष्य भनेको वान डे वर्ल्ड कप खेल्ने नै हो। अहिलेको लागि वर्ल्डकप क्वालिफायरमा पुगेका छौँ। समग्रमा खुसी छौँ’, पारसले भने। डिभिजन टू को फाइनलमा नेपालको हारको प्रसंगमा जित्नकै लागि खेलेको तर फाइनलमा नतिजा ल्याउन नसकेको बताए। ‘हार्नु जित्नुभन्दा पनि हामीले फाइनल जित्नकै लागि खेलेका थियौँ, उनले भने, 'अनफर्चुनेटली' फाइनलमा राम्रो रिजल्ट ल्याउन सकेनौँ।’

पारसले वर्ल्डकप क्वालिफायरमा कमजोर र बलियो टिम नहुने भन्दै सबै बलियो नै भएका कारण छनोटमा पुगेको बताए। ‘सबै टिम राम्रा छन्। ग्रुप ए र ग्रुप बी दुवैमा उत्तिकै राम्रा टिम छन्। अब हामीले राम्रो क्रिकेट खेल्नैपर्छ। दुईटै ग्रुप उतिकै च्यालेन्ज रहेको छ' उनले भने, 'हामीले आगामी दिनमा राम्रो क्रिकेट खेल्नैपर्छ। तयारी गर्दै अघि बढ्नुको विकल्प छैन।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.