रमेश रावल/सन्ताेष अधिकारी
काठमाडाैं : कालीकोट जिल्लाको पलाता गाउँपालिका र पचालझरना गाउँपालिका बीचमा पर्ने कर्णाली नदीको थिर्पु गाउँ र नानीगाउँका वासिन्दा अहिले पनि तुइनबाट वारपार गर्ने गरेका छन्। कर्णाली नदीमा पुल नबन्दा अझै तुइनको जोखिमपूर्ण यात्रा गर्न मानिसहरू बाध्य बनेका हुन्।
पुल बनाउन लामो समयदेखि माग राख्दा पनि पुल नबनेको र अहिले पनि जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको थिर्पु गाउँका स्थानीय नरेन्द्र बमले बताए। ‘झोलुङ्गे पुल बनाउनका लागि हामीले सबै ठाउँमा माग गर्यौँ’, उनले भने, ‘अहिलेसम्म कतैबाट सुनुवाइ भएन।’ कर्णाली नदीमा हालिएको तुइन निकै पुरानो भएको, तार पनि चुँडिन लागेको र कुनै पनि बेला दुर्घटना हुनसक्ने पचाल झरना गाउँपालिका नानीकोटका करवीर बोहोराले बताए। ‘तुइन निकै पुरानो भयो’, उनले भने, ‘कुनै बेला पनि चुँडिएर ठूलो दुर्घटना हुने सम्भावना छ।’
दुई गाउँपालिका जोड्ने पुल नहुँदा समस्या भएको र अहिले पुल निर्माणको प्रक्रिया अगाडि बढेको पलाता गाउँपालिकाका कार्यकारी अधिकृत लेखबहादुर क्षेत्रीले बताए। ‘दुई गाउँपालिका जोड्ने पुल नहुँदा स्थानीयवासीलाई समस्या भएको छ’, उनले भने, ‘अहिले पुल निर्माणको प्रक्रिया अगाडि बढेको छ। अब चाँडै पुल निर्माण हुनेछ।’
यस्तै, यो वर्ष नै गोरखा तुइनमुक्त जिल्ला भएको जिल्ला प्राविधिक कार्यालय गोरखाका प्रमुख होमनाथ पौडेलले जानकारी दिए। ‘तुइन भएका ठाउँहरूमा कतै झोलुङ्गे पुल बने, कतै मोटरेबल पुल। १२० मिटरभन्दा छोटा पुल जिल्ला प्राविधिक कार्यालयले र त्यसभन्दा लामो पुल सस्पेन्सन ब्रिज डिभिजनले निर्माण गरेर यहाँ तुइन विस्थापित भएका छन्।’
तुइन र खिरखिरे विस्थापित भएपछि आवतजावतमा सहज भएको मकैसिंगका बिल चेपाङले बताए। ‘पहिले पारी जान तुइन चढ्दा पारि पुगिने हो कि होइन भन्ने लाग्थ्यो, अहिले पुल बन्यो धेरै सुविधा भएको छ’, चेपाङले भने।
जिल्लामा त्रिशूली, दरौँदी, मर्स्याङ्दी,चेपेलगायतका नदीहरूमा तुइन थिए। तुइन धराप भएका ठाउँका विद्यार्थीहरू ट्युबमार्फत वारपार गर्न बाध्य थिए। गोरखामा सबैभन्दा धेरै त्रिशूलीमाथि तुइन थियो। पृथ्वी राजमार्गबाट चेपाङ गाउँ जाने गरी मौवाखोला, फिस्लिङ, गोर्दीटार, कुरिनघाट, ठौवाटार, हिक्लुङघाट, कौदीफाँट, इटार, ज्यामिरेघाट, चाइनाघाट, धवादीघाट, बाँदरेमा तुइन थिए। त्यस्तै, पृथ्वी राजमार्ग र मनकामना जोड्ने भुवानीटारमा मर्स्याङ्दी, दरौँदी, खहरे, जलवीरे, फिनामटार, खरिबोट र लम्जुङ जोड्ने चेपेमाथि, बुढीगण्डकी, खानीवेँसी र सोतीमा पनि तुइन थिए। ती सबै तुइनहरू अहिले उपयोगविहीन छन्।
०७२ सालमा पहिलो पटक प्रधानमन्त्री भएकै दिन केपी शर्मा ओलीले २ वर्षभित्र मुलुकभरका तुइन विस्थापित गर्ने पहिलो निर्णय गरेका थिए। तर, तुइन विस्थापित गरी झोलुङ्गे पुल बनाउने निकाय संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) ले २ वर्ष ४ महिना बित्दा आधा तुइन पनि विस्थापित गर्न सकेको छैन।
यस्तै, नेपालभर १८७ तुइनमध्ये ७५ वटा मात्रै विस्थापित भएकाे विभागले जनाएकाे छ। बजेटकाे अभाव, सरकारी प्रक्रियामा अलमल भएकाले सबै तुइन विस्थापित गर्न सम्भव नभएको भन्दै तर चालु अार्थिक वर्षकाे अन्त्यसम्म ५६ तुइनलाई विस्थापित गर्ने विभागकाे याेजना रहेको विभागले बताएको छ।
यस्तै, विभागले गरेकाे एक सर्वेक्षणमा ८७ मध्ये ४८ वटा तुइन विस्थापित गर्नु नपर्ने जनाएकाे छ। उता, प्रधानमन्त्री अाेलीले तुइन हटाउने काम तीव्र गतिमा अगाडि बढाउन बजेटकाे अभाव नहुने बताएकाे विकासविद् गजेन्द्र थपलियाले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।