|

बारा : बारामा व्यवसायिक माछा पालनतर्फ किसानको आकर्षण बढ्दै गएको छ। जिल्लाको २२ सय हेक्टर क्षेत्रफलमा माछा पालन हुँदै आएको छ। 

जिल्लामा सानो तथा ठूलो गरी साढे छ हजार माछा पोखरी छन्। उक्त पोखरीबाट वर्षमा ३२ हजार मेट्रिक टन माछा उत्पादन हुँदै आएको नेपाल मत्स्य व्यवसायी संघ बाराका अध्यक्ष जंगबहादुर साहले जानकारी दिए। माछापालनबाट जिल्लाका साढे चार हजार घरपरिवार लाभान्वित छन्। 

यस क्षेत्रका किसानले रोहु, कमन, ग्रास, बि–ग्रेट, सिलवर, कतले, नैनीलगायतका प्रजातिका माछाहरु उत्पादन गर्दै आएका छन्। यहाँ उत्पादन भएका माछाको जात र तौल अनुसार मूल्य निर्धारण गरिएको छ। सानो छरी माछा प्रतिकिलो दुई सय, छारा माछा २ सय २०, रुपैया, आधादेखि एक किलोसम्मको दुई सय ८०, एकदेखि दुई किलोसम्मको तीन सय, दुईदेखि तीन किलोसम्मको तीन सय ५० रुपैयाँमा प्रतिकिलो बिक्री हुने नेपाल मत्स्य ब्यवसायी संघ बाराले जनाएको छ।

यहाँ उत्पादित माछा काठमाडौं, पोखरा, मलेखु, दोलालघाट, सिन्धुली, रामेछाप, महोत्तरी, सर्लाही, धनुषालगायत जिल्लामा निर्यात हुँदै आएको अध्यक्ष साहले बताए। यस्तै, जिल्लाको भारतीय सीमावर्ती क्षेत्रमा उत्पादित माछामध्ये २५ प्रतिशत माछा भारतको बिहार राज्यको विभिन्न बजारमा निर्यात हुने गरेको छ।  ्

जिल्लाका कलैया उपमहानगरपालिका, जितपुर–सिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका, कोल्हवी, सिम्रौनगढ, पचरौता नगरपालिकाका माछा पालन हुने गरेको छ। यस्तै, बारागढी, करैयामाई, आदर्शकोतवाल, देवताल, सुवर्ण, विश्रामपुर, प्रसौनी, परवानीपुर, फेटा गाउँपालिकाका किसान माछा पालनमा आकर्षित हुँदै गएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.