|

उदयपुर : घर छेउमा खेतको डिल। खेतको डिलमा सानो खोर। झट्ट हेर्दा त्यो खोरमा सुँगुर वा बाख्रा पालिएको हुनुपर्ने अनुमान हुन्छ। तर खोरमा पशु चौपाया वा भेडाबाख्रा भने राखिएको छैन। 

टाँडे खोर बनाइएको छ त्यहाँ। टाँडेखोरमा पालिएका छन् एक ५४ वर्षका पुरुष। ती पुरुषलाई पशुझैँ दाम्लोले बाँधिएको छ। दाम्लाले बाँधिएका ती पुरुष नांगै छन् आजको युगमा पनि। 

यो कुनै दन्त्यकथा होइन। यो त नेपालकै एउटा यथार्थपरक, वास्तविक कथा हो। यो यथार्थ कथा उदयपुर जिल्लाको कटारी नगरपालिका– १ कालीखोलाको हो। 

कालीखोलाको त्यस खोरमा राखिएका व्यक्ति हुन्, तर्कबहादुर खत्री। उनी प्रष्ट बोल्न सक्दैनन्, लुगा पनि लगाउँदैनन्। कसैले दिए खान्छन्, नदिए खाँदैनन्। इशाराकै भरमा उनको जीवन खोरमै चलेको छ। 

बौद्धिक अपांगता भएकै कारण तर्कबहादुरले चौपायासरह खोरमै बस्नुपरेको छ। खोरै उनको संसार हो। उनी त्यहीँ खान्छन्, त्यहीँ रमाउँछन्। उनको दिसापिसाब गर्नेलगायत सबै कर्म खोरमै हुन्छन्। गन्हाएर खोरमा गइसक्नु छैन। ‘कतै उपचार गर्न लगेको भए ठीक पो हुने थियो कि!’, स्थानीय मेघबहादुर कार्कीले भने, ‘उनका आफन्तहरूले वास्तै गर्दैनन्। वर्षौंदेखि खसी–बाख्राझैँ बाँधेर खोरमा थुनेर राखेका छन्।’

खोटाङको साविक डिकुवा गाउँ विकास समिति– ७ मा वि.सं. २०२० माघ २ गते जन्मेका तर्कबहादुर जन्मँदै बौद्धिक अपांग थिए। 

बाबुआमासँगै उनी कटारीको कालीखोलामा बसाइँ सरेर आए। उनका बाबु २०६४ सालमा बिते। आमा २०६७ मा बितिन्। ३ दाजुभाइमध्ये तर्कबहादुर जेठा हुन्। 

आमाबुबा बितेपछि भाइ चेवनबहादुर खत्रीले उनलाई खोरमा थुनेर पालनपोषण गर्दै आएका छन्। चेवनबहादुर पनि राम्ररी कान सुन्दैनन्। उनको परिवार सामान्य खेती किसान र मजदुरी गरेर जीविका चलाउँदै आएको छ। ‘उपचार गर्न सकिन्न। खर्च जुटाउन मुस्किल छ। म आफैँ नै बनिबुतो गरेर खान्छु’, चेवनबहादुरले हातको इशारा गर्दै भने, ‘अहिले दाइको सबै लालनपालन मैले नै गर्दै छु।’

तर्कबहादुरकी दिदी ईन्द्रकुमारी खत्री कार्की भन्छिन्, ‘उनी सानैदेखि बोल्दैनथे, कपडा लगाउँदैनथे, ठूलो भएपछि पनि कपडा लगाइदिए तुरुन्तै खोलेर फालिदिन्थे।’ तर्कबहादुर तन्नेरी अवस्थामा पुग्दा पनि सधैँ नांगै बस्न थालेपछि परिवारले नै बाध्य भएर खोरमा बाँधेर राखेको स्थानीयको भनाइ छ। अहिलेसम्म उनले पशुझैँ बाँधिएर खोरमा बसिरहनुपरेको छ।

खोरमै खाना खाने, खोरमै दिसा पिसाब गर्ने तर्कबहादुरलाई भाइ चेवनले बेलाबेलामा खोरमै गएर सफा गरिदिने गरेको तर्ककी दिदी कार्कीले बताइन्। दिदीबहिनी मिलेर सानो घर (खोर) बनाइदिएका र तर्कबहादुर त्यही खोरमा बस्नुपरेको गुनासो गर्दै उनले भनिन्, ‘भाइको अवस्था देख्दा दुःख लागेर आउँछ, केही गर्न सकेका छैनौँ। उपचार पाए ठीक हुने थियो कि!’ 

जन्मँदै बौद्धिक अपांगता भएका कारण बाख्रा खोरमा थुनिएका तर्कबहादुरले गत बिहीबार खोरमै नागरिकता पाए। इलाका प्रशासन कार्यालय कटारीले खोरमै गएर नागरिकता दिएको छ। 

प्रशासन कार्यालय कटारीका प्रमुख सुनिल पौडलले भने, ‘सबै डकुमेन्ट मिलाएर नगरिकता दिएका छौँ। अब उनले सामाजिक सुरक्षा भत्तालगायतका सेवा सुविधाको लागि पनि पहल गर्न सजिलो हुन्छ।’ 

बौद्धिक अपांगले नागरिकता नपाएको गुनासो आएपछि घरमै गएर नागरिकता दिएको प्रमुख पौडेलले बताए। ‘मामाले अपांगतालाई दिने भत्ता पाउनुहुन्छ कि भनेर मैले इलाका प्रशासनसँग कुरा राखेको थिएँ। प्रशासनले यथार्थ बुझेर मामाको बारेका सबै कागज बनाइदियो। त्यसकारण नागरिकता बनाउन पाइयो’, तर्कबहादुरका भन्जा महेश बस्नेतले भने, ‘अब मामालाई सरकारले दिने सुरक्षा भत्ता लिन पनि सजिलो भएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.