|

काठमाडौं : ७० मेगावाट जडित क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत केन्द्र मर्मतका लागि ७ देखि १० दिन बन्द हुने भएको छ।

केन्द्रको बाँधको बायाँतर्फको क्षेत्रमा भूक्षयलाई रोक्न राखिको संरचनाको मर्मतका लागि फागुन १० बाट बन्द गर्न लागिएको हो। मध्यमर्स्याङ्दीको विद्युत उत्पादन बन्द भए पनि यसका कारणले आम उपभोक्तालाई लोडसेडिङ गर्नु नपर्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। तर यसका कारणले कथंकदाचित् प्रणालीमा कुनै समस्या आएमा विद्युत आपूर्ति कहीँ कतै कुनै समय अवरुद्ध हुन सक्ने घिसिङले प्रष्ट पारे।

उनले भने, ‘यस अवधिमा लोडसेडिङ हुन नदिन कुलेखानी पहिलो र दोस्रो विद्युतगृह पूर्ण क्षमतामा चलाउनेलगायतका वैकल्पिक व्यवस्थाको बन्दोवस्ती गरिसकेका छौँ।’ उनका अनुसार कुलेखानी जलाशयमा पानीको सतह १ हजार ५२१.९८ मिटर छ, जुन गत वर्षको यही अवधिको तुलनामा करिव ३ं.८३ मिटर बढी हो।

कुलेखानी पहिलोबाट ६० मेगावाट र दोस्रोबाट ३२ मेगावाट गरी ९२ मेगावाट विद्युत उत्पादन हुन्छ। मध्यमर्स्याङ्दीको बाँधको बायाँतिरको भागमा पानीले हिर्काएर खोतल्दा पहिले बनाइएको संरचनामा क्षति पुगेको छ। थप क्षति हुन नदिन मर्मत गर्न लागिएको केन्द्र प्रमुख पशुपति गौतमले जानकारी दिए। ‘गत वर्ष नै मर्मत गर्न लागेका थियौँ तर भार प्रेषण केन्द्र (एलडिसी)बाट विद्युत व्यवस्थापनमा गाह्रो हुने बताएपछि रोकिएको थियो’, उनले भने, ‘यस वर्ष पनि गरिएन भने थप क्षति पुग्ने देखिएपछि ७ दिनभित्र मर्मत सक्ने गरी एलडिसीबाट सट डाउन पाएका छौँ।’

गौतमका अनुसार मर्मतको काम २४सै घण्टा ३ सिफ्टमा सञ्चालन हुनेछ। केन्द्रबाट विद्युतको माग बढी हुने साँझ र बिहान (पिक आवर)मा ७० मेगावाट र अन्य समयमा करिव ३० मेगावाट विद्युत उत्पादन हुन्छ। मध्यमर्स्याङ्दी अर्धजलाशययुक्त (पिकिङ रन अफ रिभर) आयोजना हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.