|

काठमाडौं : ललितपुर गोदावरी नगरपालिकाको गोदामचौरमा ३ महिनाअघि मंसिर २ गते राती एक महिला बलात्कृत भइन्। हातखुट्टा भाँचिएको र टाउको समेत फुटेको अवस्थामा मंसिर ३ गते बिहान बारीमा उनी भेटिएकी थिइन्। उनको ७ दिनपछि मात्र अस्पतालमा होस् खुलेको थियो।

होस खुलेपछि लिइएको बयान र किटानी जाहेरीका आधारमा जबर्जस्ती करणी तथा ज्यान मार्ने उद्योगमा ३ जनाविरुद्ध किटानी जाहेरी गरे। किटानी जाहेरीका आधारमा ललितपुर गोदामचौरका रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई प्रहरीले पक्राउ गर्‍यो।

तर ललितपुर जिल्ला अदालतले पक्राउ गरेको १ महिनापछि करणी तथा ज्यान मार्ने उद्योगमा किटानी जाहेरीमा परेका ३ आरोपीलाई 'किटानीमा दह्रो प्रमाण नभएको’ भन्दै साधारण तारिखमा छाड्ने अादेश गर्‍यो।

पीडित पुनारावेदन अदालत पाटन पुगे। माघ २५ गते पाटन अदातले भने जिल्ला अदालतको आदेशलाई बदर गर्दै पुनरावेदन अदालतले ‘प्राप्त प्रारम्भिक प्रमाणका आधारमा आरोपीलाई पुर्पक्षका लागि तत्काल थुनामा राख्ने’ फैसला गरेको छ। तर आरोपी भने हाल फरार छन्।

त्यस्तै, काठमाडौंको दरबारमार्गमा रहेको होटल ल्याण्डमार्कमा आफू आफ्नै प्रेमी र अन्य उनका ३ जना साथीहरूबाट बलात्कृत भएकी भन्दै माघ ८ गते कैलाली घर भएकी हाल ललितपुर बस्दै आएकी एक युवती महानगरीय प्रहरी वृत्त दरबारमार्ग पुगिन्। प्रहरीले प्रेमी भनिएका रामेछाप दुरागाउँ- ६ का शैलेश कार्कीलाई पक्राउ गरेर अनुसन्धानसमेत गर्‍यो।

तर पीडित युवतीले लिखित जाहेरी नदिएको भन्दै प्रहरीले पीडित युवतीको स्वास्थ्य प्ररीक्षणको रिपोर्ट नआउँदै आरोपीलाई सामान्य मिलापत्रको कागज गरेर छाड्यो। उक्त घटनाका आरोपी कार्कीसहित उनका ३ जना साथीहरू सिन्धुपाल्चोकका दीपक श्रेष्ठ, मकवानपुरका विकास गौतम र रवि पौडेलसमेत रहेका थिए।

दरबारमार्ग प्रहरी वृत्तले आर्थिक लेनदेको कारण आरोपीहरूलाई छाडेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौं र महागरीय प्रहरी कार्यालय रानीपोखरीले छानविन समिति नै गठन गर्‍यो।

छानविन समिति गठनपछि दरबारमार्ग वृत्त मुद्दा शाखाका प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी र प्रहरी नायव निरीक्षक चन्द्र भण्डारी निलम्बनमा परिसकेका छन्। तर आरोपीहरू भने फरार छन्।

त्यस्तै, माघ २२ गते राती भक्तपुर सूर्यविनायक नगरपालिकामा १४ र १५ वर्षका २ बालिका बलात्कृत भए। उनीहरूलाई साथीको घर आएको बेला सर्लाही बरहथवा नगरपालिका- १२ जानकीनगरका अमीर पण्डित र सोही जिल्लाका संजीव रायले बलात्कार गरेको पीडितको आरोप छ। उनीहरूलाई प्रहरीले माघ २३ मा पक्राउ गरी अनुसन्धान थालेको र कानुनी कारवाही प्रक्रियाको तयारी भइरहेको भक्तपुर महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नयाव उपरीक्षक कृष्ण प्रसाईंले बताए।

यी त काठमाडौं उपत्यकामा भएका बलात्कारका केही प्रतिनिधि घटना मात्र हुन्। देशभरि नै यस्ता बलात्कारका घटना हुने गरेका छन्।

प्रहरीले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७१ यता उपत्यकाका विभिन्न प्रहरी परिसरमा ६३६ जबर्जस्ती करणीका उजुरी दर्ता भएका छन्।

यस्तो छ उपत्यकाका ३ जिल्लाको तथ्यांक

काठमाडौं प्रहरी परिसरमा आर्थिक वर्ष २०७१/०७२ मा १३२ जबर्जस्ती करणीका जाहेरी दर्ता भएका छन्। आर्थिक वर्ष २०७२/०७३ मा १३० जाहेरी परेका छन् भने आर्थिक वर्ष २०७३/०७४ मा १३५ जाहेरी परेका छन्। चालु आर्थिक वर्षको माघ महिनासम्म ८१ जाहेरी दर्ता भएका छन्।

यसरी नै ललितपुर प्रहरी परिसरमा आर्थिक वर्ष २०७१/०७२ मा २१ जबर्जस्ती करणीका जाहेरी दर्ता भएका छन् भने आर्थिक वर्ष २०७२/०७३ मा १४ जाहेरी परेका छन्। आर्थिक वर्ष २०७३/०७४ मा ३४ जाहेरी दर्ता भएका छन्। चालु आर्थिक वर्षको पुस महिनासम्म १६ जाहेरी दर्ता भएको परिसरले जानकारी दिएको छ।

भक्तपुर प्रहरी परिसरका अनुसार आर्थिक वर्ष २०७१/०७२ मा २८ जबर्जस्ती करणीका जाहेरी परेका छन् भने आर्थिक वर्ष २०७२/०७३ मा २२ जाहेरी दर्ता भएका छन्। आर्थिक वर्ष २०७३/०७४ मा १६ जाहेरी परेका छन् भने चालु आर्थिक वर्ष २०७४/०७५ को पुस महिनासम्म ७ ओटा जबर्जस्ती करणीका जाहेरी परेका छन्।

३ आर्थिक वर्षको तथ्यांक हेर्दा काठमाडौं जिल्लामा सबैभन्दा बढी जबर्जस्ती करणीका जाहेरी दर्ता भएका छन्भने भक्तपुरमा सबैभन्दा कम देखिएको छ। 

किन हुन्छन् जबर्जस्ती करणीका घटना?

३ वर्षयताको तथ्यांक हेर्दा जबर्जस्ती करणी जस्तो जघन्य अपराधका घटनामा कमी आएको देखिँदैन। घट्नुको साटो बढिरहेको छ। यस्तो हुनुका पछाडि बालिकाको हकमा अभिभावकले हेरचाहमा ध्यान नदिनु नै प्रमुख कारण देखिएको छ भने युवती र महिलाको हकमा उनीहरू आफैँले साबधानी नअपनाएको देखिने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रामदत्त जोशीको भनाइ छ। 'केटा साथीहरूको लहैलहैमा लागेर रमाइलो गर्न खोज्ने, आफू एक्लै हुँदा पनि केटा साथीहरूको समूहमा बसेर मादक पदार्थ सेवन गर्ने, घुम्न जाने गर्दा केटा साथीहरूबाटै युवती बलात्कृत हुने गरेका छन्', उनले भने, 'कतिपयले कुरा मिल्दासम्म हरेक काम सहमतिमै गर्ने, कुरा नमिलेपछि बलात्कारको उजुरी दिन आउँछन्।'

शिक्षण अस्पताल महराजगंजका मानसिक रोग विशेषज्ञ डा. सारोजप्रसाद ओझा भने बलात्कार जस्तो जघन्य अपराध गर्ने मानिसको स्वभाव सामान्य मानिसको भन्दा फरक र कडा हुने बताउँछन्। 'एकातिर समाजमा आधुनिकताको नाममा विकृति छ, अरूको देखासिकी गर्नुपर्ने, लागुऔषधको प्रयोग गर्ने, इन्टरनेटका माध्यमबाट विभन्न राम्रा नराम्रा चिजको प्रयोगले युवाको मानिसक अवस्थामा असर पारेको छ', उनले भने।

के छ कानुनी व्यवस्था?

जबर्जस्ती करणी अभियोगमा दोषी ठहर भएमा १० देखि १२ वर्षको कैद सजाय र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने कानुनी व्यवस्था रहेको छ।

आफूलाई जन्म दिने आमा वा आफूले जन्माएको छोरीलाई करणी गरे जन्मकैद हुने व्यवस्था छ। सौतेनी आमाछोरा वा बाबुछोरी, सहोदर दिदीभाइ वा दाजुबहिनी, एकै हाँगाको ससुरा–बुहारी, एकै हाँगाको बाजे–नातिनी वा पनातिनी, एकै हाँगाका जेठाजु र भाइबुहारी वा देवर–भाउजूको करणी भएमा ४ वर्षदेखि १० वर्षसम्म कैद र ४० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवानाको सजाय हुनेछ। ३ पुस्तासम्मको हाडनातामा करणी गर्नेलाई ३ वर्षदेखि ६ वर्षसम्म कैद र ३० हजारदेखि ६० हजार रुपैयाँसम्म जरिवाना हुनेछ।

 कैद वा थुनामा रहेको कुनै व्यक्तिसँग सरकारी कर्मचारीले करणी गर्ने वा करणी गर्न अरू कसैलाई संयोग पारी मिलाइदिई करणी गराए ३ वर्षसम्म कैद हुनेछ। १० वर्षभन्दा कम उमेरका बालबालिकालाई एकान्तमा लगेर यौनसम्बन्धी निजको अंग छोएमा वा समातेमा, यौनसम्बन्धी आफ्नो अंग छुन वा समाउन लगाएमा बालयौन दुरूपयोग गरेको ठहरिने र २ वर्षसम्म कैद हुनेछ।

आफ्नो संरक्षण वा सुरक्षामा रहेको व्यक्तिसँग करणी गरे पनि ३ वर्षसम्म कैद सजाय हुनेछ। सरकारी वा निजी कार्यालयमा वा कुनै पेसागत सेवा वा व्यावसायिक कामका लागि सम्पर्कमा आएको व्यक्तिसँग करणी गरे ४ वर्षसम्म कैद र ४० हजार रुपैयाँ जरिवाना हुनेछ।

कसैले आफ्नो पति वा पत्नीबाहेक अन्य व्यक्तिमाथि यौन दुर्व्यवहार गरे ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुनेछ। कसैले कसैको इच्छाविरुद्ध अप्राकृतिक मैथुन गरे ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने र बलात्कार जस्तो जघन्य अपराधमा प्रहरीले कुनै पनि हालतमा कागज गर्नै नमिल्ने अधिवक्ता टीकाराम कँडेलको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.