|

बुटवल : प्रदेश ५ को उपसभामुखमा पूर्व कम्लहरी कृष्णी थारू निर्वाचित भएकी छन्। २ जनाको उम्मेदवारी परेकोमा थारूले ६६ मत ल्याउँदै निर्वाचित भएकी हुन्।

संसद्मा उपस्थित ८५ सांसद्मध्ये थारूको पक्षमा ६६ र विपक्षमा १९ मत परेको छ। 

संघीय समाजवादी फोरम र राष्ट्रिय जनमोर्चाले वाम गठबन्धनकी उम्मेदवार थारूलाई समर्थन गरे। फोरमका ५ र जनमोर्चाका १ जना सांसद् छन्। राष्ट्रिय जनता पार्टीका १ जना सांसद्ले शपथ ग्रहण गरेका छैनन्।

उपसभामुखका लागि एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट कृष्णी थारू र कांग्रेसकी रिना नेपाल विकले उम्मेदवारी दिएका थिए। 

बैठकमा सभामुखले प्रदेश प्रमुख उमाकान्त झाले एमाले माओवादी केन्द्र गठबन्धनका उमेदवार एमाले संसदीय दलका नेता शंकर पोख्रेललाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए।

यस्तो छ उपसभामुख थारूको पृष्ठभूमि
झण्डै १८ वर्ष कम्लहरी र बुक्रही बसेकी हुन्, कृष्णी थारू। आर्थिक अवस्था कमजोर भएका कारण उनका बाबुआमाले ज्यान पाल्नकै लागि तत्कालीन कृषि विकास बैंकका प्रमुखको आवासमा उनलाई कम्लहरी राखेका थिए। 

कम्लहरी बसेकै समयमा १४ वर्षको उमेरमा कमैयासँग उनको विवाह भयो। विवाहपछि उनको जीवन बुक्रहीमा परिणत भयो। 

सानै उमेरदेखि अर्काको घरमा कम्लहरी बसेका कारण उनले औपचारिक शिक्षा लिन पाइनन्। मालिकको घरमा बुक्रही बसेकै बेला उनले २०५० सालमा गाउँमै प्रौढ शिक्षा लिने अवसर पाइन्। 

२०५७ सालमा कमैयाहरू मुक्त भएपछि उनको परिवार पनि मुक्त भयो। तर घर, अन्नपात र थातथलोको कुनै ठेगान थिएन।  वासको कुनै व्यवस्था नभएकाले ०५७ साल असोजतिर मालिकको घर छोडेर अस्थायी शिविरमा बस्यो उनको परिवार। 

साविक राजापुर गाविस– १ मा रहेको सामुदायिक वनको खाली जमिनमा बसेपछि ०५८ सालमा सरकारले राजापुर नगरपालिका– ४ मा एक कठ्ठा १० धुर जमिन दियो। ०५९ सालमा मुक्त कमैया वस्तीका १२ जना मिलेर ‘मुक्त कमैया समूह’ गठन भयो। उनी अध्यक्ष बनिन्। ‘म जीवनमा पहिलो पटक नेतृत्वमा पुगेँ, हामीले मासिक ५ रुपैयाँ बचत गर्न थाल्यौँ, त्यसपछि १० रुपैयाँ बनायौँ’, उनी सम्झिन्छिन्, ‘त्यही रकम बालबच्चाको पढाइमा खर्च गर्ने नियम बनायौँ।’ 

आफ्नो घर, जमिन र सम्पत्ति होला भन्ने उनले कहिल्यै साचेकी पनि थिइनन्। विवाहअघि ७ वर्ष र विवाहपछि १२ वर्ष बुक्रही बसेर कठोर परिश्रम गर्न बाध्य पारिएकी कृष्णी एमालेको तर्फबाट प्रदेश ५ को प्रदेश सांसद बनिन्। 

२०५९ सालमा १२ जनाको नेतृत्व गरेकी उनी अहिले प्रदेश ५ को उपसभामुख बन्ने दौडमा छन्। भन्छिन्, ‘पछाडि पारिएका वर्ग, जाति, कमैया, कम्लहरी, बुक्रही, दलित, आदिवासी, जनजातिको अधिकारका लागि नीति निर्माण गरेर अघि बढ्छौँ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.