|

बाँकेः पाँचौँ प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि शिवम् न्यू डायमण्ड एकेडेमी र एपीएफ क्लवबीच प्रतिस्पर्धा हुने भएको छ। 

आइतबार भएको सेमिफाइनल खेलमा शिवम् न्यू डायमण्डले बंगलादेशको इफाटलाई र एपीएफले नेपाल पुलिसलाई समान ३–० को सोझो सेटमा पराजित गरेपछि उपाधिका लागि न्यू डायमण्ड र एपीएफ भिड्ने भएका हुन्।

नेपालगन्ज कभर्ड हलमा भएको सेमिफाइनल खेलमा न्यू डायमण्डले बंगलादेशको इफाट ग्रुपलाई २५–६, २५–६ र २५–८ ले पराजित गरेको थियो। शिवम् न्यू डायमण्डको जीतमा ओपन स्पाइकर मन्जु गुरुङ वुमन अफ द म्याचबाट पुरस्कृत भइन्। 

नेपाली महिला भलिबलमा महत्त्वपूर्ण स्पाइकरको रूपमा लामो समयदेखि खेल्दै आएकी मन्जु न्यू डायमण्डको दोस्रो ओपन स्पाइकरको भूमिकामा छन्। 

सेमिफाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेकी गुरुङले प्रतियोगिताले आफूलाई उत्साहित बनाएको बताइन्। उनी पश्चिमाञ्चलको कप्तान हुन्। पश्चिमाञ्चलका खेलाडी चोटका कारण प्रतियोगितामा सहभागी नभएपछि उनी न्यू डायमण्डबाट खेलेकी हुन्। ‘आफ्नै भूमिमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितालाई मिस गर्न चाहन्नथेँ, त्यसैले न्यू डायमण्डको सदस्य बनेर खेलेकी हुँ। म पश्चिमाञ्चल टिमबाटै खेल्न रमाउँछु’, उनले भनिन्। उनको टिमका महत्त्वपूर्ण सदस्य अरुणा शाही, ममता डगौरा चोटका कारण टिममा सहभागिता जनाउन नसकेको उनले बताइन्। अर्को प्रतियोगितामा पश्चिमाञ्चलको नेतृत्व गर्दै कोर्टमा उत्रिने उनले स्पष्ट पारिन्। 

सरस्वती चौधरी वुमन अफ द म्याच भएको अर्को सेमिफाइनल खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई २५–९, २५–१९, २५–२१ ले हरायो। 

बाँके जिल्ला भलिबल संघको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.