|
लहान नगरपालिका–१६ को कार्यालय चौताराबाट सञ्चालन गर्दै वडा अध्यक्ष

लहान : नगरपालिकाको वडा कार्यालय चौतारोबाट सञ्चालन हुँदैछ भन्ने सुन्दा तपाईलाई पत्यार लाग्दैन होला। तर, सिरहाको सबैभन्दा पुरानो र सुगम स्थानमा रहेको लहान नगरपालिकाको वडा नम्बर १६ को कार्यालय भवन अभावमा चौतारोमा सञ्चालन हुँदै आएको छ।

पूर्व–पश्चिम राजमार्गले छोएको र कुनै समय त्यस क्षेत्रको मुख्य व्यापारिक केन्द्र रहेका नगरपालिकाको वडा कार्यालय स्थानीय तहको पुनर्संरचनापछि पनि चौतारोमा नै सञ्चालन भइरहेको छ।
 
०७१ मंसिर १६ मा मन्त्रिपरिषद्ले साविकको तरेगना गोविन्दपुर गाविसलाई लहान नगरपालिकामा गाभ्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार गाविसको ७, ८ र ९ नम्बरलाई १६ र १ देखि ६ सम्मका वडालाई १७ नम्बर वडा कायम गरिएको थियो। साविकको गाविस भवन वडा नम्बर १७ मा परेपछि वडा नम्बर १६ को कार्यालय भवन अभावमा चौतारोमा सञ्चालन गर्न बाध्य भएको वडाध्यक्ष गडुलबहादुर जर्घा मगरले बताए। 

विद्यालय बन्द हुँदा वडा पनि बन्द!

वडा कार्यालय नभएपछि कार्यालयसँग सम्बन्धित काजगता झोलामा कोचेर आधारभूत विद्यालय तरेगनाको कार्यालयमा राख्ने गरिएको वडा नम्बर १६ र १७ का सचिव राजकुमार साहले बताए। ‘विद्यालय बन्द भएको दिन कागजात झिक्न नपाउँदा वडाको काम गर्न पाइँदैन’ वडा सचिव साहले भने, ‘यस्तो बेला टाढाबाट आएका सेवाग्राहीलाई त्यतिकै फर्काउनु पर्छ।’ 

उक्त वडाका बर्दमार, आहाले, टाँडे, कतले, अलमले, रुम्जाटार, भसुवा, भमरे, ओदाले, मैनाटार, तरेगनालगायत करिब दुई दर्जन गाउँ पर्दछन्। उक्त गाउँका नागरिकहरू सिफारिस, मालपोत शुल्क तिर्नेलगायतका सेवाका लागि आउने गरेको वडाध्यक्ष मगर बताउँछन्।

वडा कार्यालय सञ्चालनका लागि स्थानीय तहको निर्वाचनपछि नगरपालिकाले दिने फर्निचर लगायतका सामान दिने सहमति भएको थियो। तर, आफ्नै कार्यालय नभएकाले नल्याउँदा फर्निचर अर्कै वडाले लगेको वडाध्यक्ष मगरले बताए। उनले भने, ‘विद्यालयले प्रयोग गर्न छोडेको कोठा मर्मत गरेर वडा कार्यालय चलाउने सहमति भएपछि फर्निचर लिन जाँदा अर्कै वडाले लगिसकेछ, त्यो पनि पाइएन।’ 

वडा भवन अधुरै

संसदीय विकास कोष र लहान नगरपालिकाको २० लाख रुपैयाँको लागतमा आर्थिक वर्ष ०७३÷०७४ मा ६ कोठे भवन निर्माण सुरु गरिइएको थियो। भवनको डिपिसी, पिल्लर र छत ढलानसम्म काम भएको छ। तर, नगरपालिकाले दिने कबोल गरेकोमध्ये पाँच लाख रुपैयाँ नदिएपछि निर्माणको काम अधुरै रहेको वडाध्यक्ष मगरले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.